
गुरुङ समुदायमा प्रचलित विवाह परम्परा
एकेन्द्र गुरुङ / बेलायत

– एकेन्द्र गुरुङ
गुरुङ (तमू)हरु मागी विवाह, प्रेम विवाह, जारी विवाह विधुवा र विधुर विवाह गर्छन् । छ्यापछ्याप्ती मागी विवाह र प्रेम विवाह बढी प्रचलनमा छन् । गुरुङहरु फुपू चेला र मामा चेली सोल्टी, सोल्टिनी (ङोलो ङोल्स्यो) बीच विवाह गर्ने हक लाग्छ ।

मामाको छोरी हुँदाहुँदै अन्यत्र विवाह गरे नराम्रो मानिन्छ । केटाकेटी दुवैको वर्ग जुराउँदा विवाह गर्न हुने भएमा सानैमा पनि रक्सी खाएर विवाहको लागि वाचा कबोल गर्छन् । यस्तो अवस्थामा रक्सी खाइसकेको केटीको आकस्मिक मृत्यु भएमा केटा पक्षले नै सतिगति गर्नुपर्दछ ।
रक्सी खाइसकेको केटाकेटी बीच भविष्यमा कारणवश विवाह हुन नसकेमा बाचा तोड्नेले जरिवाना (दण्ड सजाय) भोग्नुपर्ने हुन्छ । गुरुङ ज्योतिषी पैंडीले ठहरयाएको शुभदिन शुभ लगनमा दुलाहा (वर) घरमा नभएको अवस्थामा घरको मूल धुरी खाँबोसँग टीकाटाला गरी दुलही भित्रयाउने चलन पनि छ तर अहिले यस्तो चलन हराउँदै गएको छ । केटा (वर) र केटी (बधु) को दाम्पत्य जीवन सफल हुन्छ कि हुँदैन भनेर आफनै तमु ज्योतिषी पैंडीसँग हेराउँछन् ।

हेराउँदा, वर्ग जुराउँदा मेवा राशि, गण सबै मिल्छ भने केटा पक्षबाट केटी पक्षकहाँ त्यो वर्षको “सोंग्या” (वर्ग जुरेको) व्यक्ति पठाउँछन् । जसलाई “प्ह्रेंस्यो ह्रिवा” दुलही माग्ने भनिन्छ । दुलही माग्न जाँदा रक्सीको “पुगं” र सेलरोटीको “पेराँगु” लग्नुपर्छ । केटी दिने भएपछि दुलहीको माइती खलक सबै जम्मा भएर सगुनको रुपमा ल्याएको रक्सी र सेलरोटी खान्छन् । “रक्सी” खानु नै पछिको शुभ लगनमा विवाह पक्का हुन्छ भन्ने सम्झौता हो ।
दुलही अन्माउँदा शुरुमा आफनै भाइका दाइले बोक्ने चलन छ । जन्ती दुलाहाको घरमा पुगेपछि दुलाहा पक्षले दही चामलको टीका, फूल र मालाले स्वागत गर्छन् । दुलहीलाई गृह प्रवेश गराउँदा दुलाहले आफनी आमालाई सुनको गहना लगाईदिने हेला होचो नगर स–सम्मान पालनपोषण गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्दछ । दुलाहाको दिदीबहिनीहरुले पूजा अर्चना गर्छन् । ढोका बन्द गर्छन् । गुरु पुरोहितहरुले भाले चढाएर पूजा गर्छन् ।

ढोका खोलेर दुलही भित्रयाउँछन । गाउँमा हर्ष बधाई गरिन्छ । दुलाहाको आफन्त भद्रभलाद्मी, धर्मगुरु र पैंडी सबै मिलेर दही चामलको टीका लगाईदिन्छन्, आशिर्वाद दिन्छन् । दाम्पत्य जीवनको सफलताको शुभकामना दिन्छन् । दुलाहा दुलही दुवैलाई एउटै भाँडामा पालैपालो सगुनको प्रतीक दही खुवाउँछन । विवाहको उपलक्ष्यमा गाउ“मा भोजभतेर हुन्छ ।
दुलाहालाई दुई भाग खाना टक्राइन्छ । रोधीको रोस्योंहरु दुलाहा लगायत जन्तीमा आउने सबैलाई फूलको माला, रमाइलोको लागि तमाखु भनेर टिमुर र खुर्सानीको धुलो, खसीको आन्द्रामा रंग भरेर माला लगाईदिने, रङ्ग लगाईदिने र केराको गानु टुक्रा–टुक्रा पारेर जन्तीलाई हान्ने चलन रहेको छ ।
गुरुङहरुको विवाहमा गरिने सबैभन्दा महत्वपूर्ण प्रक्रिया “तेना कुर्सि” हो । तेना कुर्सिलाई तेना क्रमु र तेना त्हेव पनि भनिन्छ । यो दुलाहा पक्षले दुलही पक्षलाई सम्मान गर्ने प्रचलन हो । मागेर गरेको विवाह, माइत मान्ने महत्वपूर्ण संस्कार हो । भगाएर गरेको विवाह सबैमा यो प्रथा लागु हुन्छ । तेना कुर्सिलाई ६ सुकी लगाउने, क्रमु तेंवा र साईपाता लाउँने पनि भनिन्छ ।

माइतीले तेना कुर्सि नखाएमा छोरी ज्वाँई नस्वीकारेको ठहरिन्छ । नस्वीकार्नु भनेको मृत्यु संस्कारमा “आस्योंक्वे” नदिने भन्नु हो । मावलीको “आस्योंक्वे” (मावलीको कात्रो) विना मृतआत्माले शान्ति पाउँदैन । भगवानसँग समाहित हुन सक्दैन भन्ने जुनविश्वास छ । तेना कुर्सि नगरेको कुनै व्यक्तिको मृत्यु भएमा मृत्युपछि पनि ६ सुकी बुझाएर मात्रै लास चलाउन सकिन्छ । तेना कुर्सि गर्दा केटा पक्षको तर्फबाट केटीको माइती घरको आगनमा बर्छा गाडिन्छ ।
सम्मानको लागि सेलरोटीको पेरागु र रक्सीको पुङ्ग पनि राखिन्छ । आँगनमा मान्द्रो भेंडाको रसाद टक्राइन्छ । ओछ्याइन्छ मान्द्रो माथि गुन्द्री राडी ओछ्याएर दुलाहा दुलही दुवै पक्षको भद्रभलादमीहरु आमुन्ने सामुन्ने बस्छन् । सेलरोटी, रक्सी, क्रमु (मुजेत्रो) र क्रेगी (पगरी) बाँडछन । थालमा दूध आउने दुधिलो अथवा नेवारीको पातमा ६ सुकी दस्तुर रकम राखेर केटी पक्षको भलादमीलाई टक्राइन्छ ।
– ६ सुकीको विभाजन यसप्रकार गरिन्छ
१. गाउँको तालुकदार (नासबै च्हिवाए न्हेगा) को पगरी एक सुकी
२. आमाको दूधको भारा (आमाए ङहेए भारा) एक सुकी
३. गाउँ बस्तीको नूनको भारा (ह्युकए चनाए सै) एक सुकी
४. विवाहको समयमा विवाहको लागि खटिने प्रतिनिधि बस्ने घर (न्हेधिं न्हेजा) एक सुकी
५. विवाहको लागि सम्बन्ध जुटाइदिने कुटिनीको भारा (कलेचर न्हेजा) एक सुकी
६. दुलहीको साथीहरु (महिला पुरुष) (परेफ्रे हमिमैए न्हेगा) को भारा
क्रमु तेना वा तेना कुर्सि गरेपछि विधिवत विवाह भएको मानिन्छ । तेना कुर्सि नभएको विवाहको मान्यता हुँदैन । तेना कुर्सिमा केटीपक्षको भाइ खलक सबै उपस्थित भएर राजीखुशीले रक्सी, रोटी र खसीको मासु खाएपछि तेना कुर्सि स्वीकारेको बुझिन्छ ।
“पये” (अर्घु) गुरुङहरुको मृत्यु संस्कारमा गरिने एक महत्वपूर्ण कार्य हो । मृतकको आत्माले चीर शान्ति पाओस् भनेर अर्घु गरिन्छ । अर्घु गरिएको मृतकको आत्मालाई सम्बन्धित पितृहरुसँग बिर्सजन गरिन्छ । यसरी आफना पुर्खाहरुसँग मिलान गर्ने कार्यलाई खेमा न्हाँवा, दफतर चढेवा भनिन्छ । पितृहरुसँग अर्घु गरिसकेका मृतकहरुको नाम दर्ता गर्नु नै दफ्तर न्हाँवा हो । अर्घु नगरेसम्म दफ्तर नाम समावेश गर्न पाइदैन । त्यसकारण गुरुङहरुको पितृकार्य अर्घुमा दफ्तर न्हाँवा दफ्तरमा चढाउनु महत्वपूर्ण प्रक्रिया हो ।
तेना कुर्सि गरेपछि दुलहीको न्हेजा माइती घरबाट दुलाहाको न्हेजामा स्थानान्तर गरिन्छ । यसलाई गोत्र परिवर्तन गर्ने पनि भनिन्छ । मृत्यु संस्कारको सम्पूर्ण कार्य दुलाहाको घरबाट गरिन्छ । मृत्यु संस्कारमा पनि पितृहरुसँग मिलान गरिन्छ तेना कुर्सि नगरेको बुहारीलाई दफ्तरमा चढाइदैन । यसरी गुरुङ संस्कृतिमा तेना कुर्सिले महत्वपूर्ण मान्यता राख्दछ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38