ताजा खबर

स्व.युक्त गुरुङको संक्षिप्त जिवनी जन्मदेखि मृत्युसम्म

   ७ असार २०७६, शनिबार १७:३१      5,903 views
कृष्ण गुरुङ, लेखक तथा गायक

जन्म
गण्डकी अञ्चल लमजुङ जिल्ला अर्चलबोट गाविस वडा नं.– ३, सल्लाबोट (थोंगो नास)मा वि.सं. २०११ साल पुस १७ गते (त ल्हो) घोडा वर्गमा बाबा दीर्घसिंह गुरुङ (गोठे लप्टन) तथा माता इन्द्रकुमारी गुरुङको कोखबाट पाँच जना छोरीहरूपछि एक मात्र छोराको रूपमा युक्त गुरुङको जन्म भएको हो । उहाँको ठूली दिदी १८ वर्षकै उमेरमा बित्नुभएको थियो । गुरुङ समुदायमा जन्मेको छ दिनमा छैंठी नाच्न गाउँका आमा, दिदी–बहिनी घरमा भेला हुने चलन छ । उहाँको पनि छैंठी नाच्ने तयारी हुँदै थियो । त्यहीबेला काहिँली दिदीको क्षयरोगका कारण निधन भयो । जेठी छोरी र काहिँली छोरी कलिलै उमेरमा बितेपछि पीरले गर्दा इन्द्रकुमारी पनि रोगाउँदै जानुभयो । अन्ततः छोरीहरूको पीरकै कारण युक्त गुरुङलाई ६–७ वर्षकै उमेरमा टुहरो बनाएर आमाले पनि परलोकको यात्रा गर्नुभयो ।

युक्त गुरुङको जन्म हुँदा बाबा दीर्घसिंह गुरुङ पेन्सन आइसक्नुभएको थियो । श्रीमती बाँच्ने आश मारेपछि दीर्घसिंह गुरुङले डोलमाया गुरुङलाई कान्छी श्रीमतीको रूपमा घर भित्रयाउनुभयो । कान्छी श्रीमतीबाट पनि एउटी छोरीको जन्म भयो । यसरी जेठी र कान्छी श्रीमतीबाट छ जना छोरीहरूमा युक्त गुरुङ एक मात्र छोराको रूपमा जन्मिनुभएको हो । हाल युक्त दाइको साहिँली दिदी र कान्छी बहिनीबाहेक उहाँलाई जन्म दिने बाबा–आमालगायत सबै दिदी प्नि बितिसक्नुभएको छ । कान्छी आमा डोलमाया गुरुङ (९९ वर्ष भइसक्नु भएको छ) भने अझै जीवितै हुनुहुन्छ ।

वाल्यवस्था
धेरै छोरीपछि जन्मिएको छोरा भएको हुनाले युक्त गुरुङ बाबा–आमा अनि दिदी–बहिनी सबैको अति नै प्यारो हुनु स्वभाविकै थियो । बाबा–आमा तथा माहिली दिदी काममा जाने भएपछि साहिँली दिदी, उहाँ र कान्छी बहिनीको हेरचाहमा घरमै बस्नुहुन्थ्यो । भाइ–बहिनीको हेरचाह र दिउँसोको खाजापानी साहिँली दिदी पीपलमाया गुरुङले गर्नुहुन्थ्यो । साहिँली दिदीको अनुसार युक्त गुरुङ सानैदेखि गाउन र नाच्न भनेपछि हुरुक्कै हुनुहुन्थ्यो ।

उहाँ सानो छँदा साहिँली दिदीलाई मादल बनाइदिनु न भनेर धेरै कर गर्नुहुन्थ्यो । अनि साहिँली दिदीले केराको बोट काटेर बीचको गुबा निकालेर मादलजस्तो बनाइ केराकै सुकेको बोक्राको डोरीले मादलको तनी जस्तो बनाएर कम्मरमा भिराइदिनुहुन्थ्यो । त्यसपछि युक्त गुरुङ त्यही केराको मादल बजाएर गाउँदै नाच्ने गर्नुहुन्थ्यो । कहिले त कित्लीको बिर्को र थोत्रो सिलाबरको कचौराको मुजुरा (झ्याली) बनाएर त्यही झ्याली बजाउँदै पनि गीत गाएर नाच्नुहुन्थ्यो । यसरी उहाँले सानो छँदै गीत गाएर र नाचेर सबैलाई चकित पार्नुहुन्थ्योे । पछि उनै युक्त गुरुङ देशको वरिष्ठ कलाकार अनि रेडियो नेपालको आठौं तहको अफिसरसमेत हुनुभयो । उहाँले दिदी–बहिनीको धेरै माया पाउनुभएको भए पनि जन्म दिने आमाबाट मातृ ममता पाउनबाट भने वञ्चित हुनुभएको थियो ।

छ जना छोरीहरूमा एउटै मात्र रा भएकाले युक्त गुरुङ सबैको प्यारो हुनुहुन्थ्यो । अर्कोतिर ब्रिटिस गोर्खाको लप्टनको छोरा (गाउँघरमा युक्त गुरुङको बाबा दीर्घसिंहलाई गोठे लप्टन भनेर चिनिन्थ्यो), हुनेखाने परिवारमा जन्मनुभएको, त्यसैले घरमा सबै कुराको व्यवस्था त हुने नै भयो । प्रायः हुनेखानेको घरमा दुहुनो भैंसी पाल्ने चलन थियो । उहाँको घरमा पनि दुहुनो भैंसी टुट्थेन । एउटै छोरा भएकाले उहाँले प्रशस्तै दूध, घ्यू खाने मौका पाउनुभयो । उहाँलाई खारेको भन्दा पनि नौनी घ्यू बढी मन पथ्र्यो । सानोमा बढी चिल्लो खाएकै कारण होला उहाँलाई ग्याष्ट्रिक र दम रोगले सताएको थियो ।

गाउँघरमा त्यतिखेर अस्पताल र डाक्टर हुने कुरै भएन । भीरकुना भन्ने गाउँको झाँक्रीसँग झारफुक गराएर दमको रोग निको पार्ने प्रयास गरिएको थियो । दमको रोग झारफुकले निको हुने त कुरा भएन । उहाँ त्यस्तै १०–११ वर्षको हुनुहुन्थ्यो । बिरामी भइरहने भएपछि उहाँलाई माहिली दिदीले (भेना ब्रिटिस गोर्खा) बु्रनाई लानुभयो । र, त्यहाँ उहाँको पानागा अस्पतालमा मेजर अप्रेसन नै भएको थियो । उपचारपछि पनि निकै वर्ष उहाँ दिदी–भेनासँगै बस्नुभयो । त्यसैले उहाँको त्योबेलासम्मको शिक्षा पनि उतै भयो । २०२६–२७ सालतिर नेपाल फर्कनुभएपछि पनि उहाँ माहिली दिदी–भेनासँगै चितवनमा बस्न थाल्नु भयो । छोरा चितवनमा बस्न थालेपछि युक्त गुरुङको बाबा, कान्छी आमा र कान्छी बहिनी २०३० सालतिर चितवनमै बसाइँ सर्नुभएको हो ।

पारिवारिक विवरण
बाबा लप्टन दीर्घसिंह गुरुङ (गोठे लप्टन), आमा इन्द्रकुमारी गुरुङ, कान्छी आमा डोलमाया गुरुङ, पाँच जना दिदी र एउटी बहिनी । जेठी र काहिँली दिदी पहिले नै बित्नुभएको । माहिली दिदी भुम्लिचोक (प्होंजो नास)मा ब्रिटिस गोर्खासँग,साहिँली दिदीको भार्ते गाविस– ७, ढिनगाउँका भारतीय गोर्खासँग, काशी दिदीकोे गोरखा बुद्धसिं (पछि चितवन झरेको) कृषक र कान्छी बहिनीको चितवनमा (होटेल व्यावसाय साथै व्यापार गर्ने)सँग विवाह भएको थियो । अहिले उहाँको कान्छी आमा डोलमाया गुरुङ (९९ वर्ष), साहिँली दिदी र कान्छी बहिनी बाहेक सबै बितिसक्नुभएको छ । उहाँको श्रीमती रिसन गुरुङसहित दुई जना छोरा शासन र विभुषण पनि चितवन शारदानगरमै बस्नु हुन्छ ।

रिसन भाउजूको माइती पहिले भुम्लिचोक लमजुङ नै हो । उहाँहरू अलि पछि नै चितवन बसाइँ सर्नुभएको हो । हाल उहाँले शारदा नगरमै घर बनाउनु भएको छ । कान्छी सासू (डोलमाया गुरुङ ९९ वर्ष) लाई रिसन भाउजूले नै स्याहार–सुसार गर्दै हुनुहुन्छ । किनकी कान्छी सासू मधुमेहको विरामी अनि हिँडडुल गर्न नसक्ने अवस्थामा हुनुहुन्छ । कान्छा छोरा विभुषणको विवाह भइसकेको छ । ठूलो छोरा शासनको भने बिहे हुन बाँकी छ । कान्छी बुहारीको हङकङ आईडी भएका कारण हङकङमै बस्ने गर्छिन् । ठूलो छोरा शासन ग्लोबल आइएमई बैंकमा कार्यरत छ । ठूलो छोरा शासनले हालै माष्टर्स डिग्री गरिसकेका छन् भने कान्छा छोरा विभुषणले पनि प्लस टु गरिसकेको छ । उहाँको चार दिदी–बहिनीका गरी १८ जना भाञ्जाभाञ्जी छन् ।

स्वास्थ्य
साहिँली दिदीको भनाइ अनुसार चिल्लो गढेकै कारण युक्त गुरुङलाई सानैमा सास बढेर स्याँ–स्याँ हुने दमको रोग लागेको हो । एकचोटी सानैमा खेल्ने क्रममा परालको टौवाबाट लडेर भैंसी बाँध्ने किल्लामा उहाँको छाती बजारिएको थियो । त्यसले पनि उहँको स्वास्थ्यमा निकै असर पारेको भनेर उहँले नै मलाई भन्नुभएको थियो । उहाँको बु्रनाईको पानागा अस्पतालमा मेजर अप्रेसन हुँदा देब्रेपट्टिको छातीको अगाडि भागबाट पछाडि ढाडको भागसम्म पुरै काटेर देब्रेपट्टिको एउटा करङ नै फालिएको थियो ।

त्यसैले उहाँ हिँड्दा देब्रेपट्टिको काँध केही झुकाएर हिँड्ने गर्नुहुन्थ्यो ।
सानोमा अप्रेसनपछि शारीरिक अभ्यास (फिजियोथेरापी) गर्नुपर्छ भन्दा उहाँ डराएर सिलाएको घाउ फेरि च्यातिने डरले देब्रेपट्टिको भाग झुकाएर हिँड्ने गर्नुहुन्थयो । हुँदाहुँदा पछि त्यो नै बानीको रूपमा रहन गएको थियो । एकचोटि उहाँ कुपण्डोलमा बस्नुहुँदा मुखबाट रगत आउने गरी बिरामी पर्नुभयो । डा. दीर्घसिंह बमसँग त्रिपुरेश्वरमा गएर औषधि उपचार गरेपछि उहाँ निको हुनुभएको थियो । उहाँले छाती सम्बन्धी रोग भएकै कारण डा. दीर्घसिंह बमसँग स्वास्थ्य जाँच गराउने र उहाँकै निर्देशनमा औषधि प्रयोग गर्ने गर्नुहुन्थ्यो । डा. बम छाती सम्बन्धी विशेषज्ञ हुनुहुन्छ ।


शिक्षा
युक्त गुरुङले आफ्नो प्राथमिक शिक्षा ओखारी डाँडाको श्री गौंडा निमावि (हाल मावि) स्कुलबाट सुरु गर्नुभएको थियो । ओखारी गाउँ सल्लाबोट गाउँबाट पश्चिमपट्टिको डाँडामा पर्छ । उहाँ सानैबाट अलि रोगी मान्छे । स्कुल पढ्दापढ्दै उहाँको बिमार बढ्दै गयो । उहाँको बिमार गाउँघरमा ठीक नहुने देखेपछि माहिली दिदी–भेनासँग ब्रुनाई जानुभयो । ब्रुनाईमा अप्रेसनपछि उहाँ केही वर्ष दिदी–भेनासँग उतै बस्नु भयो । र, ब्रुनाईमै पढ्न थाल्नुभयो । उहाँले केही वर्ष सिंगापुरमा पनि पढ्नु भएको थियो । चार–पाँच वर्ष ब्रुनाई र सिंगापुरमा पढ्नु भएकाले उहाँको अंग्रेजी राम्रो थियो ।

केही वर्ष ब्रुनाई र सिंगापुरको अध्ययनपछि युक्त गुरुङ २०२७ सानतिर नेपाल फर्किनुभयो । नेपाल फर्किनुभएपछि उहाँ चितवन शारदानगरस्थित श्री शारदा बहुउद्देश्यीय विद्यालयमा आठौं कक्षामा भर्ना भएर अध्ययन सुरु गर्नुभयो । त्यही विद्यालयबाट २०३० सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । एसएलसीको नतिजा नआउँदै उहाँ काठमाडौं आइसक्नु भएको थियो । एसएलसी पास भएपछि उहाँले पाटन संयुक्त क्याम्पसमा भर्ना भएर उच्च शिक्षा अध्ययन गर्न थाल्नुभयो । त्यही क्याम्पसबाट उहाँले प्रमाण–पत्र तह साथै भूगोल मेजर विषय लिएर डिप्लोमा (स्नातक) गर्नुभएको थियो ।


सेवा (जागिर)
वि.सं. २०३० सालमा एसएलसीको जाँच दिएपछि काठमाडौं प्रवेश गर्नुभएका युक्त गुरुङले रेडियो नेपालमा कसरी प्रवेश गर्न सकिन्छ भन्ने योजना र सपना बनाउन थाल्नुभयो । सानैबाट गाउने बजाउने रहर भएको मान्छेले जाने ठाउँ नै रेडियो नेपाल थियो । उहाँको भनाइअनुसार उहाँ २०३२ सालमा रेडियो नेपालमा प्रवेश गर्नुभएको हो । उहाँले ब्रुनाई, सिंगापुरमा अध्ययन गर्ने क्रममै गितार बजाउन सिक्नु भएको थियो । गितारसँगै उहाँ मादल, हार्मोनियम, कि–बोर्ड पनि राम्रो बजाउनुहुन्थ्यो । गीत यसै पनि राम्रो गाउनुहुन्थ्यो ।

उहाँ लोक गीत, गुरुङ गीतको संकलन साथै आधुनिक गीतमा संगीत (कम्पोज) गर्नुहुन्थ्यो । उहाँले सुरुमा रेडियो नेपालमा गीतहरूको टेकमा वाद्यवादन बजाउने काम गर्नुभयो । २०३६ सालमा स्वर परीक्षा पास गरेपछि लोक गीत, गुरुङ गीत गाउन थाल्नुभयो । उहाँले पहिलोपटक २०३६ सालमा ‘आशामारा चुरोट थुंबरी खोसे ङोलस्यो’ बोलको गुरुङ भाषाको गीत रेडियो नेपालमा रेकर्ड गराउनुभयो । अत्यन्तै लोकप्रिय यही गीतका कारण उहाँलाई गुरुङ भाषाको गीतको पहिलो गायक मानिन्छ । उहाँका केही आधुनिक गीत किरण कपाली, विज्ञान श्रेष्ठले रेडियो नेपालमा रेकर्ड गराएका छन् ।


खुबी हुनेले अहिले पनि एकभन्दा बढी ठाउँमा काम गरिरहेका हुन्छन् । त्योबेला पनि खुबी हुने कलाकारले दुई–तीन ठाउँमा जागिर गरेका हुन्थे । उहाँले पनि रेडियो नेपालसँगै कान्ति ईश्वरी शिशु विद्यालयमा काम गर्नुहुन्थ्यो । कान्ति ईश्वरीमा तत्कालीन अधिराजकुमार निराजन शाह पनि अध्ययन गर्नु हुन्थ्यो । दाइले ज्ञानोदयमा पनि धेरै वर्ष म्युजिक टिचर भएर काम गर्नु भयो । उहाँले विभिन्न कल्चर गु्रपमा पनि काम गर्नुभएको थियो । उहाँले सुरुमा एभरेष्ट कल्चर सोसाइटी (अन्नपूर्ण होटेल)मा गायक, वाद्यवादक तथा नृत्य कलाकार भएर काम गर्नुभएको थियो । पछि सोल्टी होटलमा न्यू हिमालचुली कल्चर ग्रुपमा संगीत निर्देशकको रूपमा कार्य गर्नुभयो । सोल्टीमा उहाँले निकै लामो समय काम गर्नुभयो ।

२०३७ सालमा उहाँसँग परिचय भएपछि २०३९ सालबाट मैले पनि करिब दुई वर्षसम्म सोल्टीमा बाँसुरी वादकको रूपमा काम गरेँ । २०४० सालबाट करारमा रेडियो नेपालमा टेक बेसिसमा काम गर्नुभएका उहाँ २०५० सालमा मात्र स्थायी बन्नुभयो । स्थायी कर्मचारी बन्नुभएपछि उहाँ रेडियो नेपालको अठौं तहको अधिकृतसम्म बन्नुभयो । त्यस्तै विभिन्न शाखाको प्रमुख हुँदै उहाँ पछिल्लो समयमा लाइब्रेरी शाखाको प्रमुख हुनुभएको थियो । लाइब्रेरी शाखाको प्रमुख रहेकै बेला उहाँको २०६४ मंसिर १ गते मोटरसाइकल दुर्घटनामा निधन भएको हो ।


विवाह
युक्त गुरुङको विवाहको बारेमा पनि रमाइलो कथा छ । २०३८ सालतिरबाट सोल्टी होटेलको न्यू हिमालचुली कल्चर ग्रुपमा उहाँसँगै काम गर्दा मात्र होइन प्रायः म उहाँसँगै हुन्थेँ । उहाँको सबैसँग हाँसखेल र ठट्टा गर्ने बानी थियो । तर उहाँको कुनै केटीसँग माया–प्रेम भएको मैले थाहा पाएको थिइन । उहाँ र म कहिलेकाहीँ दुःखसुखका कुरा गरेर रातै पनि काट्थ्यौं । तर उहाँले कहिले पनि कुनै केटीलाई मन पराएको कुरा गर्नु भएन । कहिलेकाहीँ चाहिँ उहाँ भन्नुहुन्थ्यो, ‘अब बूढो हुन लाग्यो बिहे गर्नुपर्ला ।’

२०४० सालको पुस महिनाकै कुरा हो । गते चाहिँ भुलेँ । उहाँले अचानक मलाई भन्नुभयो, ‘भाइ, सोल्टीमा दुई–तीन दिन कार्यक्रम तिमीले नै चलाउनू है । म चितवन जान्छु ।’ एकछिन त म अलमलमा परेँ । किन र दाइ भनेर मैले सोधेँ । अनि उहाँले मलाई संकेत दिनुभयो, ‘म बिहे गर्न जाँदैछु ।’ मलाई खुशी पनि लाग्यो । अनि मैले हुन्छ दाइ भनेँ । तर मलाई दाइले बिहे गर्न लागेको मात्र भन्नुभएको थियो । भाउजू को हो, कताको हो केही छनक दिनुभएको थिएन । तीन दिनपछि उहाँ काठमाडौं आइपुग्नु भयो । बेलुकी सोल्टीमै भेट भएपछि मैले सोधेँ, ‘खै, भाउजू ल्याउनु भयो त ?’ उहँले ल्याएँ भन्नुभयो ।

मैले सोचेँ दाइले भाउजूलाई भोटेबहालको कोठामै राख्नुभयो होला । तर उहाँले भाउजूलाई दाइहरू खोज्न आउँछन् भनेर कमल पोखरीमा धनमान गुरुङ दाइको कोठामा लुकाएर राख्नुभएको रहेछ । बेलुकी हामी सोल्टीको कार्यक्रम सकाएर कमल पोखरी पुग्यौँ । दाइले मलाई भाउजूसँग परिचय गराउनुभयो । भाउजूलाई कमल पोखरीतिरै लुकाएर राखेको केही दिनपछि मात्र उहाँले आफ्नो कोठा भोटेबहालमा ल्याउनुभयो । भाउजूलाई खोज्दै उहाँका दाइहरू काठमाडौं आएको र केही दिनसम्म पनि नभेटेपछि चितवन फर्केको कुरा मलाई दाइले केही दिनपछि सुनाउनुभएको थियो ।


उहाँहरूलाई २०४३ सालमा पहिलो सन्तान लाभ भयो । शासन दुई वर्षको भएपछि २०४५ सालमा कान्छा छोरा विभुषण पनि जन्मिए । भोटेबहालको कोठा केही साँघुरो महसुस भएपछि उहाँ कुपण्डोलमा कोठा सर्नुभयो । कुपण्डोलमा लामो समय बस्नुभएका उहाँले बाबुहरूलाई शिक्षा–दीक्षा पनि त्यहीँ दिलाउनुभयो । रेडियो नेपालको जागिर स्थायी पनि कुपण्डोल सरेपछि नै भएको हो । पछि उहाँ आठौं तहको अधिकृतसम्म हुनु भयो । र, त्यहीँ कुपण्डोलमै रहँदा २०६४ साल मंसिर १ गते उहाँ सहपाठी साथीहरूसँग धुलिखेलमा वनभोज खाएर फर्किने क्रममा नयाँ बानेश्वरमा मोटरसाइकल दुर्घटनामा पर्नुभयो । र, हामीले उहाँलाई गुमायौँ ।


युक्त गुरुङको सुसुराली नाता पनि बडो रमाइलो छ । युक्त दाइको कान्छी बहिनी रिसन भाउजूको भाउजू, रिसन भाउजू युक्त दाइको कान्छी बाहिनीको भाउजू । यसरी दोहोरो साइनो हुँदा युक्त दाइ घरमा जेठान अनि ससुराली जाँदा ज्वाइँ । रिसन भाउजू घरमा भाउजू माइतमा नन्द । यस्तो रमाइलो साइनो थियो युक्त दाइ र भाउजूको घर माइतीमा ।


तर युक्त दाइले भन्दा रिसन भाउजूको दाइले युक्त दाइको कान्छी बहिनीलाई पहिले विवाह गर्नुभएको थियो । संयोग भनौं या लेखान्त । रिसन भाउजूको दाइले युक्त दाइको बहिनी बिहे गर्दा आफ्नो जन्म महिना मंसिरमा गर्नुभएको रहेछ र युक्त दाइले पनि आफ्नो जन्म महिना पुसमै बिहे गर्नुभएको थियो । हाम्रो समुदायमा आफ्नो जन्म महिनामा बिहे गर्नु हुँदैन भन्ने चलन छ । घरमा थाहा नै नदिई र हेरविचार नै नगरी आफ्नो जन्म महिनामा विवाह गरेकाले भाउजूको बाबाले छोरालाई घरमा पस्नै नदिई गाली गर्नुभएको थियो । ज्वाइँ–जेठान दुवै जनाको मोटरसाइकल दुर्घटनामा परेर अल्पायुमै देहावसान भयो ।

हाम्रो समुदायमा अर्को सामाजिक अवधारणा पनि छ । छोरी–बुहारी साटासाट गर्नु हुँदैन । युक्त दाइको परिवार र रिसन भाउजूको परिवारमा यस्तै साइनो जोडिएको थियो । युक्त दाइको बहिनी रिसन भाउजूको दाइले लानुभएको अनि युक्त दाइले रिसन भाउजूलाई ल्याउनुभएको । यसलाई हाम्रो समाजमा परेली साटासाट गर्ने भनिन्छ । यस्तो साइनो प्रायः अफापसिद्ध हुन्छ भन्ने सामाजिक मान्यता छ । युक्त दाइको घरमा र भाउजूको माइती परिवारमा यो कुरा सिद्ध भएको देखिन्छ । त्यसैले यस्तो सामाजिक धारणाबारे पनि सोच्नुपर्ने देखिन्छ ।


सांगीतिक सिर्जनाहरू
२०३२ सालबाट रेडियो नेपालमा प्रवेश गर्नुभएपछि उहाँ जागिरको साथसाथै सांगीतिक सिर्जनातिर पनि लाग्नुभयो । दाइको पहिलो गुरुङ गीत ‘आशामारा चुरोट थुंबरी खोसे ङोलस्यो, तै तै ङोलो भारा ल्हैदिमो’ २०३६ सालमा रेडियो नेपालमा स्वराङ्कन (रेकर्ड) भएको थियो । त्यतिखेर यो गीत दाइसँग महिला स्वरमा शशी गुरुङले गाउनु भएको थियो । पछि यो गीत क्यासेट एल्बमको लागि रेकर्ड हुँदा माया र उमा गुरुङले स्वर दिएका छन् । त्यसपछि दाइले सुनीमाया भाकाए क्वे पेंसी, त्हे न्होरी मेंदों म्रोरिसी, खो रिम्ये च्योबर यान, फलेसाँगु बजार गीत बनाउनुभयो । यसमा पनि माया र उमाले नै स्वर दिएका छन् ।

युक्त दाइको आशामारा चुरोट एकदमै लोकप्रिय गुरुङ गीत हो । त्यसपटि फलेसाँगु बजार पनि निके लोकप्रिय भयो । त्यसपछि दाइले ङ खन ह्याले, ङ खन टिले, म्येंमु ङमी ङै नास झलल, तलेनिग्ये वचन घ्रि आपोंब आदि लोकप्रिय गुरुङ गीतहरू बनाउनु भएको थियो । त्यस्तै दाइले गुरुङ भाषाको कौरा चुड्का गीत त्होम्गी बिसी ङोल्स्यो क्योंदे बनाउनुभएको थियो । तलेनिग्ये वचन घ्रि आपोंब र त्होम्गी बिसी कौरा चुड्का यी दुईओटा गीतमा दाइसँग रिमा गुरुङ र दुर्गा गुरुङले महिला स्वर दिएका छन् । दाइको आशामारा चुरोट र गुरुङ भाषाको कौरा चुड्का गीत गोरे गुरुङले गुरुङ भाषाको फिल्म प्ह्रोंछ्येमा पनि राख्नुभएको छ । यिनै गीतहरू सँगसँगै बजार च्योबर, ल्होछार गीत, ङ्यो घ्रि तले गरी आठवटा गीत समाबेश गरेर दाइको आशामारा नामक गुरुङ गीतको गीति एल्बम पनि मरणोपरान्त बजारमा ल्याइएको छ ।


लोक गीततर्पm दाइ त मेरो लाहुर जाने, म त बहिनी सम्झेर रोइरहने (रेडियो नेपालमा वरिष्ठ लोक गीत गायिका सावित्री शाहसँग युक्त दाइले गाउनुभएको थियो) बनाउनु भयो । यो गीत दैवज्ञराज न्यौपानेको शब्दमा दाइले संगीत गर्नुभएको थियो । दाइको लोक गीतहरूमा यो गीत अति नै लोकप्रिय गीत हो । दाइको संकलनमा बौद्धको अमिर लामा र वरिष्ठ गायिका रचना जिसी दिदीको स्वरमा रेडियो नेपालमा २०३९–४० सालतिर एउटा लोक गीत रेकर्ड भएको थियो । मैले गीतको शब्द भुलेँ । दाइको यसै गीतमा मैले पहिलोपटक रेडियो नेपालको गीत रेकर्डिङमा बाँसुरी बजाएको थिएँ ।

त्यस्तै दाइले मेरो संकलनमा दुईवटा लोक गीत रेडियो नेपालमा रेकर्ड गराउनु भएको थियो । एउट कौरा चुड्का गीत माइती घर बसुञ्जेली गर नानी चइन, गाउँघर चलाउ बइन रचना जिसी दिदीसँग अनि अर्कोे लमजुङे ठाडो भाका माया र उमा गुरुङसँग रेकर्ड गराउनु भएको थियो । दाइको संगीतमा रेडियो नेपालमा किरण कपाली, विज्ञान श्रेष्ठ आदि गायकले आधुनिक गीत पनि रेकर्ड गराउनु भएको थियो । दाइकै संगीतमा हामीले रेयुकाईको गीत पनि गाएका थियौँ । लागूपदार्थ दुव्र्यसन सम्बन्धी चेतनामूलक गीति एल्बम साथ बढाऔँ (वरिष्ठ गीतारवादक किशोर गुरुङको प्रोजेक्टको गीत) पनि हामीले दाइको नेतृत्वमा बजारमा ल्याएका थियौँ । जसमा दाइ र म अनि रिमा, शान्ति र दुर्गा गुरुङले स्वरमा साथ दिएका थियौँ । दाइको कतिपय गीत रेकर्ड गर्न नभ्याएका तर दाइले भाका बनाएर राख्नु भएका छन् । ती गीतहरूको रफ अडियो घरमा सुरक्षित रहेको रिसन भाउजूले जानकारी दिनुभएको छ ।


सांगीतिक भ्रमण
युक्त गुरुङको विदेश यात्रा त बाल्यकालबाटै भएको हो, उपचार अनि अध्ययनको क्रममा । उहाँ साङ्गीतिक क्षेत्रमा लाग्नु भएपछि साङ्गीतिक भ्रमणको सिलसिलामा पहिलोपटक बंगलादेशको ढाका जानुभयो । ढाकामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’को सम्मेलन भएको थियो । त्यही सम्मेलनमा नेपाली सांस्कृतिक टोलीमा सहभागी भएर उहाँ पनि जानुभएको हो ।

सांस्कृतिक कार्यक्रमकै सिलसिलामा उहाँले हङकङ, जापान, ब्रुनाई, सिंगापुर, दुबई, फिनल्याण्ड, बेलायत आदि देशहरूको भ्रमण गर्नुभएको थियो । युक्त दाइ रेडियो नेपालको अधिकृत तहको कर्मचारी भएकै कारण उहाँले पाँच विकास क्षेत्रका रेडियो नेपालको क्षेत्रीय स्टेशनको निरीक्षण भ्रमण गर्नु त जिम्मेवारीभित्रै प¥यो । त्यसका अलावा उहाँ रेडियो नेपालको लोकप्रिय कार्यक्रम चौतारीको प्रस्तोताको हैसियतले देशको विभिन्न भेगमा कार्यक्रम रेकर्ड गर्न जानुभयो ।


स्मरणीय कार्यहरू
युक्त गुरुङले लोकप्रिय नेपाली एवम् गुरुङ गीतहरू सिर्जना गर्नुभएको छ । जसले नेपाली गीत–संगीतलाई समृद्ध बनाउने काम भएको छ । गुरुङ समाजले गर्व गर्ने ठाउँ पाएको छ । हामीले पनि उहाँकै गीतहरू सुनेर र त्यसैबाट प्रेरणा लिएर गुरुङ गीतहरू बनाएका छौँ । रेडियो नेपालमा लोक गीततर्पm टेक बेसिसमा काम गर्ने बेलादेखि उहाँले धेरै लोक गीतको संगीत संयोजन गर्नुभयो । रेकर्डिङका क्रममा वाद्ययन्त्रहरू बजाउनुभयो । उहाँले विभिन्न किसिमका नयाँ तथा चेतनामूलक कार्यक्रमहरू बनाउनुभयो ।


त्यो समयमा गीत बजाउने एउटै मात्र माध्यम थियो रेडियो नेपाल । र, रेडियो नेपालबाट गीत बजाउन स्वर परीक्षा अनिवार्य रूपमा पास गरेको हुनुपथ्र्यो । कला भए पनि स्वर परीक्षा पास गर्ने गला नभएका वा रेडियो नेपालसम्म स्वर परीक्षा दिन आउन नभ्याएका र नसकेकालाई समेट्ने कार्यक्रम थियो चौतारी । पाण्डव सुनुवार र उहाँकै पहलमा त्यो कार्यक्रम बनाइएको थियो ।

चौतारीमार्फत धेरैले मञ्च पाए । अहिले खासगरी लोक गीत–संगीतमा जमेका अधिकांश कलाकार त्यही चौतारीमार्फत आएका हुन् । रेडियो नेपालमा चौतारी कार्यक्रम आउने दिन गाउँघरका सबै मानिसहरू छिटो छिटो खाना खाएर रेडियो भएको घरमा जम्मा हुन्थे । ‘उ त्यो चौतारीको पेटीको छेउमा ढाका टोपी ढल्काएर बस्नुभएको, अँध्यारोमा अलि चिन्न सकिएन । को हुनुहुन्छ ? यहाँको परिचय पाऊँ’ भनेर युक्त दाइले चौतारी कार्यक्रममा उद्घोषण गर्नु हुन्थ्यो । बेला–बेलामा हामी पनि चौतारी कार्यक्रममा गीत गाउन जान्थ्यौं ।


चौतारीमा आएका गीत गाउन सक्ने खुबी अनि रहर भएका कलाकारलाई उहाँले स्वर परीक्षा दिन प्रेरित गर्नुहुन्थ्यो । उहाँकै प्रेरणा, कर र हौसलामा रेडियो नेपालमा धेरै कलाकारले स्वर परीक्षा दिए । उत्तीर्ण गरेर गीतहरू रेकर्ड गराए । स्वर परीक्षा पास गरेकालाई गीत गाउने सुअवसर (डेट) मिलाइदिनु हुन्थ्यो । सायद यो गुन कसैले पनि भुल्न सक्दैनन् र सकेका छैनन् पनि होला ।
युक्त गुरुङले पुराना लोक गीतको संरक्षण र संवद्र्धनमा पनि त्यत्तिकै ध्यान दिनुभएको पाइन्छ ।

लमजुङ जिल्लाको पुरानो भाका ठाडो भाकाको प्रचार प्रसार अनि संरक्षण गर्ने उद्देश्यले उहाँले ठाडो भाका शिरोमणि दीर्घराज अधिकारी (भेडीखर्के साइँला), तनहुँ बन्दीपुरकी ठाडो भाका गायिका उत्तम गुरुङ काठमाडौं आएको बेला रेडियो नेपालको स्टुडियोमा बोलाएर अन्तर्वार्तासहित करिब एक घण्टा जतिको ठाडो भाका रेकर्ड गराएर रेडियोबाट प्रसारण गर्नुभएको थियो । यस्तै उहाँले धेरै पुराना त्यस्ता गीत–संगीतको खोजबिन गरी संरक्षण तथा संवद्र्धन गर्ने कार्य गर्नु भएको थियो ।


संघ–संस्थामा आबद्धता
युक्त गुरुङ पहिलेदेखि नै विभिन्न संघ–संस्थामा आबद्ध भएर विभिन्न सामाजिक कार्यमा सक्रिय हुुनुहुन्थ्यो । काठमाडौंमा पहिले गुरुङको उपस्थिति निकै कम थियो । काठमाडौंमा २०११ सालतिरै गुरुङहरूको संस्था ‘गुरुङ कल्याण संघ’ स्थापना भइसकेको थियो । २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि नेपालमा राजनीतिक पार्टी तथा सबै संघ–संस्थामाथि पनि बन्देज लाग्यो । २०२७ सालतिर काठमाडौंमा राजसभा सदस्य गणेशमान गुरुङ, युक्तमान गुरुङ, डिल्लीजंग गुरुङ, डा. चन्द्र गुरुङहरूको सक्रियतामा रोधीं परिवार स्थापना भएको थियो । तीरबहादुर गुरुङ अध्यक्ष भएको बेलामा विविध कारणले रोधीं परिवार विघटन भएको थियो । त्यसपछि खगेन्द्रजङ गुरुङ, भद्रकुमारी घलेहरूको सक्रियतामा २०३४ सालमा तमू धीं संस्था आधिकारिक रूपमा स्थापना भएको थियो ।


अर्कोतिर काठमाडौंको विभिन्न क्याम्पसमा अध्ययन गर्ने तमू विद्यार्थीहरू पनि सक्रिय हुँदै आइरहेका थिए । त्यसरी सक्रिय रहेका विद्यार्थीहरूलाई पनि रामकाजी कोनेलगायतको पहलमा तमू धींमा आबद्ध गराइएको थियो । त्यसबेला तमू धींको आफ्नै कार्यालय थिएन । लाजिम्पाटमा केबी गुरुङले आफ्नै घरमा तमू धींलाई कार्यालयकै रूपमा प्रयोग गर्न दिनुभएको थियो । त्यतिखेर तमू धींमा विद्यार्थी समूह पनि समाहित भएपछि रामकाजी कोने, धनमान गुरुङ, ई. हरि गुरुङ, दिलबहादुर गुरुङ, सूर्यमणि गुरुङ, एकबहादुर गुरुङ, ओम गुरुङ, नारायण गुरुङ, भक्त गुरुङलगायत सक्रिय रूपमा लागेका थिए ।

त्यसै समूहको एक सदस्य, कलाकार र सांस्कृतिक क्षेत्रमा सक्रिय सदस्यको रूपमा हुनुहुन्थ्यो युक्त गुरुङ । त्यतिखेर तमू धींले पुस १५ (ल्होछार) मनाउने, तिहारमा देउसी–भैलो खेल्ने, काठमाडौंमा बसोबास गर्ने गुरुङहरूमा कुनै दुःखद् घटना परेमा सहयोग गर्ने काम गथ्र्यो । ती कार्यक्रममा सोरठी नाच्ने गरिन्थ्यो । त्यतिखेरको सोरठी समूहमा ई. हरि गुरुङ पुर्सुङ्गे, धनमान गुरुङ र दिलबहादुर गुरुङ मारुनी भएर नाच्नुहुन्थ्यो । त्यो सोरठीको गर्रा समूहमा युक्त दाइले मादले अनि गीत गाउने भूमिका निर्वाह गर्नु हुन्थ्यो । कतिपय त्यस्ता कार्यक्रममा मैले पनि गायन समूहमा साथ दिएको थिएँ ।


काठमाडौंमा तमू (गुरुङ) जातिको संख्या बढ्दै गएपछि संघ–संस्था खुल्ने र खोल्ने क्रम पनि बढ्दै गयो । कुनै केन्द्रीयस्तरको, कुनै क्षेत्रीयस्तरको त केही जिल्लास्तरको । अहिले त इलाका र गाउँस्तरका संस्था पनि स्थापना भएका र भइरहेका छन् काठमाडौंमा । काठमाडौंमा युक्त दाइले रोधीं परिवार, तमू धीं, तमू बौद्ध सेवा समिति, तमू छोँज धीं (हाल गुरुङ राष्ट्रिय परिषद् र तमू छोँज धीं एकता भएपछि तमूहरूको छाता संगठन तमू ह्युला छोँज धीं) सबैलाई भोग्नुभयो । सबैको कार्यक्रममा सहभागी हुनुभयो । जे–जति र जस्ता संघ–संस्था स्थापना भएको भए पनि युक्त दाइ अनि हामी कलाकार सबैको साझा बन्यौँ । र साझा कलाकारकै रूपमा कार्यक्रमहरूमा सहभागी भयौँ । र, त्यसरी नै सहभागी भइरहेका छौँ ।


युक्त दाइ कुन–कुन संघ–संस्थामा आबद्ध हुनुभयो, त्यो त मलाई सम्पूर्ण रूपमा याद भएन । रिसन भाउजूले पनि त्यति जानकारी राख्नु भएको रहेनछ । तर उहाँ तमू धींमा चाहिँ निकै सक्रिय हुनुहुन्थ्यो । पछि उमा गुरुङ (तनहुँ) अध्यक्ष भएको रोधीं परिवारमा सल्लाहकार हुनुहुन्थ्यो । त्यही रोधीं परिवारको आयोजनामा अनि युक्त दाइ संगीत प्रमुख रहेको, हामी रोधीं परिवारको कलाकार समूहले सन् १९९६ मा ब्रुनाई र सिंगापुरमा भव्य साङ्गीतिक कार्यक्रम गरेका थियौँ । त्यस्तै युक्त दाइले लमजुङ लोक संस्कृति विकास केन्द्रको सल्लाहकार (जुन संस्थामा म सचिव थिएँ) रहेर गहन राय, सल्लाह, सुझाव प्रदान गर्दै संस्थालाई मार्गनिर्देश गर्नुभएको थियो ।


पछि स्थापना भएका तमूहरूको संघ–संस्थामा युक्त दाइ कुनै महत्वपूर्ण पदमा नबस्नु भए पनि युक्त दाइ यी तमू संघ–संस्थाहरूले आयोजना गरेको कार्यक्रमहरूमा कहिले कलाकारको रूपमा, कहिले स्वयम्सेवकको रूपमा, कहिले निर्णायकको रूपमा रहेर आफ्नो जीवनको अन्तिम समयसम्मै संलग्न हुनुभयो । सेवा गर्नुभयो ।


पदक तथा मान सम्मान
युक्त दाइले कला, संस्कृति, गीत–संगीत साथै तमू (गुरुङ) भाषा, गीत अनि संस्कृतिका लागि गर्नुभएको योगदानको कदर गर्दै विभिन्न संघ–संस्थाबाट मान, सम्मान र पदक प्राप्त गर्नुभएको थियो । विदेशमा रहेका नेपाली संघ–संस्थाले पनि विभिन्न अवसर र मितिमा उहाँलाई सम्मान गरेको पाइन्छ ।


क) पदक
तत्कालीन राजारानी (वीरेन्द्र–ऐश्वर्य) को गद्दी आरोहण रजत महोत्सव पदक तथा वीरेन्द्र ऐश्वर्य सेवा पदकबाट विभूषित ।


ख) सम्मानपत्र
युक्त दाइले जीवनको पहिलो प्रमाण–पत्रको रूपमा खाद्य, कृषि तथा सिँचाइ मन्त्रालय, ग्रामीण युवा कार्यक्रम शाखा, राष्ट्रिय चारपाते क्लबद्वारा प्रदान गरिएको प्रमाण–पत्र २०३१ पाउनुभएको थियो । त्यसपछि युक्त दाइले रेडियो नेपालमा गुुरुङ भाषाको गीत (आशामारा चुरोट थुंबरी खोसे ङोलस्यो) सबैभन्दा पहिले गाउनु भएको प्रमाण–पत्र २०३७ हो । यसैगरी श्री रत्न रेकर्डिङ संस्थान प्रमाणपत्र २०४४, रेडियो नेपाल बाल विकास समाज (रेडवर्ण नेपाल) प्रसंशापत्र २०५१, मस्याङ्दी वाङ्मय प्रतिष्ठान कदरपत्र २०५३, दाइको आफ्नै गाविसमा रहेको संस्था लमजुङ कला प्रतिष्ठानले प्रदान गरेको अभिनन्दन पत्र २०५६, तमू एसोसिएसन अफ हङकङ १९९९ (२०५६) सम्मान पत्र, लमजुङ कला प्रतिष्ठान बेसीसहर लमजुङ कदर पत्र २०५७, रैतो तमु प्रेतना सम्मान पत्र २०५८, सातमुहाने देउराली तमू सांस्कृतिक परिषद् अभिनन्दन पत्र ३०५८ रहेका छन् ।


त्यस्तै तमू विद्यार्थी संघ अभिनन्दन पत्र २०५९, पश्चिमाञ्चल कल्चर सेन्टर प्रशंसापत्र २०५९, सम्पूर्ण तमू समाज ललितपुर सम्मानपत्र २०६०, काठमाडौं रोधीं क्लब सम्मानपत्र २०६०, राजधानी गुुरुङ सेवा समिति सम्मानपत्र २०६१, चेस नेपाल लमजुङ कदरपत्र २०६३ लगायतका सम्मान, अभिनन्दन तथा कदरपत्र उहाँले पाउनुभएको थियो । तर उहाँलाई सरकारीस्तरबाट भने कुनै ठूलो पदक, पुरस्कार प्रदान गरेको पाइँदैन । प्रतिभावान् भए पनि राष्ट्रियस्तरको पदक तथा पुरस्कार पाउन कि चाकडी चाहिन्छ कि पहुँच । यो नेपालको विडम्बना हो । दाइले हामीसँग कहिलेकाहीँ ठट्टा गर्नुहुन्थ्यो, अरूले दक्षिणबाहु पाएका छन् मैले उत्तरबाहु ।

स्वभाव
यो संसारमा दुःख–पीर नहुने मान्छे सायद होलान् । जुनसुकै मान्छेलाई पनि केही न केही पीर वा समस्या भएकै हुन्छ । तर युक्त गुरुङको यस्तो व्यक्ति हुनुहुन्थ्यो, जसको जीवनमा कुनै पीर अथवा समस्या नै छैन जस्तो लाग्थ्यो । दाइ जहिले पनि सबैलाई हँसाइरहनु हुन्थ्यो । दाइ भएको ठाउँमा मान्छेहरू सधैँ पेट मिचीमिची र आँशु–आँशु भएर हाँसिरहेका हुन्थे । दाइको एउटा थेगो थियो ‘मुर्दार’ । एकदिन रेडियोमा डाइरेक्टरलाई समेत उहाँले मुर्दार भनेको र यो उहाँको थेगो रहेको थाहा पाउनुभएपछि डाइरेक्टर पनि हाँसेर बस्नुभएको थियो रे ।


दाइ घरमा भाउजूलाई पनि त्यत्तिकै हँसाउनु हुन्थ्यो । कार्यालयमा साथीहरूलाई त हँसाउने भइहाल्यो । कुनै जमघटमा अन्य साथीभाइलाई त्यत्तिकै हँसाउनु हुन्थ्यो । हुन त उहाँ हाँस्य कलाकार हुनुहुन्थेन । तर उहाँको स्वभाव नै त्यस्तो थियो सबैलाई हँसाउने । युक्त दाइले कसलाई कुन ठाउँमा के–कति हँसाउनु भयो भन्ने कुरा उहाँसँग संगत गर्नेहरूलाई नै थाहा छ । दाइले आफ्नो जीवनको अन्तिम दिन आफ्नो सहपाठी साथीहरूसँग धुलिखेलमा वनभोज जानुहुँदा पनि दिनभरि रमाइलो गर्दै साथीहरूलाई आँशु–आँशु हुने गरेर हँसाउनु भएको थियो । तर ती साथीहरूको दिनभरिको रमाइलो अनि सुखको हाँसो, दाइको बेलुकी वनभोजबाट फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा असामयिक निधनसँगै दुःखको आँशुमा परिणत भएको थियो । दाइले जीवनभर कसैको कुभलो चिताउनु भएन । कसैलाई दुर्वचन लगाउनु भएन । सधैँभरि सबैलाई हँसाउनु भयो । आज दाइको यही हँसाउने बानीलाई सम्झँदैसबै रोइरहेका छन् ।

0 0 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

1 टिप्पणी

Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
Inline Feedbacks
View all comments
ram chandra gurung
ram chandra gurung
1 year ago

outstanding biography of yukta dai, may him long live


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
1
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: