ताजा खबर

घुम्नै पर्ने भुजुङ गाउँ

   २९ पुष २०७५, आईतवार १७:४२      6,334 views

आश गुरुङ / लमजुङ

कान्तिपुरबाट
— बराबर आकारका ढुंगाका पाता । त्यही ढुंगाले छाएका घर । एउटै इन्जिनियरले डिजाइन गरेर बनाएजस्तै । सबै घर उस्तै । बीचमा केही जस्ताले नटल्किएका होइनन् । एकै ठाउँमा ४ सय घरधुरी । एउटै वडा ।

७ सय वर्ष पुरानो मानिएको यो गाउँ पुगेपछि मात्रै देखिन्छ । कुमारी झैं लुकेर बसेको गाउँ । गाउँको बखान सुन्नेहरू पत्याउँदैनन् । जब गाउँ पुग्छन्, भन्छन्, ‘गाउँ त साँच्चिकै कुमारी नै रैछ नि ।’ लुकेर कसैले नदेख्ने गरी बसेको यही कुमारी गाउँको वास्तविक नाम ‘फोछों’ हो । स्थानीयका अनुसार ‘फो’ भनेको मृग र ‘छों’ भनेको व्यापार । पहिलेपहिले मृगको व्यापार हुने ठाउँ, यसलाई कालान्तरमा फोजों भनियो । लेख्नेले भुजुङ लेखिदिए । अहिले भुजुङबाटै परिचित छ ।

भुजुङ गाउँ

कुनै सानो सहरजस्तो ठाउँ, आँगनसँगै जोडिएका गोरेटोले प्राय: झुकिन्छन्, अलमल पर्छन् । घर एउटै, आँगन, पिँढी पनि एउटै जस्तो देखिन्छन् । ‘गाउँ आउने जो कोही पनि एक्लै हिँड्दा हराउँछन् । पहिले बाटो बिराएका धेरै मान्छेले बसेको घर पत्ता लगाउन सकेनन् । अहिले मोबाइलको सुविधाले यताउता भन्दै, फलानो टोल, फलानोको घर भनेपछि भेट हुन सजिलो हुन्छ,’ भुजुङ गाविसका निवर्तमान अध्यक्ष नारायणबहादुर गुरुङ बताउँछन् । यो गाउँ संघीय संरचनापछि क्व्होलासोंथर गाउँपालिका ४ मा पर्छ । यो गाउँ बेंसीसहरबाट हिँडेर १ दिनमा पुगिन्छ । अचेल जिप चल्छ । करिब ३२ किलोमिटरको बाटो जिप चढेर छिचोल्न ३ देखि ४ घण्टा लाग्छ ।

वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार गाउँ आइनपुगेसम्म गाउँका केही कुरा पनि कसैलाई थाहा हुँदैन । गाउँले बेंसीसहर, पोखरा, चितवन, काठमाडौं गएर पनि बस्न थालेका छन् । ‘लाहुरे परिवार, धनीमानी गाउँ छोडेर सहरबजार बसाइँ सरेका छन् । तर, गाउँका घर भने खाली छैनन् । स्थानीय कालबहादुर गुरुङका अनुसार गाउँमा आफ्नै परम्परा, रीतिरिवाज, थीति र चालचलन छ । ‘समय–समयमा प्रकृतिको पूजा हुन्छ । वनदेवी–देवता, सिमेभूमेको पूजाले गाउँको रक्षा गरेको छ । त्यसैले गाउँमा अनिकाल आउँदैन,’ उनले भने । गाउँमा घटेका घटनालाई सामाजिक परम्पराअनुसार गाउँमै मिलाउने स्थानीय बताउँछन् । सबै प्रकारको मूल्य तथा भाउ गाउँमा आफैं तोकेर प्रचलनमा ल्याउने छुट्टै कानुन स्थानीयले बनाएका छन् ।


भुजुङका स्थानीय किशोरी परम्परागत घाटु नृत्य सिक्दै ।

लमजुङ हिमालको काखमा रहेको भुजुङभन्दा माथि गाउँ छैन । जिल्लाको पश्चिमोत्तर दिशामा पर्ने यो गाउँ एउटै गाउँ र एउटै गाविसले चिनिन्थ्यो । करिब १६ सय २० मिटरको उचाइको उक्त गाउँमा ९० प्रतिशत गुरुङ समुदायको बसोबास छ । १० प्रतिशत दलित समुदाय बस्छन् । मुख्य पेसा कृषि हो । कृषि औजार बनाउन यहाँका विश्वकर्मा समुदाय खटिएका छन् । लुगा सिलाउन परियार समुदाय खटिएका छन् । ‘हामी बजारमा किनेर ल्याएको लुगा लगाउँदैनौं । फलामको औजार बजारबाट ल्याउँदैनौं,’ स्थानीय सुदवीर गुरुङले भने, ‘अचेलका केटाकेटीले त बजारकै लाउने भए । बुढापाका अल्लोबाट बनेका लुगा लाउँछौं । बजारबाट ल्याएको भए पनि यहीं सिलाएर लगाउँछौं ।’

वयोवृद्ध वीरलाल गुरुङका अनुसार गुरुङ जातिको आदिम थलो क्होला (अन्नपूर्ण हिमालको काख) पतनपछि गुरुङ जातिका पम र प्हज्यू भाइखलक चिसा हुँदै विजोँ (भुजुङको माथिल्लो डाँडा) आएर बसेका थिए । चैँबर खलकसँग पम र प्हज्यूको विजोँमा भेट भएपछि आपासमा कुरा बाझियो । कहिल्यै नभेट्ने वाचासहित कालो पोथी कुखुरा काटेर चैँबर र अन्य दुई भाइले आ–आफ्नो बाटो तताए । चैँबर जातिका गुरुङ डाँडैडाँडा (घनपोखरा, घलेगाउँतर्फ) गए ।

प्हज्यू र पम पन्युमा आएर बसे । दैनिक असुविधाले त्युजुमा बसाइँ सरे । पश्चिमका स्योँड म्हिगीले घरपालुवा जनावर खाइदिने, लुटपाट गर्ने, कुटपिट गर्ने गरेपछि उनीहरूले लेम खलकका गुरुङ खोजेर ल्याए । लेमले भक्यौँलाका चिल्ला खुकुरी तथा तरबार बनाएर शत्रुलाई देखाएपछि उनीहरू पसगाउँ र सिङीतर्फ भागेको वीरलालले सुनाए । दुई दशक अघिसम्म गाउँ बीचको बाटो जथाभावी गरिएको दिसापिसाब र चौपायाको गोबरले फोहोर हुन्थ्यो ।

वल्लो र पल्लो गाउँका कोही अत्यावश्यक कामबाहेक भुजुङ आउने थिएनन् । पानी बोक्न खोल्सामा दौडिनुपथ्र्यो । कति जना चिप्लिएर घाइते भए । स्थानीय डिलबहादुर गुरुङका अनुसार अहिले घर–घरमा शौचालय छ । घरघरमै पानीको सुविधा छ । नाली बनेका छन् । ‘गाउँसम्म मोटर चल्छ । चौबिसै घण्टा बिजुली छ । सामानलाई गाउँ–खेत लान–ल्याउन तीनवटा रोपवे चलेका छन् । खेतबारीका अन्नदेखि घाँसदाउरा समेत रोप–वेबाटै ओसार्छौं,’ उनले भने, ‘धान कुट्न ढिकी छ । कोदो र मकै पिँध्न पानीघट्टा छ ।’

२०५० सालमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएपछि स्थानीयले सरसफाइ, संरक्षण र आयआर्जनका बारेमा जान्न सिक्न पाए । द्वन्द्वकालमा तत्कालीन माओवादीको बम प्रहारबाट कार्यालय भत्किएसँगै आयोजना कार्यालय विस्थापित भएको थियो ।

शान्ति प्रक्रियासँगै पुन:स्थापना भएको कार्यालयले विकासमा सिकाउँदै र सहभागितामा साझेदार बनाउँदै आएको एक्याप भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले बताए । एक्यापले वन्यजन्तु र जडिबुटीको चोरी निकासीमा प्रतिबन्ध लगाएको छ । ‘विकासमा गाउँलेसँगै हिँड्यौं । संरक्षण सिकायौं । अहिले व्यवस्थापन समिति छ । दायाँबायाँ हरियाली छ । हाम्रै अगुवाइमा बिजुली बल्यो ।
रोप–वे बन्यो’ उनले भने, ‘स्वास्थ्य, शिक्षा यहीँ छ । जग्गा–जमिन यहीँ छ । युवा विदेश गए पनि कतिपय गाउँमै छन्,’ उनले भने । उनका अनुसार पछिल्लो समय घरघरै ग्यास राखिएको छ । हरेकले कृषि कर्म गरेका छन् ।

भुजुङमा चियाखेती छ । अम्रिसो खेती छ । अलैंची खेती छ । होमस्टे सञ्चालिका जुनी गुरुङका अनुसार बजारको चिया किनेर खानु पर्दैन । पाहुना पर्यटकलाई उपहार पठाउने गरेको उनले बताइन् । पर्यटन व्यवस्थापन उपसमितिका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार गाउँका १८ घरमा होमस्टे छ । लोकल कुखुरा र लोकल रक्सी पर्यटकलाई मानसम्मान गर्ने गतिलो माध्यम बनेको छ । ‘हिजो वल्लोगाउँ पल्लोगाउँका समेत आउन आनाकानी गर्ने गाउँमा अहिले विदेशबाट पर्यटक आएर बस्छन्,’ उनले भने । मन्त्री, राजदूत, उच्चस्तरका सरकारी कर्मचारी समेत बेलाबेलामा गाउँ आउने गर्छन् ।

पर्यटन प्रवद्र्धनका लागि गुरुङ संग्रहालयलाई व्यवस्थित गरिँदै छ । वैशाखपूर्णिमामा घाटु नाचिन्छ । घ्याब्रे, पच्यु, कृष्णचरित्र, सोरठी, सेर्का लगायतका लोपोन्मुख नृत्य पनि गाउँमा नाचिन्छ । पर्यटक आएपछि लालीगुराँस युवा क्लबले आफ्नो सांस्कृतिक प्रस्तुति देखाउँछन् । पर्यटकको स्वागत गर्न युम्पो विकास आमा समूहले जिम्मा लिएको छ ।

हिजोआज विक, परियार तथा नेपाली (दलित) समुदायले पर्यटकलाई स्वागत गर्न थालेका छन् । स्थानीय कुलबहादुर विकका अनुसार दलित समुदायबाट पर्यटकलाई स्वागत गर्न र आयआर्जनका लागि व्यावसायिक खेती गर्न थालिएको छ । ‘हिजोसम्म हामी गाउँलेसँग मागेर खान्थ्यौं । अहिले बारीमा गोलभेंडा फलाउँछौं, खुर्सानी फलाउँछौं । काँक्रो, घिरौंला, सागपात त छँदैछ । कुखुरा पालेका छौं । महिला जागरुक हुन थालेका छन् । बालबालिका पनि पढ्न थालेका छन्,’ उनले भने ।


साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284