ताजा खबर

समयसँगै फेरिएको मेरो पसगाउँ (यात्रा संस्मरण)

   १९ बैशाख २०७७, शुक्रबार १९:११      3,722 views

एकेन्द्र गुरुङ


गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको महाधिवेसनमा सहभागी हुन जाँदा गाउँमा पनि पुगौं भनेर हङकङबाट दिलिपसिंह गुरुङ भाइले पटकपटक आग्रह गरिरह्यो । युकेबाट एनआरएनएको निर्वाचनमा लड्न चाहने साथीहरुबाट पनि नेपाल जसरी नि पनि जानुपर्छ भनेर अनुरोध भईरहेको थियो ।

यसपटक बेलायतमा नै दशैं मनाउने सोंच पनि बनाएको थिएँ किनभने बुहारीसँगको दशैं पहिलो पटक थियो । यद्यपि आजकल दशैलाई महत्वका साथ मनाईदैन । अन्ततः दिलिप भाइको आग्रहलाई स्वीकारेर दशैंमा पुख्र्यौली थलो पसगाउँ जाने निधो भयो ।

दशैंको कारणले अरु बेला सबैसँगै नेपाल जाने साथीहरुलाईपछि छाड्दै हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको लागि कतार एयरवेजको विमानबाट उडें । भोलीपल्ट ठीक समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण भयो । एयरपोर्टमा नागरिक खबर डटकमका प्रमुख सम्पादक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्ष डण्डबहादुर गुरुङ र युकेका वरिष्ठ पत्रकार मिलन तमू विमान स्थलमा मलाई लिन आउनु भएको थियो ।

भोलीपल्ट तमू ह्यूला छाेंज धिंका अध्यक्ष रेशम गुरुङ र महासचिव सूर्य गुरुङले हामीलाई खदाले स्वागत गर्नुभयो । तत्पश्चात सोही दिन बुद्ध एयरको उडान भर्दै पोखरा उल्र्यौ । बेलुकी गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष गौरी गुरुङ र महासचिव रोशनी गुरुङसँगै लेकाली चुल्हो घरमा रमाईलो भेटघाट भयो ।

हामीसँगै गाउँमा जान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका स्वकिय सचिव सूर्य गुरुङले पर्खि बसिरहेका थिए । दिलिप भाइ हङकङबाट आइपुगेपछि हामी दशैं मनाउने शिलशिलामा गाउँतिर लाग्यौं । दिलिप, सूर्यप्रसाद, सुरेन्द्र र म चारजना सबै खुसीका साथ पोखराबाट हिड्यौं ।

हाम्रो यात्रा रमाईलो र रोमाञ्चकारी थियो किनभने धेरै वर्षपछि आफ्नो जन्मथलो जाँदै थियो । पोखराबाट गाउँ जाने बाटो मैले कलेज पढ्दा झोला बोकेर चप्पल लगाएर हिड्ने बाटो कालिका स्थान, झाँजर मारे, सार्की मैदान, माँझठाना, सौरे, भगवतीटार, थुम्सिकोट, मुग्रीबेसी, बालुवाबँेसी, रवै डाँडा र बगैंचा हँुदै बेलुकी पसगाउँमा पुग्यौं ।

पसगाउँ अहिले क्हाेंला सोंथर गाउँपालिका वडा न.ं ६ मा पर्दछ । यो गाउँ समुन्द्री सतहबाट १ हजार ६ सय ५० मिटरको उचाईमा रहेको छ । पसगाउँको सम्पत्ति भनेको गुरुङ संस्कार र संस्कृति हो । गुरुङको मौलिक संस्कृतिमा पसगाउँ धनी मानिन्छ । त्यस्तै प्राकृतिक दृष्टिकोणले पनि यो गाउँ सुन्दर र आर्कषक रहेको छ । तत्कालिन इन्टर कलेज कुन्छाको विद्यार्थीहरु शैक्षिक भ्रमणमा आउँदा यो गाउँको सुन्दरतासँग मोहित भएर यसगाउँलाई फोटो जोनिथ गाउँ भनेर लेखको थियो । (मस्र्याङ्दी पत्रिका)

पहिले पसगाउँमा दशैंंमा पोखराबाट कपडाको भारी लगेर बेच्ने चलन थियो । जुनबेला रेडिमेड कपडाको चलन चलतीमा आएको थिएन । त्यसैले कपडा सिलाउन दमाई पनि बाहिरबाटै आउँथ्यो । पसगाउँमा पनि दमाई थियो तर पसगाउँकोले मात्रै नपुगेर बाहिरबाट पनि आउनु पथ्र्यौ । टेकबहादुर परियार (माईला) को दशैं र वैशाख पूर्णेमा पसगाउँमा एकछत्र बजार हुन्थ्यो । त्यति बेला गाउँमा दशैं र वैशाख पूर्णेमा मात्रै नयाँ कपडा लगाउँथ्यो ।

दशैमा प्रत्येक रोधींले पिङ्ग थाप्थे (बनाउँथे) । ३, ४ ओटा लिङ्गे र दुइटा रोटे पिङ्ग पसगाउँमा प्रत्येक वर्ष हुन्थ्यो । दशैंमा गाउँमा भिन्दै रौनक छाउथ्यो । ढकमक्क फुल्ने गोदावरी, सयपत्री फूलले गाउँको सौन्दर्यलाई थप प्रगाढ बनाउथ्यो ।

चुन र कमेरोले पोतेको घरहरुले गाउँलाई रंगिन बनाउँथ्यो । लेकबाट गाई, भंैसी र भेडी गोठ गाउँ माथिको खर्कमा आईपुग्थ्यो । धान, कोदो पाकेर पुरै पहेंलपुर हुन्थ्यो । दशैंको लागि घाँसको विशेष व्यवस्था गरिन्थ्यो । आँगन भरी नेवारे घाँसको थुप्रो हुन्थ्यो । सप्तमीकै दिन देखि दशैं शुरु हुन्थ्यो ।

दशैंको लागि बुकी घाँस खाने राँगा र यार्सा गुम्बा खाएर हुर्केको भेंडाको साँढ गाउँ भरि हुन्थ्यो । भेडाको साँढ र खसी प्राय सबै घरमा काटिन्थ्यो । किनभने विवाहित चेलीबेटीहरुलाई सेलरोटी, खिर, खसिको साँप्रो र कमु्र्र सहितको बाबा, आमा अथवा माईतीले दशैं भाग पु¥याउनु पथ्र्यौ । त्यसैले प्रत्येक घरमा खसी बोका काटिन्थ्यो ।

भाइ खलकको अग्रजहरुलाई दशैंको लागि सम्मानपूर्वक रक्सीको पुङ्ग दिने गथ्र्यौं तर अहिले रक्सीको बोतल दिने प्रचलन छ । भाइखलकको सबै चेलीबेटीलाई खाना खुवाईन्थ्यो । यसलाई ठूला बडा र चेलीबेटीलाई सम्मान गरिने एउटा विशेष परम्परा मान्न सकिन्छ । अष्टमी पसगाउँलेको दशैंको प्रमुख दिन हो । गाउँ भरि राँगा काट्ने, मार हान्ने रमाईलो कार्यक्रम हुन्थ्यो ।

प्रत्येक मान्छे सबै ठाँउको कार्यक्रममा सहभागी हुन्थ्यो । बेलुकी पितृ पूजा हुन्थ्यो जसलाई खेमा नाव भनिन्छ । खसीको मुटु, कलेजो, शुद्ध असला माछा, दुध, घिउ, मह र चोखो भाते जाँड र रक्सीको परिकार अर्पण गरि पूजा गर्नुपर्छ । अष्टमीको राती पच्यु गुरुहरुले कूल पूजा गर्छन् । त्यतिबेला यसलाई पनि उत्सवको रुपमा लिन्थ्यो ।

गुरुहरुले शास्त्रको व्याख्या गर्थे, देवता बोलाएर काम्थ्यो । ऊ बेला हामी यसलाई रमाईलो मानी हेथ्र्यो । नवमीको दिनमा कामी गाउँमा संगुर काटेको हेर्न जान्थ्यौं । कामी गाउँ गुरुङहरुको सहभागिताले रमाईलो हुन्थ्यो । पसगाउँमा मालाश्रीको गीत नवमीको दिनमा कामीहरुले मात्र गाउँथ्यो ।

लवै र भीर गरि पसगाउँमा कामीहरुको बस्ती थियो । नवमीको दिनमा गुरुङहरु सबै कामी गाउँमा जानु सह अस्तित्व, भातृत्व र आपसी सद्भावको ज्वलन्त उदाहरण थियो । नवमीको दिनमा बेलुकी युवायुवती मिलेर साँस्कृतिक कार्यक्रम प्रस्तुत् गरिन्थ्यो । आजकल युवा क्लवले साँस्कृतिक कार्यक्रम प्रस्तुत् गर्ने रहेछ ।

यसपटकको नवमीको साँस्कृतिक कार्यक्रममा म आपूmलाई प्रमुख बनाएको थियो । पहिले यो कार्यक्रम सबै रोधीघरको सकृयतामा हुन्थ्यो । दशमीको दिन दशैंको सबभन्दा महत्वपूर्ण दिन ठूला बडाबाट टीका ग्रहण गर्दै आर्शिवाद थापिन्छ । टिका थाप्न जाँदा पुङ्गमा रक्सी लिएर गईन्थ्यो । गुरुङको घरमा सजिलै उपलब्ध हुने र अरु चीजवीज भन्दा रक्सी बढी चलनचल्तीमा आएर यसको प्रयोग भएको होला ।

टिका थाप्दा पैसा दिने चलन त्यतिखेर थिएन तरपनि हामी हुलै बाँधेर टिका लगाउदै हिडिन्थ्यो । त्यसको छुट्टै आनन्द थियो । टिकाकै दिनमा कृष्ण चरित्र नाच मण्डलीको सरस्वती पूजा हुन्थ्यो र बेलुकी गाउँकै जिमुवालको घरमा कृष्ण चरित्र नाच प्रस्तुत् गरिन्थ्यो । हप्ता दिन भरि गाउँमा दशैको छुट्टै खालको रौनक हुन्थ्यो । हामी रौसिन्थ्यो, रोमान्चित हुन्थ्यौं । त्यो एउटा संस्कृति थियो । गाउँले सबै सुखी त थिएन होला त खुसी अवश्य थियो ।

सबैले खुसीको अनुभूति गरेको अनुभूत हुन्थ्यो । त्यो छुट्टै संस्कार थियो । त्यो रमाईलो परिवेशमा हुर्केको हामीसँग दुःखलाई सुख मान्ने संस्कृतिको अनुभव थियो । त्यसैले हामी अभाव र पिडामा पनि रमाउन सक्थ्यौं । हामीले देखेको भोगेको दशै यसपटक गाउँमा पाएन । त्यहाँको चलन मात्रै होइन वातावरण र परिवेश पनि फरक लाग्यो । खेतबारी सबै बाँजो देखिन्थ्यो । पहेंलो भएर धान र कोदोको बाली झुलेको थिएन । लेकबाट सिङ्ग घुमेको भेडाको साँढ आएन र चिल्लो ठूला ठूला राँगा झरेन । बर्गेना पाडा जस्तो फुच्चे राँगाहरु मात्रै थियो ।

गोदावरी, सयपत्री र मखमली लटरम्म फुल्ने करेसा वारीमा सिस्नु र पाती उम्रिएको थियो । गाउँमा मान्छेको चहलपहल पनि कम देखिन्थ्यो । धेरै मान्छेहरु बसाई सरेर गईसकेको रहेछन्, घरहरु प्रायः खाली देखिन्थ्यो । कामी गाउँ त पूरै खाली भेटियो । गाउँ पूरै उतिसको जंगलमा परिणत भएछ । गाइने कामी, टिकाराम कामी र चुइटे कामीको ढुंगाले छाएको पक्की घरहरु मात्रै खण्डहर जस्तै देखिन्थ्यो ।

गाउँ उजाड देखिन्थ्यो तर नयाँ कुरा त्यहाँ बिजुलीको पोल गाडिएको थियो घरघरै पानीको धारा रहेको देखिन्थ्यो । सबैसँग मोबाईल फोन हातमा देखिन्थ्यो । तल पलाँजखोला सुसाईरहेको, कोईरो बनमा मृग कराइरहेको, चराचुरुङ्गीको चिरविर आवाजले मनलाई बिरानो बनायो । सुन्दर ठाउँ कुरुप भए झै लाग्यो । आफू हुर्कि बढेको ठाउँ नै नौलो लागिरहेको थियो । गाउँका धेरै मानिसहरुको अनुहार नौलो देखिन्थ्यो ।

गाउँमा हामीले गाउँ छाडेपछि जन्मेका, हुर्केका र विवाह भएर आएका अपरिचत अनुहारहरु धेरै देखिन्थ्यो । ठूला ठूला मकैको सुली र परालको टौवाले गाउँलाई शोभा दिन्थ्यो तर खेतीपाती गर्ने युवाहरु सबै वैदेशिक रोजगारमा गएपछि त्यो शोभा दिने, परिचय दिने कुरा आफै लोप भएर जाँदो रहेछ ।

मानिसहरु जो पनि आराम चाहन्छन्, सुविधा खोज्छन् तसर्थ परम्परागत रुपमा चलि आएको खेतीपाती त्यागेर थोरै खर्च र श्रममा खर्च गर्न सकिने अलैची खेतीमा लाएको पाईयो । अर्काको घरमा बेसा गरे ईज्जत रहन्न भन्ने मानसकितालाई छाडेर समय सापेक्ष चलेको देखियो । गाउँबाट पोखरासम्म दैनिक बस सेवा सञ्चालन हुन्छ भन्ने कुरा कल्पनामा पनि थिएन ।

तर, आज प्रत्यक्ष आवातजवात भैरहेको छ । विद्यालय भवन, शिशु स्याहार केन्द्रको भवन विस्तार भएको, स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएको, घर घरमा पानीको धारा जोडेको, चौविसै घण्टा बत्ती बलेको, टेलिफोनको अग्लो टावर निर्माणले गाउँमा विकास भएछ ।

दुर्गम विकट गाउँहरुमा पनि आधुनिक विकासले छोएछ झै लाग्यो । दशमीको दिन हाम्रा परिवारको जेष्ठ सदस्यको आँगनमा हाम्रो टिका लगाउने कार्यक्रम थियो । टीकाको लागि भनेर पोखरा, बेसीशहरबाट पनि सहभागी भैरहेको थियो । खसीको जोहो गरेका रहेछन् । चेलीबेटीलाई घरघरै खाना खुवाउने चलनलाई त्यागेर सबैलाई त्यही सङ्गोलमा खाना खुवाएका थिए । चेलीबेटीले घरघरै रक्सी पु¥याउनु पर्ने चलनलाई छाडेर त्यही भेलामा एक बोतल ल्याए हुने थिति बसालेका रहेछन् जुन असाध्यै राम्रो लाग्यो ।

टीका लगाउन र खानपिनको कार्यक्रम रमाईलो वातावरणमा सम्पन्न भयो । मैले चिनेका थोरै थिए, नचिनेका धेरै थियो । बाबुको नाम सोधेर सबैसँग चिनजान गरियो । रमाईलो माहौललाई सबैसँग विदा गरेर समापन ग¥र्यौ । त्यसपछि कृष्ण चरित्र नाचको टोलीसँग सहभागी भयौं । यो नाचमा गाउँले सबैको अनिवार्य उपस्थिति हुनुपर्छ ।

उपस्थिति नभएमा समितिले तोकेको जरिमाना तिर्नुपर्छ । यो नाच दशमीको दिनमा बेलुकी प्रस्तुत गरिन्छ । पसगाउँ वरिपरिको गाउँहरुमा पसगाउँको कृष्ण चरित्र नाचलाई राम्रो नाच भन्ने चलन छ । श्री कृष्णको जीवन कथामा आधारित भएकोले यसलाई कृष्ण चरित्र भनिएको हुनुपर्छ । दुईजना मोर्मी (मारुनी) र दुईजना बेसामारे (फुर्सुगें) गरी चारजना यो नाचको प्रमुख नर्तकीहरु हुन् । चारजना मादल बजाउने गुरुहरु हुन्छन्, अरु ४, ५ जना भन्दा बढी गीत गाउने गुरुहरु हुन्छन् ।

नाच साह्रै रमाइलो र राम्रो थियो । भोली पल्ट बिहान् सबैसँग विदा भएर पोखराको लागि ८ बजेको बस चढ्यौं । विद्यार्थी कालमा पोखरा झर्दा गोर्जेको डाँडामा बसेर गाउँलाई मेरो गाउँ भनेर हेर्थें । किनभने त्यो डाँडाबाट झरेपछि गाउँ देखिदैन थियो सायद यो मेरो गाउँ प्रतिको अथाह स्नेह थियो । गाडीबाट झर्दा गाउँतिर फर्केर हेर्न मिल्दैन थियो तर पनि गाउँलाई सम्झिदै झरें पोखराबाट काठमाण्डौं विमानमा सवार गर्दा गाउँलाई हेर्न मिल्ने सिटमा बस्ने गर्छु ।

विमानको साथीहरुलाई अनुरोध गर्दै जहिले पनि हिमाल देख्ने सीटमा बस्ने गर्छु । हिमालको काखमा बादलुको घुम्टो ओडिरहेको गाउँलाई हेर्न मन पराउँथें । जस्तो सुकै अवस्थामा पनि मुन्टो तन्काई तन्काई मैले आप्mनो गाउँलाई हेर्ने गर्थें । विमान अघि बढेपछि भावुक हुन्थें । म नोस्टालजिक हुन्थे । मेरो गाउँ, मेरो माटो जहाँ म हुर्कें बढे, जहाँ मेरो घर छ जुन मेरो परिचय हो, स्वर्ग हो भन्ने कुराले मन चिमोटी रहन्थ्यो ।

काठमाडौंमा तमू ह्लूल छोज धींको आयोजनामा सम्पन्न हुन गइरहेको अन्तर्राष्ट्रिय गुरुङ सम्मेलन र गैर आवासीय नेपाली संघको सम्मेलनमा भाग लिन काठमाण्डौं आईपुग्दा युकेबाट सबै साथीहरु काठमाण्डौं आईसक्नु भएको थियो । संसारभरि छरिएर रहेका गुरुङहरुको यो सम्मेलन आफैमा महत्वपूर्ण थियो । यो सम्मेलनमा गुरुङहरुको सभ्यता, संस्कृति र इतिहासको सम्बन्धमा विज्ञहरुले कार्य पत्र प्रस्तुत् गरेका थिए ।

गैर आवासीय नेपाली सम्मेलन प्रत्येक दुई वर्षमा हुने गर्छ । यसपटक नयाँ कार्यसमितिको चयन पनि भएको थियो । कार्यक्रम समापनपछि कर्मभूमि युके तर्फ लागें ।

(लेखक एकेन्द्र गुरुङ लामो समयदेखि बेलायतमा बसोबास गर्दै आउनु भएको छ । गुरुङ जातिको संस्कार संस्कृतिको गहिरो अध्ययन र विष्लेषण गरि कलम चलाउदै आउनु भएका उहाँको धरतीमा जुन र मनका तरङ्गहरु गरि दुईवटा कृति प्रकाशित छन् ।)

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

1 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284