
पुरानो भाकाको गीतहरु रेकर्ड गर्ने इच्छाबहादुरको – इच्छा
रोशनी गुरुङ / मादी न्युज डटकम
सिक्लेस गाउँको बीच बाटो छिचोल्दै सभाचोकमा पुगेपछि आँखा अगाडी घरै घरले गुचमुच्च परेको अर्को एउटा ठुलो टोल देखिन्छ त्यो हो धप्राङथर ।

पातालो बस्ती भएको ठाउँमा हो भने त्यही एउटा टोललाई नै एउटा गाउँको संज्ञा दिन सकिन्छ तर सयांै घरधुरी भएको सिक्लेस गाउँमा यो त एउटा टोल मात्रै हो । सिक्लेसको मुटु मानिने सभा आँगनबाट छेलो हान्ने मैदानको बाटो हुँदै बर्खामा ठाडे खोलाको भेललाई तर्काउन बनाईएको सानो रयालीङ भएको पुल तरेपछि शुरु हुन्छ धप्राङथर ।
शुरुमै एउटा चौतारो त्यही छेउमा तलमाथि जानका लागि दुई तीन वटा बाटोहरु भएको चोक छेउैमा पानीको धारा र त्यही धारासँगै जोडिएको आँगन अनि चिटिक्क परेको घर इच्छाबहादुर गुरुङको घर हो ।

धप्राङथरतिर प्रवेश गर्नेहरु इच्छाबहादुरको घरलाई फेरो नमारि जान मिल्दैन त्यसकारण पनि बाटो माथि र बाटो मुनि ओहोर दोहोर गर्ने जो कोहिले पनि उहाँलाई साईनो अनुसार बोलाई रहन्छन् ।
विहान उठेदेखि हातमा केहि न केहि कामले उहाँलाई छोड्दैन घरमै राखेको सानो किराना पसल सामान किन्न आउनेहरुको भीड अनि थोरै बचेको समयमा घर बारीको काम इत्यादिले गर्दा उहाँले दिन काटेको पत्तै पाउनुहुन्न उहाँलाई यो सबै काम गर्न आफनी धर्मपत्नी बुद्धिमाया गुरुङले सघाउँदै आउनुभएको छ ।

वि.सं.२०१३ साल असोज ५ गते बाबा स्व.कृष्णलाल गुरुङ र आमा भावी गुरुङको कोखबाट जन्मिनु भएका इच्छाबहादुर गुरुङ राष्ट्रिय प्रकृति संरक्षणकोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा २६ वर्षसम्म जागिर गरेपछि अहिले उहाँ रिटार्यड जीवन बिताई रहनुभएको छ ।
जागिरको अधिकांश समय सिक्लेसमै बिताए पनि केहि समय भने उहाँले मनाङ, लोमान्थाङ, घान्द्रुक लगायतको ठाउँमा पनि बसेर सेवा गर्नुभयो ।
यो त भयो इच्छाबहादुरको सामान्य परिचय तर उहाँको परिचय त्यतिमा मात्रै पूर्ण छैन । सिक्लेस गाउँमा उहाँको नामसँगै जोडिएर आउने अर्को उपनाम हो इच्छाबहादुर गायक यानिकी सुमधुर स्वरका धनी इच्छाबहादुर ।
कर्णप्रिय स्वरका धनी उहाँ असाध्यै राम्रो गीत गाउनु हुन्छ । जसरी विहान उठेदेखि कुनै न कुनै कामले उहाँलाई छोड्दैन त्यसरी नै विहानदेखि बेलुकीसम्म उहाँको मुखमा पनि कुनै न कुनै गीत छुटदैन ।

युवा अवस्थामा गाउँमा रोधी बस्दा र ठटेर नाच्दा प्राय उहाँले नै गीत गाउने मादल बजाउने गर्नु हुन्थ्यो भने मार्मिक गीतहरु पनि रचना गरेर आफैले भाका मिलाएर गाउने खुबी थियो उहाँको । अहिले पनि ती भाका र शब्दहरु उहाँ जस्ताको तस्तै सुनाउनु हुन्छ । नारायण गोपाल र तारादेवि उहाँको मनपर्ने कलाकार हो ।
आफैले रचना गरेको गीतहरु भन्दा बाहेक कुनै कलाकारको रेकर्ड भएको गीतहरु गाउनु परयो भने उहाँ नारायण गोपालकै गीत गाउन बढी रुचाउनु हुन्छ । त्यो मध्ये पनि ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो बोलको गीत उहाँले सबै भन्दा बढी गुनगुनाउने गीत हो ।
यी बाहेक उहाँ आफैले रचना गरेको र संकलन गरेको तर मौखिक रुपमा मात्रै सिमित रहेको केहि गीतहरुको थोरै अंश यस्तो छ ।
मेरो रातो चुराले फुटी दियो रीसले
मैले माया गर्दैन रे भनी बस्यो उसैले
…………………………………………………
उसलाई सम्झी रातीमा निद मलाई लाग्दैन
भन्नलाई उसँग मन मेरो केहि पनि लाग्दैन
………………………………………………….
लेककी ठिटी बेंसीमा आई किन लायौ माया
लौभन ठम्मै नढाटी
…………………………………………………..
छेक छेक आई पुग्यो रेल…….
…………………………………………….
घामपानी लुकी छली किन लायौ टुन
मर्ने भयो जिवन मेरो तिम्रो माया विन
उहाँलाई यी गीतका भाकाहरु रेकर्ड गर्ने खुब इच्छा छ ।
उहाँ भन्नु हुन्छ जवानीमा जागिर भन्यो, घर व्यवहार भन्यो, गाउँको रंग रमाईलो भन्यो हिड्यो कहिलेपनि पनि यसरी यो गीतहरु पनि रेकर्ड गर्नुपर्छ भन्ने कुरा सोचिएन तर अहिले सोच्दा यो त एउटा इतिहास रहेछ । यसलाई मौखिक मात्रै होइन आवाजमै रेकर्ड गर्नुपर्ने रहेछ भन्ने महसुश हुन्छ ।
अर्को कुरा आजभोलि ति पुराना भाकाहरु सायदै बजारमा गाईन्छ यस्ता पुराना भाकाहरु सबै लोप भई सकेका छन त्यसैले पनि अहिलेको युवा पुस्तालाई पुरानो भाकाहरु सुनाएर भएपनि हाम्रो मौलिकता र प्राचीनता बारे केहि सिकाउने इच्छा छ उहाँले भन्नुभयो ।
उहाँसँग आफैले लेखेको र आफैले संकलन गरेको करिब एक दर्जन जति गीत पाण्डुलिपिकै अवस्थामा छन वा भनौ मौखिक रुपमा मात्रै सिमिति छन ति सबै गीतहरु कहीँ न कहीँ माया प्रेम झल्किने गाउँले जनजीवन सुहाउदो र तत्कालीन समय परिवेशलाई झल्काउने खालको रहेको छ ।

उ बेला त्यस्तो गीत रेकर्डको प्रचलन पनि थिएन आजभोलिको जस्तो सहज जमाना पनि थिएन त्यसैले पनि यस्ता गीतहरु रेकर्ड गरेर अरुलाई पनि सुनाउनु पर्छ भन्ने कहिले पनि सोचिएन आजभोलि पुछुतो लाग्छ त्यसैले अब बुढेसकालमा भएपनि यी मौलिक भाकाहरु रेकर्ड गर्न पाए हामीपछिका पुस्ताले हामीले बाँचेको युगको बारेमा गीत सुनेरै भए पनि थाहा पाउँथे होला जस्तो लाग्छ उहाँले अझै अगाडी भन्नुभयो ।

इच्छाबहादुर गुरुङले गीत लेख्ने र गाउने मात्रै होइन मादल र हारमोनियमा पनि राम्रोसँग बजाउनु हुन्छ । सिक्लेस गाउँमा बेलाबेला भई रहने साँस्कृतिक कार्यक्रममा उहाँले धेरै जसो मादल हारमोनियम बजाउने गर्नुहुन्छ । त्यसैले पनि उहाँ पुराना पाका पुस्तादेखि अहिलेको नयाँ युवा पुस्तामाझ पनि लोकप्रिय हुनुहुन्छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38