ताजा खबर

एकपटक जानै पर्ने गाउँ पसगाउँ

   १६ बैशाख २०७६, सोमबार ०८:३४      6,503 views

एकेन्द्र गुरुङ


एकेन्द्र गुरुङ

पसगाउँ साविक पसगाउँ गा.वि.स. हाल क्होल सोंथर गाउँपालिका वडा नंं. ६ अन्र्तगत पर्दछ । समुद्र सतहबाट १६५० मिटरको उचाईमा रहेको यो गाउँमा ४०० घरघुरी रहेको छ । लमजुङ्गको सुदुर पश्चिम उत्तर भेगमा अवस्थित यस गाउँलाई मोटर बाटोले छोएको छ । यो लमजुङ्गको अति विकट गाउँ मध्येको एउटा गाउँ हो । त्यसैले सदरमुकाम बेशिसहर र पोखराबाट पुग्न साह«ै गाह्रो थियो । तर, पुगिसके पछि त्यहाँको मनमोहक प्राकृतिक छटा, वनजंगल, पाखा पखेरा, खोला नाला, चराचुरुङ्गी, जंगली जनवार र गुरुङ संस्कार संस्कृतिमा सिंगारिएको पसगाउँको रहनसहन र आतिथ्यमा रमाउँछन् ।

अन्नपूर्ण हिम श्रृंखला लमजुङ्ग हिमालको काखमा अवस्थित छ, पसगाउँ । नागवेली भएर बगिरहने रुदी खोला आँखा भरि भई रहन्छ । करापुटार, भोर्लेटार, पोल्याङटार र रम्घाटार र क्षितिजमा देखिने देउचुली ब्रम्हंचुलीले पनि पसगाउँ आउने सबैको मनमा बास खोज्छ । यहाँको सति घाँटु अरु ठाउँको भन्दा पृथक र मौलिक मानिन्छ । कृष्ण चरित्र भ्mयाउरे र घाँटु अतिथि सत्कारमा नाचिने पुरानो साँस्कृतिक परम्परा हो । यहाँको परम्परा विचित्र किसिमको छ । गाउँको बीचमा सिंगो गाउँको इतिहास बोकेको ठाँटी छ ।

यसको अगाडि एउटा ढुंगा छ । यहाँका मान्छेहरु गाउँबाट कतै टाढा जाँदा यो ढुंगालाई घुमेर पूmल चढाएर जाने गर्छन् । जस्ले आप्mनो मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास रहेको छ । रोधिघरवाट लमजुङ्ग हिमालको काखमा अवस्थित दुधपोखरी, पोखराको ढुंगे साँघु र करापुटारको फलेक साँधुमा जात्रा जाँदा, लाहुर जाँदा यो ढुंगालाई दाहिनेबाट घुमेर पूmल चढाएर जाने गर्छन् । गाउँकै बीचमा ‘पैंदु युम’ नाम गरेको अर्को ढुंगा छ । शुरुमा गाउँ बस्ती बसाल्दा उक्त ढुंगा माथि स्याउला राखेर स्याउला माथि ढुंगा खप्टाएर उक्त ठाउँ आप्mनो भनेर ओगटेको हुनाले पैंदु युम भनेर भनिएको हो । त्यो ठाउँलाई र त्यहाँ वरपरको जग्गा आप्mनो अधिकार भित्र ल्याउनलाई ओगटेको बुझिन्छ ।

यसरी अरुले ओगटे पछि भोगचलन गर्न पाउदैन । शुरुमा कसैले ओगटि सकेको ठाउँको ढुंगा र स्याउला अरु कसैले फालेमा अनिष्ट हुन्छ भन्ने भनाई रहेको छ । तसर्थ, यो ढुंगा पनि पसगाउँमा बस्ती बसाल्दाको इतिहासको साक्षी भनेर चिनिन्छ । त्यसैगरि गाउँकै अर्को भेगमा अर्को ढुंगा छ । यसलाई टाढैबाट सजिलै देख्न सकिन्छ । यसलाई सिल्दो युम भनिन्छ । प्रत्येक मंगलबार र बुधबार कुखुरा नबास्दै यो ढृुंगालाई पूजा गरिन्छ । पूजा सकिए पछि ढुंगाको टुप्पोबाट बीचमा पर्ने गरि रक्सी अर्पण गरिन्छ अशिना हुरि बतास हुँदा पनि यो ढुंगालाई पुजिन्छ । यसो गर्दा गाउँ वारिन्छ । यसलाई गुरुङ भाषामा नास प्रिव भनिन्छ ।

नास प्रिव गर्दा (गाउँ वार्दा) जोत्ने खन्ने, गोड्ने, ढिकी जाँतो गर्न, वन जंगलमा होहल्ला गर्न, सुसेल्न र जथाभावि फोहोर मैला गर्न हुदैन । यदि अटेरी गरेमा देवता रिसाउँछ, अनिष्ट गराउँछ भन्ने विश्वास रहेको छ । घाँस दाउरा समेत गर्न पाउदैन । सिल्दु युम (सिल्दो ढुंगा) मा पूजा गरेर रक्सी अर्पण गरे पछि गाउँलेलाई घोक हालेर जानकारी गराईन्छ । नास प्रिव (गाउँ वार्नें) गर्ने काम हुन्छ । उघौली, उभौलीमा यहाँ बोकाले पूजा गरिन्छ । गाउँको फेदमा ‘छेदो युम’ नाम गरेको ठूलो ढुंगा छ । चण्डी पूणर््िामाको दिन गाउँले सबैले भाले चढाएर पूजा गर्छन् । यहाँका सबै ढुंगाहरु ‘छेदो युम’ एकै दिशातिर फर्केका छन् । कुनै बेला यो ठाउँ ऋषिमुनीहरुको तपो भूमि जस्तो देखिन्छ । यो सिद्ध ज्ञानीहरुले साधना गर्ने पूण्य भूमि जस्तो लाग्छ ।

त्यहाँबाट एकसय पचास मिटर पूर्वमा एउटा अनौंठो ढुंगा छ । उक्त ढुंगा भित्र दुलो छ । एकातिरको मुख सानो अर्को तिरको मुख ठूलो छ । सानो दुलोमा मुख राखेर फुक्दा नरसिङ्गको जस्तो आवाज निस्कन्छ । टाढा टाढाको गाउँहरुमा समेत आवाज गुन्जिन पुग्छ । त्यस्तै गाउँ माथि पनि कोईम्रो नाम गरेको ठूलो ओडार छ । त्यहाँ पनि पूजा गरिन्छ । त्यस्तै अरु पनि धेरै ओडारहरु छन् । गाउँ माथि सिरानमा “ङयो चे” नाम गरेको चउर छ । यसलाई केहि विस्तार गरेमा हवाई मैदान बनाउन पनि सकिन्छ । गुरुङ भाषामा ङयो भनेको पोखरी र चे भनेको समथर जमिन भन्ने बुझिन्छ । यहाँ मानव वस्तीको भग्नावशेषहरु पनि छ । अहिलेको गाउँ भएको ठाउँमा बस्ती बस्नु पूर्व यो ठाउँमा पसगाउँलेको बस्ती रहेको बुझिन्छ ।

सुमद्र सतहबाट २२०० मिटरको उचाईमा रहेको ‘ङयो चे’ मा दुईटा इनार रहेको छ । पहाडको टुप्पामा त्यसप्रकारको इनार आफैमा दुर्लभ र आर्कषक देखिन्छ । इनार निर्माण संग एउटा पृथक प्रसंग जोडिन आउँछ । तत्कालिन समयमा भाँडावर्तनको खोजिमा दुरदराजमा निस्कदा देखेको इनारलाई त्यस्तो पहाडको टुप्पामा बनाउनु अचम्मको कुरा छ । पसगाउँ लेक वेसि मिलेको गाउँ भनेर चिनिन्छ । झिनुवाको धान फल्ने वेसिको खेत देखि लिएर रुख विरुवा केहि नउम्रने बुक्यानी घाँस मात्रै उम्रने घाँसे मैदानको भूमि सम्म यो गाउँ फैलिएको छ । यो गाउँ जैविक विविधताले धनि गाउँ हो । साल, सिमल, चाँप, वेतवाँस, दार, कटुस, चिलाउने, काफल, औसिलो, सिनकाउली, लप्सि, टिमुर गुमेली, उतिस, पैयु, भेकम्ला, रिठ्ठा, अमला, पांग्रो, गिठ्ठा, भ्याकुर, चुत्रो, कुरिलो, तरुल, गोफ्ला, चन्दन देखि लिएर घुपि, सल्लो, निगालो, भोजपात, गुराँस, चिमल, कुडकी, निरमसि, बिष, चैगि, खोट, सल्लो (क्यान्सरको औषधी), यार्सागुम्बा, पाँच औले र सतुवा समेत पाईन्छ ।
बाघ, भालू, ब्वासो, मृग, भारल, घोरल, कस्तुरी, कालिज, लुईचे, प्युरी, तित्रा, महभीर, डाँफे, मुनाल, माछाको कुर यहाँको जंगली जनावार र पशुपंक्षिहरु हुन् ।


पस गाउँको पूर्वमा कम गाउँ, लिथा, पोर्जु, कुयु, मछैम्रो खर्क पर्छ । दक्षिणतिर काईम्रो, क्रिमु, किउ, रउ, तनम्रो पर्छ । पश्चिम तिर रुदी, पारी, सुक्र्यू, तौजुदा, दलुवा र रबैडाँडा पर्छ भने उत्तरतिर क्यू, पौली, स्योम्रो, काम्रो, सिउरी, कुना र पलेभिर पर्दछ । पसगाउँको लेकको सिमानामा पूर्वमा सुमेरु, काउचे डाँडा, घले गाउँको सिमाना उत्तर हात्ती गौडा खोला फाल्ने, भुजुङ्गको सिमाना, पश्चिम खेल्चे सिक्लेसको सिमाना, पोँगु खोला, युम्बु बन्गा नायुलीको सिमाना भित्र पसगाउँलेको लेकको सिमाना पर्दछ । योगु, प्रिप्ह«ो, डाँडा, खेल्चे प्रिली, ङहोकों, नाखु डाँडा, नाखु, तिउजे, पुलाउ आदी बुक्यानी लेकमा रहेका खर्कहरु हुन् । अरु खर्कहरु यस प्रकार छन् । ङयो चे, लिथा, कोइरोंति, आन्द्रा क्यु, पोर्जु तल्लो माथिल्लो, पासापे, मकै म्रो, खुरिया, चित्र खर्क, तेजिकुना, युमआडा, नयाँखर्क, चिउलेघारी, ङसिखर्क, चिगारकों, बारउम्ले खर्क, सुक्रें, कोइम्रो, म्रादो, खुमेर, तोङ्हयो, डोबाटो, लेदे, क्युवे, युमाक्यू, वाम्लु, पलेँ, तोङयो, कोम्रो, नगरे, लंका, चित्रप्हो, रगु, सजा माथिल्लो र तल्लो, नसिंखर्क, युउदोप्हाँ, चित्रे, युउदु, मजे, छेदोढाप, युमकईदू, क्लोजेम्हिसा, तेदें, खगेकिवि, टसेम्रो, मैइम्रो, खुईम्रो आदि सबैला गाई भैसी राख्ने खर्कहरु हुन् ।

पानी लाग्ने खेतको मालपोतलाई बाली, पाखो जग्गाकोे मालपोतलाई सेर्मा र लेक अथवा पशु चरनको मालपोतलाई खर्चरी भनिन्छ । खर्क, खर्चरी र महाभीरलाई खारेज गरेको छैन । मालपोत पनि उठाएको छैन । पुरानो चलन अनुसार भोगचलन गरिरहेको छ । लेकमा खर्क नहुने गाउँलेले लेकको खर्क हुनेसंग रक्सीको पुंग र भेडाको साँढ उपहार चढाएर गोठ लैजाने परम्परा छ । बसाईसराई र वैदेशिक रोजगारमा जाने नयाँ संस्कृतिले गर्दा गोठ राख्ने परम्परा संकटमा परेको छ ।
रुदी खोला कास्की र लमजुङ्गको बीच भाग भएर बग्ने नदी मादीमा मिसिन्छ । क्होल सोंथरमा घले राजा विस्थापित भएपछि इतिहास अनुसार कोही सिक्लेस, कोहि घनपोखरा र कोहि इलमपोखरी बसाई सर्छ । सिक्लेसको नोल्गी पुगेको पसगाउँको म्हिगिलामाको पुर्खाहरु तप्रो, मजे नजिकैको लुजे र नजिकको नोडामा फर्केको रहेछ । त्यस्को माथि डाँडामा म्रुघिं राजाको दरवार रहेको छ । तल घोडाको गोठ राख्ने ठाउँ छ ।

त्यसलाई तप्रो भनिन्छ । जुन ठाउँहरुको भग्नावशेष अझै देखिन्छ । यसको पनि उत्खनन् गरेर शोध अनुसन्धान गर्नु जरुरी छ । त्यसको दक्षिणी भेकमा तिते पातीको तिनवटा मुन्टो (विरुवा) रहेको छ । यो तितेपातीको ३ वटा मुन्टो हिउँद र बर्ष सधैं हरियो भइरहन्छ । कहिले पनि सुक्दैन । ठूलो भएर झ्याकिदैन र हराएर पनि जाँदैन । यो तिनवटा पातीको फेदबाट पानीको मूल निस्केको छ । यहि मूल नै रुदी खोलाको पानीको प्रमुख स्रोत हो । मु्रधीं (राजाको दरवार) को नजिकबाट बग्ने भएकोले यो खोला मु्रधीं खोला भन्दाभन्दै कालान्तरमा रुदि खोला भनेर चिनन आएको स्थानीय बुढापाकाहरु बताउँछन् । पसगाउँलाई गुरुङ भाषामा ‘पैगो’ भनिन्छ काठको टाँडलाई गुरुङहरु ‘पोंगु’ भन्छन् । अहिलेको वस्ती रहेको ठाउँमा मकैको खुरिया लगाउदा जगंली जनवारलाई धपाउन काठको मचन लगाएर बसेको ठाउँ हुनाले पाँगु भनिएको हो । पाँगु भन्ने शब्द अपभ्रंश भएर पैगो भनिएको हो भनेर स्थानिय बुढापाका बताउँछन् । गाउँको बीचमा रहेको पाँगु नै अहिलेको ठाँटी हो । यसरी पसगाउँको पूरा नाम पसगाउँ ठाँटी रहन गएको हो । पसगाउँ भन्ने वित्तिकै पसगाउँ ठाँटी पनि संगै जोडिएर आउँछ । पहिले पसगाउँ ठाँटी ग्राम पंचायत थियो ।

अहिले विद्यालयको नाम पसगाउँ ठाँटी भन्नु नै यसको ज्वलन्त उदाहरण हो । ठाँटी पसगाउँको आप्mनै मौलिक परिचय हो । यहाँको सभा समारोह सबै ठाँटीमा गरिन्छ । तिन दिन सम्म लगातार नाचिने पसगाउँको सति घाँटु ठाँटीमा नै नाचिन्छ । हप्ता दिन सम्म गर्ने पसगाउँको स्थिति सभा (ठाँटीमा) ठाँटीमा नै गरिन्छ । यसलाई भदौरे सभा पनि भनिन्छ । सरकारी नीति भन्दा पारदर्शि र प्रभावकारी ढंगले गाउँमा थिति बसालेको हुन्छ । थिति नमान्नेलाई गाउँले सबै मिलेर डण्ड जरिमाना तोक्छ । यो एकदमै समावेशी र समानताको आधारमा हुन्छ । त्यसैले राजाको रिति भन्दा गुरुङको तिथि भरपर्दो भनिएको हो ।


पसगाउँ डाँडा माथि थपक्क बसेको छ । टाढाबाट हेर्दा तल देखि माथि डाँडाको फेद सम्म सलल बस्न गएको जस्तो दखिने भएकोले यसलाई पसगाउँ गाउँ भनिएको हो भन्ने जनविश्वास रहेको छ । गुरुङको शास्त्र अनुसार पसगाउँ मुरीहरुको प्रथम अवस्थल (न्हेज) हो । तर स्थानीय गाउँलेहरु लगै भन्नै व्यक्तिले पहिले ‘पैगु चुब’ पसगाउँ स्थापना गरेको भन्छन् । शिकारी कुकुर हिलो लतपतिएर आए पछि नजिकै कतै पानीको स्रोत हुन सक्ने अड्कल गरेर जाँदा अहिलेको पानी पधेरो फेला परेको जनविश्वास छ । यो पानी पनि लगै भन्ने व्यक्तिले शुरुमा पत्ता लगाएको हुनाले यस्को नाम ‘लगै क्यूमरु’ रहन गएको हो । गुरुङहरु पँधेरालाई क्युमरु भन्छन् । लगै पधेरालाई लगै क्युमरु लगै क्युमरु भन्दाभन्दै अप्रभंश भएर लवै क्युमरु भन्न थालिएको बुझिन्छ । २०२५ सालमा स्व. हिरासिं गुरुङको अगुवाईमा हिरा ज्योति कलधारा निर्माण भएपछि पिउने पानीको नयाँ शिराबाट संवोधन हुन थाल्यो । २०६० साल देखि पसगाउँ उज्यालो भएको छ । ७५ किलोवाटको यो जलविद्युत आयोजना जिईको जर्मनको २ करोड ३३ लाख र स्थानिय बासिन्दाको १५ प्रतिशत लागानीमा सम्पन्न भएको हो । यस गाउँको ४०० घरधुरी लाभान्वित भएको छ । यहाँ पेशा भनेको खेतिपाती र पशुपालन गर्नु हो । धान, मकै, कोदो र काउनु यहाँको प्रमुख बाली हो । गाइ, भैसी, भेडा बाख्रा पालन यहाँको अर्को व्यवसाय हो ।

अलैंची परम्परागत गर्दै आएको खेती हो । अहिले यसलाई प्रमुख नगदे वालीको रुपमा अलैंची र चिया खेती पनि गर्दै आएको छ । भेडा वाख्राको उनबाट राडी, कम्मल र बख्खु तयार गर्छन् । अल्लो शिस्नुबाट थैलो, बोरो, भांग्रा र स्याबा बनाउँछन् । पस गाउँ ‘दार’ नाम गरेको बिशेष काठ पाउने प्रशिद्धि ठाउँ हो । जुन काठबाट दुधको लागि चाहिने भाँडो ठेका र रक्सी राख्न प्रयोग गरिने ‘टुवा’ र रक्सी खाँदा प्रयोग गरिने ‘पुची’ बनाइन्छ । यहाँका वासिन्दाहरु सेनामा पनि कार्यरत छन् । नेपाली सेना, भारतिय सेना, बृटिश सेना र सिंगापुर पुलिसमा भर्ती भएर जाने यहाँको परम्परा नै हो । नेपाल राज्य विस्तारको क्रममा पसगाउको अदिवल गुरुङ, कास्की अर्घौ अर्चलेमा वीर गति प्राप्त गरेको वंशावलीमा उल्लेख छ । साउने संक्रान्ति, दशैं, तिहार ल्होछार÷ल्होसार, बैशाष पूर्णिमा यहाँको प्रमुख चाड पर्वहरु हुन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) अन्तरप्रदेश पर्यटन प्रवद्र्धन तथा अन्तरक्रियाका लागि मधेश प्रदेशतर्फ प्रस्थान गरेको छ । तीनदिने उक्त भ्रमणमा संस्थामा आबद्ध सदस्यसहित विभिन्न

अझै पढ्नुहोस्

Follow Us


Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284