ताजा खबर

गुरुङ सम्पदा पदयात्राः यसरी जान सकिन्छ क्होला सोंथर

   ५ असार २०७६, बिहीबार १३:२८      1,093 views

मिलन तमू , युके

नेपालमा स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय बन्दै गएको होमस्टेको सुरुवात गुरुङ गाउँहरूबाट भएको हो । खासमा उनीहरूको संस्कृति र सभ्यतालाई हेर्नकै लागि धेरैले गुरुङ बस्तीहरू रोजे, त्यसमा प्राकृतिक सुन्दरता थियो नै । हो, त्यही गुरुङहरू समुदायको सभ्यता र संस्कृतिको विकास भएको ठाउँ क्होलसोंथर हो ।

यस पदयात्राका मुख्य आकर्षणहरू
– क्होल स्वाँप्रे ट्हो भनेर समेत चिनिने यो ठाउँ जाँदा बाटामा पर्ने घलेगाउँ, भुजुङ, पसगाउँ, सिक्लेस र ताङतिङ जस्ता गुरुङ बस्तीहरूको होमस्टेको स्वाद लिन । 
– गुरुङको सांस्कृतिक अवयवहरू घाटु, सोरठी, कृष्ण चरित्र, पच्यु, घ्याब्रेको नाच हेर्न । 
– पुरातात्विक महत्त्वको स्थानबारे जानकारी लिन । 
– मनोरम हिमश्रृंखला, हरिया पहाड, खर्कहरूमा फुलेको लालीगुराँस, वन्य जन्तु तथा चराचुरुङगीहरु तथा बाली झुल्दै गरेका बेँसीहरूको अवलोकन गर्न । 
– लेकाली गोठाला जीवनलाई आफैले अनुभूत गर्न ।

गएको साल तमु धिं, युकेले गुरुङहरूको यो अदिम् थलोमा जाने एउटा कार्यक्रम बनाएपछि मलाई पनि हुटहुटी जाग्यो । युकेको व्यस्त समयलाई केही दिन पन्छाएर पुग्ने चाह बढ्यो । पेसाले फोटो पत्रकार भएकाले यात्रामा फोटो खिच्न पाइने सोचले रोमाञ्चित बनायो ।

यस पटक आफ्नै गाउँठाउँमा पर्यटकको रूपमा जाने निधो गरियो । २८ जनाको टोलीमा मिसिइयो । क्होलसोंथर लमजुङको घलेगाउँ–भुजुङ, घनपोखरा, पसगाउँ हुँदै जान सकिन्छ भने कास्कीबाट सिक्लेस, ताङतिङ् र याङ्जाकोट भएर पनि जान सकिन्छ । यस पटक लमजुङबाट गएर कास्कीबाट फर्कने योजना बनायौँ ।

पहिलो दिन 
काठमाडौँबाट हामी पहिलो दिन लमजुङको घलेगाउँ पुग्यौँ । काठमाडौँबाट करिब ६ घण्टाको बस यात्रामा लमजुङको सदरमुकाम बेंशीसहर पुगिन्छ । त्यहाँ खाजा खाएर केही समय अवलोकन गर्दा पनि हुन्छ । त्यसपछि करिब डेढ घण्टाको उकालो जिपमा उक्लिएपछि चर्चित होमस्टे घलेगाउँ पुगिन्छ ।

त्यसैको छ दिने यात्रा विवरण जो सुकै पर्यटकको रूपमा जान चाहनेलाई सजिलो होस् भनेर यहाँ दिएको छु ।

घलेगाउँको होमस्टेमा फुलमाला पहिर्‍याएर स्वागत गरे, खाजा खुवाए । हामीले साँझको सूर्यास्तदेखि वरिपरि झन्डै ३६० डिग्रीको हिमालय रेञ्जको अवलोकन गर्‍यौँ । घलेगाउँमा प्राकृतिक रूपमा मनोरम मात्र छैन, त्यहाँ देखाइने गुरुङ संस्कार र संस्कृतिले जो कोहीलाई पनि लाभ्याउँछ ।

घाटु, स्वरठी, कृष्ण चरित्र जस्ता मौलिक नाचहरू हेरेपछि हामी मिठो निन्द्रमा पर्यौं । भोलि बिहानै हामीले त्यहाँ भ्यूटावर, घले राजाको सालिक तथा फुटबल मैदानको अवलोकन गर्‍यौँ ।

दोस्रो दिन 
दोस्रो दिन बिहानको नास्तापछि भुजुङतिर लाग्यौँ । भुजुङ जानका लागि नायुको डाँडै डाँडा जानु पर्छ । नेपाली मूलका अस्ट्रेलियाका अर्बपति शेष घले जन्मेको र हुर्केको यही नायुमा हो । त्यही डाँडाको शिरमा घनपोखरा पर्छ । तर, हामी घनपोखरातिर लागेनौँ, भुजुङ जानु छ । भुजुङ गुरुङहरूको घना बस्ती हो । झन्डै ५ सय घर झुपुक्क रहेको भुजुङको सरसफाइ तथा रहनसहन उदाहरणीय छ ।

हामीले भुजुङमा दिउँसोको खाना खायौँ । स्थानीय खानाको स्वादै वेग्लैछ । पहिला हिँडेर जानु पर्थ्यो, अहिले भुजुङसम्मै जिप जान्छ । भुजुङमा पनि हाम्रो सम्मानमा सांस्कृतिक कार्यक्रमहरू देखाइए । भुजुङबाट तल मिदिम खोला झरेर फेरी माथि खर्कतिर चढ्दाको आनन्द बेग्लै छ । खर्कहरूमा पुग्ने बेला लाली गुराँस रातो मात्र होइन, रङ्गीबिरङ्गीका देखा पर्छन् । मनोरम हिमश्रृंखलाको दृश्यहरू हेर्दै लेकाली पाखो, खर्क र डाँडाहरू चढ्नु कम्ता रमाइलो थिएन । त्यो दिन हामीले समिरो कुनामा बास बस्ने निधो गर्‍यौँ ।

तेस्रो दिन
आजको दिन खास दिन हो । हामीले आज ३३०० मिटर अग्लो पहाड चढ्नु छ । पहाडी क्षेत्रमा हिँड्दा हुने मज्जा त छँदै छ, अझ जति उचाइमा गयो हिमश्रृंखलाहरु त्यति नै नाकैमा ठोक्किन आइपुग्छन् । आजको बास हाम्रो नासी खर्कमा हुनेछ । यहाँ पुग्न काब्रो पहाडबाट केही तल झर्नु पर्छ । यो खर्क बर्खाको बेला बस्तुभाउ पुर्‍याउने ठाउँ हो । गोठ भएको बेला जाने हो भने गोठमै पनि बस्न मिल्छ । तर, हामी ठुलै समूहमा भएकाले टेन्टहरू लगेका थियौँ । त्यही गाड्यौँ र बस्यौँ । अर्को विशेषता भनेको यस क्षेत्रमा रङ्गीबिरङ्गी गुराँस फुल्छन् । नेपालको राष्ट्रिय फुलको दर्जा पाएको यो लाली गुराँस साँचिनै मन मोहक छ ।

चौथौँ दिन
आज क्होलसोंथर पुग्ने दिन हो । बिहानै देखि हाम्रो समूहका सदस्यहरूमा उमङ्ग छ । आफ्नो पुर्खाले आवध गरेको भूमिमा पुग्न को लालयित नहोला र? अझ क्याम्रिज विश्वविद्यालयले गरेको अध्ययनले यसको ऐतिहासिकता र पुरातात्विक महत्त्वलाई उजागर गरेको छ ।

नासी खर्कबाट क्होल पुग्न केही घण्टा ठाडै उकालो चढ्नु पर्छ । तर, गन्तव्यमा पुग्ने हुटहुटीमा यसको पर्बाह हुँदैन । हामी दिउँसोतिर क्होल पुग्यौँ । क्होलमा देखिएका भग्नावशेषहरूले साँच्ची नै गुरुङको सभ्यताको विकास यहाँ भएको हो भन्ने कुरामा मलाई विश्वास लाग्यो । म कुनै पुरातत्वविद् वा इतिहासकार होइन तर पनि मैले त्यहाँ जे देखेँ, ती सबै कुराको विकसित रूपमा नै हाम्रा बाबा आमाहरूले गाउँमा चलाएका र मेरो गाउँठाउँमा अझै चलन चल्तीमा रहेका चिजबिजहरू हुन् । चौथौँ दिन हामीले हाम्रो डेराडण्ड त्यही जमायौँ । पुर्खाले बसोबास गरेको ठाउँमा बस्न पाउनुलाई हामीले सौभाग्य नै सम्झ्यौँ ।

पाँचौँ दिन 
पाँचौँ दिन क्होलसोंथरबाट फर्कने दिन । हामीले जाँदा लमजुङबाट गएका थियौँ । फर्कँदा कास्कीबाट फर्कने विचार गर्‍यौँ । मुलुककै पहिलो होमस्टे सिक्लेसका लागि हामी हिड्यौं । तर, बाटो निक्कै जोखिमपूर्ण र अप्ठ्यारा रहेछन् ।

सिधै मद्क्यू खोला झर्यौं । मद्क्यु खोलाबाट फेरी सिक्लेस गाउँ चढ्नु छ । थाकेर चुर भइसकेका छौँ । यद्यपि सिक्लेस पुगेर थकाई मार्ने धोको छ । यहाँ पनि साँझ नाच गान र खानपान हुने नै भयो । रमाइलोमा समय बितेकै थाहै भएन ।

छैटौँ दिन
हामी हाम्रै कार्यक्रमहरूमा संलग्न भए पनि यात्रुहरूका लागि सिक्लेसबाट छैटौँ दिनको बिहान त्यस क्षेत्रको मनोरम दृश्यहरूको फोटो लिएपछि अर्को गुरुङ गाउँ ताङतिङ जाने की पोखरा आउने भन्ने विकल्प रहन्छ । थप एक दिनको समय छ भने ताङतिङ जान सकिन्छ । होइन, भने पोखराका लागि कच्ची रोडमा जिपमा आउन सकिन्छ ।

यसरी एउटा एतिहासिक तथा प्राकृतिक यात्राको मज्जा लिन सकिन्छ । कम चल्तीको बाटो भएकोले यात्रामा थप रोमाञ्चकता पाइन्छ । तर, तयारी भने गरेर जानु पर्ने हुन्छ । विशेष गरेर गुरुङ संस्कृति र सभ्यतालाई बुझ्न चाहने र पहाडी तथा हिमाली मनोरम दृश्यहरूको अवलोकन गर्न रमाउने यात्रुहरूको लागि क्होलसोंथर यात्रा रोमाञ्चक मात्र होइन, फलदायी पनि छ ।

के छ क्होलमा ?
क्होलसोंथर विशेष गरेर तीन वटा बस्ती मिलेर बनेको छ । त्यसैले गुरुङहरूले त्यसलाई क्होल साँप्रे ट्हो पनि भन्ने गरेको हो । गुरुङ भासमा सोंको अर्थ तीन र ट्होको अर्थ बस्ती भन्ने हुन्छ ।

त्यहाँको मूल बस्ती ठुलो छ । त्यहाँको सबैभन्दा ठुलो घरको भग्नावशेषलाई राजाको छोंज धिं भनिन्छ । गुरुङ भाषामा छोंज भनेको सभा हो र धिं भनेको घर हो । त्यसैले त्यही राजाको सभा हल रहेको विश्वास गरिन्छ । अलिकति पूर्वतर्फ पनि ठुलै बस्ती छ । पश्चिमपट्टिको बस्ती भने अलि सानो छ । त्यही पश्चिमको सानो बस्तीमा घले राजाको दरबार रहेको बताइन्छ । तीनै वटा बस्तीका भग्नावशेषहरू प्रशस्तै रहेका छन् । त्यहीबाट घरको बनावट, आकार प्रकारहरू थाहा पाउन सकिन्छ ।

पच्यु गुरु तथा अनुसन्धानकर्ता क्यारजंग गुरुङका अनुसार क्याम्ब्रिज विश्वविद्यालयले गरेको एक अध्ययनले त्यो बस्तीमा १२ सय वर्षअघिसम्म मानबबस्ती रहेको देखाएको छ ।

घरका भित्ताहरूमा तफुँ (तीन कुना हुने गरी ढुङ्गाले बनाएको दुलो) लाई झ्यालको रूपमा प्रयोग गरिएको पाइन्छ । त्यो अझै सग्लो देखिन्छ भने कतै त्यसलाई कलात्मक रूपमा कुँदिएको छ । त्यहाँ ढिकीको ओखल छ । तीन वटा पानी घट्टको अवशेष छ । एउटा ढुङ्गाको खाँवो छ । त्यसलाई कसैले राजाको घोडा बाँध्ने किलो भनेका छन् भने कसैले मौलो पनि भनेका छन् ।

बस्तीको माथिपट्टि एउटा ठुलो ढुङ्गा छ । त्यसलाई तीन वटा ओदानको खुट्टा जस्तो ढुङ्गाले अड्याएको छ । प्रा. डा. जगमान गुरुङले त्यसलाई जोखना हेर्ने ढुङ्गा भनेका छन् । कसैले यसलाई युद्ध कला अभ्यास गर्ने थलो भनेका छन् । यो ठाउँ ३५ सय मिटरको उचाइमा छ । करिब ३८ सय मिटरको उचाइमा च्योम्स्यो ङारा भन्ने डाँडा छ । त्यहाँ ठुलो ओडार छ । ओडारलाई ढुङ्गाको गाह्रो लगाएर बस्न लायक बनाइएको छ । च्याम्स्यो भनेको गुरुङ भाषामा झुमा हो । त्यो झुमाहरू बस्ने गुफा हो भन्ने विश्वास गरिएको छ ।

केही पर ठुलो चौर छ । त्यसलाई घले राजाको घोडा दौडाउने चौरको रूपमा चिनिन्छ । यो चौरमा हेलिकप्टर समेत बस्न सकिन्छ । यही घनपोखरा, नायु, घलेगाउँ आदिको गोठ लगिन्छ । मूल बस्तीबाट च्याम्स्यो डाँडा पुग्नलाई दुई घण्टा र राजाको घोडा दौडाउने चौर पुग्नको लागि एक घण्टा हिँड्नु पर्ने हुन्छ ।

अर्को एउटा छुटाउनै नहुने चिज भनेको पानी घट्ट चलाउनका लागि पानी ल्याउन बनाएको नहर पनि हो । करिब १५/२० मिनेटको दुरीबाट नहर बनाएर पानी ल्याएको देखिन्छ । बस्तीमा खानालाई पुग्ने मूलको पानी भए पनि घट्ट चलाउन पुग्ने गरी छैन । यी सबै कुराहरूको अवलोकनले गुरुङ समुदाय त्यो ठाउँमै आधुनिक सभ्यताको विकास भएको देखिन्छ ।

कसरी गुरुङहरू आए त्यहाँ? 
अनुसन्धानकर्ता एकिन्द्र गुरुङका अनुसार यस सन्दर्भमा एउटा किंबान्दतीलाई छ । त्यस बेला गुरुङहरू तिब्बतबाट बसाई सर्दै आएर मनाङको कुनै क्होल भन्ने ठाउँमा बस्थे । तिनै मध्येका दुई जवानहरू थारको पिछा गर्दै नागिम् भञ्ज्याङ कटेर आएछन् । उनीहरूले थारलाई बाण हानेर घाइते बनाएका थिए । पिछा गर्दै आउँदा अहिलेको क्होलसोंथरमा उनीहरूले त्यसलाई भेट्टाए । उनीहरूको बाणको टोक्रोमा उवा थियो । त्यो उवा उनीहरूले त्यहाँ छरेर गए । अर्को पटक सिकारको क्रममा आउँदा त्यहाँ उवा लहलह झुली रहेको थियो । उनीहरूले त्यही खबर गाउँमा लगे र बस्न योग्य ठाउँ भनेर बसाई सरे । (हाइलाइटस टुरिजम डकमबाट साभार)

उस्तै खबर

0 टिप्पणी

avatar
  Subscribe  
Notify of


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
%d bloggers like this: