ताजा खबर

लोक सरसँगको मेरो १४ वर्ष

   ५ पुष २०७५, बिहीबार २१:५०      1,182 views


वेदबहादुर गुरुङ (श्याम)

२०४३ सालमा म गाउँबाट पोखराको अमरसिंह हाई स्कूलमा कक्षा आठमा पढ्न आउँदा पहिलो पटक मैले मेरो आदरणीय गुरु लोकबहादुर सरलाई देखेको थिएँ । त्यतिखेर वहाँले हामीलाई पञ्चायत पढाउनुहुन्थ्यो । हामीलाई पढाएको २÷३ महिनामानै वहाँ भद्रकाली मा.वि.मा प्रधानाध्यापक भएर सरुवा हुनुभयो । त्यसपछि २०५२ सालमा स्व. क्या.मीनबहादुर गुरुङ लगायत लोकबहादुर गुरुङको समूहले गुरुङ चलचित्र ‘न्हाम्स्यो न्होरी† को छाँयाङ्कन गर्दा पुनः लोकबहादुर सरसँग राम्रोसँग चिनजान भएर सँगै काम गर्ने अवसर पाएँ ।

त्यतिखेर लोकबहादुर सर ‘न्हाम्स्यो न्होरी† चलचित्रको निर्माता, कथाकार र गीतकार हुनुहुन्थ्यो भने म उक्त चलचित्रको सहनायक थिएँ । न्हाम्स्यो न्होरी बनिसकेपछि त्यसको ठाउँ ठाउँमा प्रदर्शन हुन थाल्यो र उक्त चलचित्र प्रदर्शनको क्रममा लोकबहादुर सरसँग मेरो भेटघाट र गफगाफ सन्चो बिसन्चो एकआपसमा सोध्ने आदि हुन थाल्यो । २०५५ सालमा सिक्लेसको गोरे दाइले ‘प्रोछें† नामक गुरुङ चलचित्र निर्माण गरेर दर्शकसामु ल्यायो । उक्त चलचित्रको स्व. युक्त गुरुङको ‘आशामारा चुरोट† बोलको गीतमा मैले नृत्यसहित छोटो भूमिका गरेको थिएँ । उक्त गीत गुरुङहरु माझ असाध्यै लोकप्रिय भएको थियो र उक्त गीतमा मलाई देखेपछि लोकबहादुर सर मसँग थप प्रभावित हुनुभएको रहेछ । त्यसपछि सर र मेरो भेटघाट अझ बाक्लो हुन थाल्यो ।

दुवैको इच्छा र चाहना गुरुङ चलचित्र र गीत संगीतप्रति थियो र भविष्यमा गुरुङ चलचित्र निर्माण गरेर गुरुङ भाषा र संस्कृतिको संरक्षण र विकास गर्ने नै थियो । त्यसको अलवा वहाँ शिक्षण पेशामा कार्यरत रहँदा म तमू युवा साँस्कृतिक परिवारको अध्यक्ष भई गुरुङ भाषामा आधारित साँस्कृतिक कार्यक्रमहरु पोखराको सभागृह लगायत अन्य गुरुङ गाउँ बस्तीहरुमा प्रस्तुत गर्दै हिड्ने काममा सक्रिय भएर लागेका थियौं । त्यतिखेर तमू युवा साँस्कृतिक परिवारको गतिविधिहरु निकै नै हुने गर्दथ्यो । हरेक कार्यक्रमहरुमा हाम्रा प्रस्तुतिहरु सरले नजिकबाट नियालेर हेरिरहनुभएको थियो । पछि हामीले लोकबहादुर सरलाई पनि तमू युवा साँस्कृतिक परिवारको सल्लाहकारमा चयन ग¥यो र हाम्रा हरेक कार्यक्रमहरुमा सहभागी सल्लाह सुझावहरु दिइरहनुहुन्थ्यो ।

यही दौरानमा लोकबहादुर सरले मलाई गुरुङ चलचित्र निर्माण गर्ने प्रस्ताव राख्नुभयो र मैले सहर्ष स्वीकार गरेँ । २०५७ सालको वैशाख महिनादेखि नै हामीले ‘ङ्योए नाँस ट्हो† (हाम्रो गाउँघरको) कथा र स्कृप्ट लेखन कार्य शुरु ग¥यौं । यसरी स्कृप्ट लेखनदेखि चलचित्रको सबै तयारीहरु गर्नुभन्दा अगाडि वहाँ २८ वर्षको लामो सरकारी शिक्षण पेशाबाट पेन्सनमा बस्नुभयो र हाम्रो उठबस सहकार्य तीब्ररुपमा हुन थाल्यो । रातिको १० घण्टा जति बाहेक प्रायः हामी नछुटिने गरी एकै साथ साथ हिड्न थाल्यौं । गीत संगीत, स्कृप्ट, कलाकार छनौट सबै काम भ्याएपछि हामी २०५७ सालको आश्विन १३ गते मेरो गाउँ ताङतिङमा ‘ङ्योए नाँस ट्हो† को छायाङ्कनको लागि वहाँको धर्मपत्नी (श्रीमती) मेडम सीता गुरुङ र मेरो श्रीमती सिरशोभा गुरुङसहितको हाम्रो ठूलै सुटिङ समूह प्रस्थान गरेका थियौं ।

हामी सुटिङ नसकिन्जेल करिब २१ दिनसम्म मेरो गाउँको घरमा सँगै एउटै परिवार भएर बसेका थियौं । त्यसपछि पोखरा आएर हामीले लोक सरकै घरमा फिल्म सम्पादन र भ्वाईस डविङको लागि स्टुडियो खडा ग¥यौं र दिनरात उक्त चलचित्रका कार्यकारी निर्देशक क्यामरामेन तथा सम्पादनको जिम्मेवारी सम्माहाल्नुभएका बहुप्रतिभाशाली युवा व्यक्तित्व ओमप्रकाश गुरुङ सँगै काममा खट्यौं र चलचित्रको सबै कार्य सम्पन्न भई चलचित्रको मास्टरकपी तयार भयो । हामी चलचित्र प्रदर्शनको तयारीमा खटियौं । त्यतिखेर पोखराको बाग्लुङ बसपार्कमा एउटा हाईभिजन हल थियो जहाँ भिडियो फिल्म देखाउने फोरकलर प्रोजेक्टर थियो । हामीले उक्त हल बुक ग¥यौं ।

हामीले पटक–पटक गरी उक्त हलमा मात्र करिब २०औं पटकसम्म देखायौं । दर्शकहरुको प्रतिक्रियाले हामीलाई एकदमै उत्साहित बनिरहेका थियौं र अन्य गाउँठाउँ गरी झण्डै ३ महिनाभित्र हामीले पोखराको सेरोफेरोमा सानो ठूलो गरी ५१औं पटकसम्म उक्त चलचित्र प्रदर्शन पूरा ग¥यौं । त्यतिखेर ५१औं दिनसम्म चलचित्र हलमा चलेपछि सुपरहिट भएको मानिन्थ्यो हामीले पनि ५१औं पटकसम्म प्रदर्शन भएकोले ५१औं दिनकोे खुशीयालीमा पोखराको उद्योग वाणिज्य हलमा पोखराका लब्ध प्रतिष्ठित व्यक्तिहरुको माझमा हाम्रा चलचित्रका सम्पूर्ण कलाकारहरु प्रतिनिधिहरुलाई प्रमाण–पत्र सहित सम्मान कार्यक्रम राखेका थियौं । यसरी ‘ङ्यो नाँस ट्हो† को अपार सफलतापछि लोकबहादुर सर र मेरो सहकार्य र सहयात्रा अझ उत्साहित भएर निरन्तररुपमा अगाडि बढेर आएको थियो ।


त्यतिखेर मेरो सेलर राइस मिल थियो । त्यसको अलवा मैले सानोतिनो घरघडेरीको खेलो फड्को गरेर केही आम्दानी गर्ने गथ्र्यो । मसँग खासै पूँजी थिएन तर मलाई त्यस सम्बन्धी ज्ञान र अनुभव थियो पछि लोकसर पनि मेरो जग्गा जमिन खरिद बिक्रीमा सहभागी हुनुभयो । त्यसले गर्दा पनि हाम्रो सहकार्य फुर्सदको समयमा चलचित्र निर्माण गर्नेमा मात्र सीमित रहेन । अरु घर व्यवहारदेखि बाहिर व्यापार व्यवसायमा पनि संयुक्तरुपमा सहभागी गर्न थाल्यौं । जसले गर्दा वहाँ र मेरो संगत एकाघरको परिवारको भन्दा कम भएन ।


यसरी शुरुवात भएको हाम्रो सहकार्य र सम्बन्ध भावानात्मक रुपमा मात्र नभई व्यवहारिक रुपमा समेत अतिनै सुमधुर र प्रगाढ हुँदै आयो । वहाँ र मेरो सम्बन्ध यसरी कसिलो भएर आउनुमा वहाँको व्यक्तित्व, गीत संगीत र साहित्यप्रतिको बारेमा अथाह ज्ञान र सिजृनात्मक क्षमता, हरेक विषयको राम्रो ज्ञान र अध्ययन, गुरुङ भाषा संस्कृति र इतिहासप्रति अगाध माया र गौरव अनुभूत गर्ने, विशुद्ध गुरुङ चलचित्र र गीत संगीतमार्फत गुरुङ भाषा संस्कृतिको उत्थान गर्ने, समाजलाई सचेतना जगाउने, नयाँ–नयाँ गुरुङ प्रतिभाहरुलाई एउटा भूमिका र पृष्ठभूमि तयार गरेर अवसरहरु दिने, कलाकार र सर्जकहरुलाई असाध्यै सम्मान र माया गर्ने, तडकभडक मन नपराउने साधारण जीवनशैली अपनाउने, धेरै नबोल्ने थोरै कुराहरु आवश्यक परेको मात्र बोल्ने, सबैसँग सम्पर्क र सम्बन्ध कायम राख्ने, सबैलाई आदर गरेर सभ्य भाषाशैलीमा बोल्ने मृदुभाषी, सधैं हसिलो मुहारमा प्रस्तुत भइरहने, हरेक कुराहरुलाई गम्भीरतापूर्वक चिन्तन मनन गरेर मात्र बाहिर प्रस्तुत गर्ने,

मादकपदार्थ र स्त्रीप्रतिको गिद्धे नजरबाट सधैं टाढा रहने, आहार विहार र सरसफाईमा एकदमै अनुशासितपूर्वक ध्यान दिने, जति मीठो खानेकुरा भएपनि सीमित मात्र खाने, समयभित्र खाने, सुत्ने, उठ्ने सधैं सफा सुग्घर भई चट्ट पोशाकमा हिड्ने, नराम्रो चरित्र व्यवहार भएकोहरुसँग टाढै रहेर तर्केर बस्ने, कसैलाई पनि नातावाद कृपावाद भेदभावको व्यवहार नगर्ने जस्ता उच्च दर्जाको जीवनशैली र ज्ञान गुणको भण्डार भएको कतिपनि अहंकार नभएको, बहुप्रतिभाशाली व्यक्तिको छत्रछाँया र संगत मेरो जीवनको ठूलो अवसर थियो । मैले मेरो जीवनमा सबैभन्दा उर्जाशील समयमा वहाँको छत्रछायाँ, न्यानो माया र अभिभावकको रुपमा आप्mनो सक्रिय जीवन बिताउने महत्वपूर्ण अवसर प्राप्त गरेको छु ।

म भरखरको अल्लारे ठिटो, कता जाउँ, के गरुँ जस्ता मन अत्यन्त सञ्चल भएर भौतारिरहेको बेला मेरो भावना र क्षमतालाई वहाँले सही ढंगले बुझ्नुभयो र मेरो अल्लारे जोश जाँगरलाई वहाँले सही मार्गमा ल्याउनुभएको थियो ।
लोक सर र मेरो उमेरको दुरी धेरै फरक भएपनि अथवा व्यक्तित्व र मर्यादाले गुरु र चेलो भएपनि हामी हरेक विषयमा काम गर्दा अत्यन्तै खुलस्तसँग छलफल गर्ने गथ्र्यौ । मसिनोसँग विचारको आदानप्रदान गथ्र्यौ ।

हरेक विषयमा घनिभूत छलफलपछि मात्र हाम्रो निष्कर्ष निकाल्ने गथ्यौं र यसरी छलफलबाट निस्केको निष्कर्षलाई दुवैजना अत्यन्तै दत्तचित्त भएर कार्यन्वयन गथ्यौं ।
हाम्रो समाजमा कुनै पनि साझेदारी कामहरु त्यति लामो टिकेको हामी देख्दैनौं । कतिपय मानिसहरु पहिला जति राम्रो सम्बन्ध भएपनि कुनै साझेदारी कामहरु ग¥यो भने त्यो सम्बन्ध झन बिग्रेर गएको पनि हामी देख्छौं तर हाम्रो सम्बन्ध र सहकार्य निरन्तररुपमा वहाँको जीवनको अन्तिमसम्म, अत्यन्तै अटल र मजबुत रहिरह्यो । हरेक साझेदारी काममा दरार पैदा हुनुको कारणहरु धेरै हुन सक्छ तर हामीले त्यो दरार पैदा हुन कहिल्यै दिएनौं ।

मेरो विचारमा जहाँ व्यक्तिगत स्वार्थ हुन्छ र विचारको असमनता हुन्छ अनि अडम्बर र अहंकार, एक अर्कामा समझदारीको कमी, आदि कारणले नै साझेदारी सम्बन्धहरु टुट्ने फुट्ने हुन्छन् होला । मेरो लोकसरसँगको १४ वर्ष साझेदारी सम्बन्धमा त्यो अनुभूत कहिल्यै पनि भएन । हामी दुवैमा एक अर्काप्रति सधैं खुला पाना झैं खुलस्त भयौं । कहिल्यै पनि कुनै पनि कुराहरु लुकाउने छुपाउने गरेनौं कतिपय कुराहरु त घरमा नभन्ने सर्तमा एक आपसमा शेयरिङ्ग गथ्र्यौं । हामी हाम्रो लक्ष्य उद्देश्य र विचारमा स्पष्ट थियौं ।

गीत संगीत, कलाकारिता र चलचित्रको माध्यमबाट पछाडि परेको गुरुङ भाषा, संस्कृति र समाजको उत्थान गर्ने । यी हाम्रा लक्ष्य र उद्देश्यमा कुनै खालको व्यक्तिगत स्वार्थ र आडम्बर अहंकार, कहिल्यै व्यक्त गरेनौं । हरेक कुराको सामुहिक रुपमा काम गर्ने र सामुहिक रुपमा त्यसको जसअपजस लिने, ढिलोमा एक दिन दुई दिन नबिराई भेटघाट गर्ने र भए गरेका कामको समीक्षा गर्ने, आदि काम व्यवहारहरु हामीले हाम्रो जीवनशैली बनायौं । हामीले साझेदारीमा तमू चलचित्र र बन्द व्यापार घर जग्गा खरिद बिक्रीको काम गरेता पनि वहाँले स्वतन्त्रपूर्वक आप्mनै तरिकाले तमू संसार त्रैमासिकको सम्पादन प्रकाशन गर्नुभएको थियो । त्यसमा मेरो लगानी र साझेदारी थिएन । म राजनीतिमा र गाउँघरको सामाजिक कामतिर हिड्थे त्यसमा वहाँको संलग्नता थिएन । तै पनि एक अर्काको कामप्रति चासो राख्थ्यौं ।

एक अर्कामा भए गरेका काम कुराहरु मसिनोसँग बेली विस्तार गरेर समीक्षा गर्ने गथ्यौंै । वहाँको संलग्नता नभए पनि मलाई राजनीतिक क्षेत्र र गाउँको विकास निर्माणको काममा लाग्दा निरन्तर सल्लाह सुझाव सचेत गरिरहनुहुन्थ्यो । मैले पनि कुनै सानो ठूलो समस्या र घटनाहरु हुँदा सबैभन्दा पहिले सल्लाह माग्ने दुःख बिसाउने वहाँसँग नै हुन्थ्यो र वहाँको तमू संसार लगायत अन्य वहाँको घर परिवारका कुराहरु घटनाहरु वहाँले सबैभन्दा पहिले मलाई नै शेयर गर्नुहुन्थ्यो । हाम्रो लक्ष्य उद्देश्य र विचार भावना एउटै भएता पनि व्यक्तिगतरुपमा आ–आप्mनो शैली सीप र क्षमता फरक–फरक नै थियो । म बढी बाहुबलमा काम गर्ने, छिटो छिटो परिणाम खोज्ने बोली वचन झर्रो प्रयोग गर्ने ठूलो–ठूलो कुरामा मात्र ध्यान दिने मसिनो कुरामा ध्यान नजाने खाना लाउनमा अत्यन्तै अव्यवस्थित जस्तो पायो त्यस्तै खाना खोज्ने, लाउने आपूmलाई कर पाए भयो बाहिर अरुले हेर्दा कस्तो देखिन्छ त्यसमा ध्यान नजाने जस्ता अति भद्दा जीवनशैली छ ।

तर लोकसरको त्यसको ठीक विपरीत व्यवहार शैली थियो । वहाँ अत्यन्त मसिनोसँग छिमोलेर काम गर्ने, वहाँ शारीरिक बाहुबलभन्दा पनि अत्यन्तै सोच विचारीकन बौद्धिक र कुटनीतिक तरिकाले काम गर्न रुचाउने । असाध्यै सभ्य मृदुभाषी मीठो बोली बचनमा प्रस्तुत हुने । कुनै पनि सानो काम गर्दा पनि धेरै पटक सोंची विचारी गुनी कुथि मात्र अगाडि बढ्ने, खानामा सुत्नमा अतिनै ध्यान दिने जस्तो मीठो चिज भएता पनि सीमाभन्दा बढी कहिल्यै नखाने, ठीक समयमा सुतिहाल्ने र समयमा उठ्ने सफा सुग्घर भएर सधैं चट्ट भएर हिड्ने शरीरलाई हानी नोक्सानी हुने चिजहरु मध्यपान धुम्रपान लगायत चिल्लो पिरो, बासी, फोहर केही पनि नखाने सधैं आप्mनो स्वास्थ्यप्रति सचेत र सर्तक रहनुहुन्थ्यो ।

वहाँको काम गराई हिंडाई पनि ढिलो तर परिपक्क र निरन्तर गरिरहने शैली थियो । वहाँले गीत संगीतलाई अत्यन्तै गहिराईसम्म बुझ्नुभएको थियो । गीत लेखनमा र संगीत सृजना र साधनमा महिनौ दिन लगाएर गर्नुहुन्थ्यो । वहाँले हरेक शब्द शब्दलाई अत्यन्तै तौली तौली, छानी छानी, ओल्टाई पोल्टाई आप्mनो गीतमासमावेश गर्नुहुन्थ्यो र संगीतको हरेक धुन र भावहरुलाई पनि त्यसरी नै दत्तचित्त भई अत्यन्त मेहेनतपूर्वक छानी छानी चयन गर्नुहुन्थ्यो । त्यसैले वहाँको हरेक गीतहरु अब्बल दर्जाको कर्णप्रिय र सदावहार कालजयी स्तरको रहेको छ । वहाँले प्राय गीत तयार गर्नुभन्दा अगाडि गीतको लय र संगीत तयार गर्नुहुन्थ्यो र पछि मात्र गीतको शब्द भर्ने गर्नुहुन्थ्यो । म बढी जोखिमपूर्ण कामहरु गर्न खोज्ने तर वहाँ जोखिमपूर्ण कामबाट टाढै रहने ।

हरेक कुराहरु कामहरु गर्दा सरल र कम जोखिम हुने गरी शुरु गर्ने र पछि विस्तारै त्यसलाई बढाउँदै लाने वहाँको आप्mनै विशिष्ट खालको शैली थियो । वहाँ कुनै पनि कुराहरु सार्वजनिक ठाउँमा बोल्दा वा कुनै सार्वजनिक कामहरु गर्नु पर्दा असाध्यै विचार गरेर मात्र बोल्ने गर्ने गर्नुहुन्थ्यो । त्यसैले वहाँको कृति सृजना दस्तावेजहरु कुनै पनि विवाद र अलोचनाबाट प्राय मुक्त हुन्थ्यो । वहाँले लेखनमा पनि शब्द चयन र भाषिक शुद्धतामा अत्यन्तै सचेत र ध्यान दिनुहुन्थ्यो । वहाँ मभन्दा उमेरले र ज्ञानगुण र अनुभवले पोख्त एकदमै परिपक्क विद्वान व्यक्ति त्यसैले म सधैं वहाँप्रति ज्ञानगुण इतिहास र अनुभवको कुराहरु जान्न बुझ्न सिक्न लालयित भइरहेँ । सायद वहाँले मेरो इच्छाशक्ति, शारीरिक जाँगर र मेरो मनोभावनालाई राम्रोसँग बुझ्नुभएको थियो त्यसैले हामी दुईजना सधैं एकअर्काप्रति आकर्षित भइरहे । हाम्रो सम्बन्ध र सहकार्य मेरो जीवनको लागि एउटा स्वर्णिम काल नै थियो ।

सायद गुरुङ चलचित्र र गुरुङ गीत संगीतको लागि पनि एउटा अमूल्य ऐतिहासिक अध्याय थियो । जसले ६ वटा विशुद्ध गुरुङ चलचित्रहरु समाजलाई दिन सफल भएका थियौं । त्यसमार्फत थुप्रै कर्णप्रिय कालजयी गुरुङ गीत संगीतको जन्म भएको थियो । इतिहासमा पहिलोपटक गुरुङ गंीत संगीतले आप्mनो समुदायमा गौरवपूर्ण वर्चस्व कायम गर्न सफल भएको थियो । थुप्रै गुरुङ प्रतिभाहरु कलाकारहरुलाई जन्माउन सफल भएका छौं ।

झण्डै ८० को दशकदेखि शुरु भएको नेपालको आधुनिक इतिहासले ल्याएकोपरिवर्तन, वैदेशिक रोजगार, शहरीकरण, तीब्र बसाइसराई, भारतीय सिनेमा, टि.भी. च्यानल र पश्चिमी संस्कृतिको ठूलो प्रभाव र नेपाल राज्यको एकल भाषिक नीतिले गर्दा गुरुङहरुको भाषा र संस्कृति तीब्ररुपमा मासिने स्थिति आइरहेकोमा गुरुङ भाषा र संस्कृतिको उत्थान गर्नु, संरक्षण गर्नु भनेको आँधीको विपरीत वेगमा उभिनु थियो । लोकबहादुर सरले यो चुनौतिसँग ठूलो संघर्षका साथ जीवनको अन्तिम समयसम्म समर्पित भएर सतीसालझैं उभिनुभयो । हामीजस्ता थुप्रै नयाँ युवाहरुलाई एउटा मार्गदर्शन गर्नुभयो यो चुनौतिको सामना गर्न हामी सम्पूर्णलाई उत्साहित गरिहनुभयो ।

वहाँसँगको १४ वर्षसम्मको लामो सहकार्यबाट मैले वहाँको भावनाको गहिराईसम्म बुझ्ने अवसर पाएको छु । वहाँ सधैं गुरुङहरुको भाषा र संस्कृतिसँग सम्बन्धित विषयहरु र घटनाहरुलाई असाध्यै ध्यान दिएर अध्ययन गर्नुहुन्थ्यो । यससँग सम्बन्धित कलाकारहरु प्रतिभाहरुलाई असाध्यै माया गर्नुहुन्थ्यो र आप्mनो भाषा, संस्कृति र इतिहासप्रति गौरव गर्नुहुन्थ्यो । वहाँ सधैं भनिरहनुहुन्थ्यो अबको केही दशकपछि यही स्थिति भएमा गुरुङ भाषा लोप हुने स्थितिमा छ । सबैले त्यसप्रति ध्यान दिनुप¥यो ।

भनेर सबैलाई घच्घचाईरहनु हुन्थ्यो । वहाँ र मेरो भेट २०५२ सालमा हुँदाखेरि पनि श्यामजी हाम्रो भाषा र संस्कृति भनेको राष्ष्ट्रकै महत्वपूर्ण गौरव गर्न लायक निधि हो तर यसप्रति कसैको ध्यान छैन खासै ठूला–ठूला संघसंस्थाहरुको पनि भाषण जस्तो गरेपनि व्यवहार नीति कार्यक्रम त्यस्तो केही छैन, अब हामीले यो गुरुङचलचित्रको माध्यमबाट भएपनि यसलाई जोगाउने र समाजलाई सचेत गर्ने काम गर्नुपर्छ । हाम्रो चलचित्र र गीत संगीतहरु विशुद्ध गुरुङ भाषा र संस्कृतिमा नै आधारित भएर गर्नुपर्छ भनेर भन्नुभएको थियो र जीवनको अन्तिम क्षणसम्म पनि पटक–पटक त्यही कुरा दोहो¥याई रहनुभएको थियो ।


सरसँगको १४ वर्षे सहकार्य र सम्बन्ध मेरो जीवनको सबैभन्दा सक्रिय सबैभन्दा उपलब्धीपूर्ण र रमाइलो कालखण्ड रह्यो । यसलाई सरसर्ती लेख्दा एउटा ठूलै किताब बन्छ तर अहिले म यो सबै बेलीविस्तार गरेर किताब लेख्न सक्ने स्थिति छैन । तर मेरो लागि यो १४ वर्षे कालखण्डले मेरो बाँकी जीवनलाई सधैं मार्गदर्शन गरिरहनेछ । वहाँसँगको हरेक क्षण हरेक पल मेरो लागि अविष्मरण्ीय रह्यो । हाम्रो हरेक कामहरु हामीले निर्णय गरेका तय गरेका कामहरु सबै सफल भएरै छाड्यो । हामीले ६ वटा चलचित्रहरु निर्माण ग¥यौं ती सबै चलचित्रहरुलाई फरक–फरक विषयवस्तुमा अधारित छन् र हरेक चलचित्रसँगै त्यसको प्रदर्शनको लागि देश विदेश र नयाँ–नयाँ गाउँबस्तीहरुमा हाम्रा कलाकारहरु शुभचिन्तकहरुको साथमा घुम्ने रमाइलो अवसरहरु पाएका थियौं ।

थुप्रै गाउँबस्तीहरुमा बाजागाजा फूलमालासहितका राजकीय शैलीका स्वागत सत्कारहरु ग्रहण गर्दै हिड्यौं । हामी दुवै जना नेपालकै ढाक्रेहरु हाम्रो लागि समुन्द्रपारीका विकसित देशहरु हङकङ, बेलायत, सिंगापुर भनेको सपनाको देश जस्तै थियो तर यही चलचित्र प्रदर्शनको क्रममा ती सपनाका देशहरुमा पनि ठूलो मान सम्मानका साथ घुम्ने अवसर मिल्यो । मिति २०५८ सालमा हाम्रो साथी नरेन्द्र गुरुङको सहयोगमा पहिलोचोटी ‘ङ्योए नाँस ट्हो† चलचित्र लिएर हामी साँस्कृतिक समूहसहित ब्रुनाई र सिंगापुर पुग्यौं ।

त्यसपछि लगतै हामीले ‘हेर्बे ट† निर्माण गरेपछि उक्त चलचित्र लिएर २०६० सालमा तत्कालिन तमू ट्हो ह्युल हङकङका अध्यक्ष एकेन्द्र गुरुङ र दिलीपसिं गुरुङको पहलमा हङकङमा गयौं । हङकङमा सफलतापूर्वक ‘हेर्बे ट† को प्रर्दशन भयो । त्यसरी हेर्बे ट चलचित्रसँगै हाम्रो एउटा कलाकारहरु सहितको समूह बनाएर लमजुङको सिंधी, भुजुङ, पसगाउँ, घले गाउँ बेशीशहर, नागीधार, भाचोक आदि गाउँहरुको भ्रमण ग¥यौं । त्यसपछि २०६१ सालमा ‘चोँ† निर्माण ग¥यौं चोँ चलचित्र लिएर हामी काठमाडौंको राष्ट्रिय सभागृहमा प्रदर्शन ग¥यौं । त्यसरी नै तत्कालीन तमू विद्यार्थी नेतृहरु गौरी गुरुङ र उमा गुरुङको पहलमा चितवनमा भव्य प्रदर्शनी ग¥यौं ।

त्यसपछि २०६४ सालमा थप निर्माता साथीहरु सहित क्रमु चलचित्र निर्माण ग¥यौं र उक्त चलचित्रका नायिकाहरु सविना गुरुङ र नविना गुरुङसहित हामी चारजना पुन हङकङमा पहिलो प्रिमियम शो गर्न गयौं । हङकङको करिब २१ दिने बसाईमा त्यहाँको विभिन्न संघसंस्था इष्टमित्रहरुको स्वागत सत्कार र मेचमानी खाँदै हिड्यौं । त्यही समयमा हामी मकाउ र चाइनाको सन्जोनमा समेत पुग्यौं । २०६६ सालमा ‘प््रहेंस्यो† चलचित्र निर्माण भयो उक्त चलचित्र लिएर पहिलोपटक हामी दुईजना हाम्रा निर्माताहरु एकेन्द्र गुरुङ, मुक्षेत्र गुरुङ र ओमप्रकाश गुरुङको पहलमा बेलायत पुग्यौ ।

बेलायतमा पनि विभिन्न संघसंस्थाहरुको स्वागत र इष्टमित्रको मेचमानी पाहुना भात खाँदै हिड्यौं र हामी यु.के.बाट काठमाडौं आएपछि पोखरा घर नगइकन हङकङतिर लाग्यौं । तेस्रोपटक हामी हङकङ जाँदै थियो । र पुन हङकङबाट मकाउ भएर पुनः पोखरा फक्र्याैं । २०६७ सालमा नै हङकङबाट फर्केपछि हाम्रो अभियान फिल्मस प्रोडक्सन र हाम्रो सहकार्य १० वर्ष पुगेको खुशीयालीमा ‘तमू चलचित्र अवार्ड †को आयोजना गरी हाम्रो सम्पूर्ण निर्माताहरु प्राविधिक कलाकार महानुभावहरुलाई हाम्रा आदरणीय दर्शक तथा शुभचिन्तकहरुको माझमा आवार्ड वितरण गरेर सम्मान ग¥यौं ।

एकआपसमा खुशीयाली साटासाट ग¥यौं र हामी दुवै जनाले दश वर्षे काम र इतिहासको समीक्षा ग¥यौं । हाम्रो दश वर्षे सहकार्य अत्यन्त सफल रहेको निष्कर्षसहित थप उत्साहका साथ हाम्रो अभियानलाई निरन्तर अगाडि बढाइने सहमति भयो । तत्कालै हामीले धिं चलचित्रको निर्माण थाल्यौं । २०६९ सालमा धिं चलचित्र सम्पन्न गरेर दर्शकमाझ ल्यायौं । धिं चलचित्र पनि सर्वाधिक दर्शकहरुले रुचाए नेपालको पोखरामा मात्र १० वटा ठूलठूला शोहरु भयो । कतिपय दर्शकहरुले दोहो¥याई तेह¥याई हेरे त्यसबाहेक लेखनाथm नवलपरासीको कावासोती तथा विदेशमा हङकङ, मकाउ, यु.के., अष्ट्रेलिया जस्ता ठूलठूला शहरमा भव्य शोहरु भयो र दोस्रो पटकको हङकङको शोमा नायिका द्वय दिपीका गुरुङ र रजन गुरुङहरुको साथमा हामी दुईजना लोकसर र म चौंथो पटक गुरुङ चलचित्र लिएर हङकङ पुगेका थियौं ।

हामीले २०५७ सालदेखि २०६९ सालसम्ममा प्रत्येक २ वर्षमा एउटा गुरुङ चलचित्र निर्माण गरी १२ वर्षभित्र ६ वटा विशुद्ध गुरुङ चलचित्रहरु निर्माण ग¥यौं । हामी १४औं वर्षमा अर्को सातौं चलचित्र ‘युम्पो देउराली† निर्माण गर्ने क्रममा थियौं । यहीबेला अचानक वहाँले हाम्रो साथ छोडेर जानुभयो । यसरी यो १४ वर्षे कालखण्डभित्र जीवनका असंख्य घटनाहरु सँगै बेहो¥यौं, असंख्य अनुभव, भावनाहरु एक आपसमा साटासाट गरेर बितायौं । कुनै पल नमिठो रहेन हरेक पल हरेक क्षण अत्यन्त रमाइला अत्यन्त ँगललथ क्षणहरु अनुभूत गरेर बिताएका थियौं ।

कतिपय उकाली ओरालीहरुमा भोकाएका, तिर्खाएका क्षणहरु अनिन्द्रा र थाकेर शरीर शिथिल भएका अवस्थाहरुलाई हामीले कहिल्यै पनि दुःख र कष्टको रुपमा लिएनौं घाम पानी झरी सबैलाई हामीले रमाइलो मानेर ग्रहण ग¥यौं । कामको दौरानमा आइपर्ने सबै चुनौति र समस्याहरुलाई हामी दुवै जनाले सहजरुपमा नअतिइकन समाधान गर्दै आयौं । हामीले कहिले पसगाउँ र ताङतिङको लेकको उकालीमा भोकले लखतरान्न अवस्थामा ढुङ्गाको मैदानहरु गन्दै हाँसो ठट्टा गरी रमाइलो ग¥यौं, कहिले त्यही लेकको माथि माथि वहाँको ज्वाई क्याप्टेन सिद्धार्थजंग गुरुङको सौजन्यमा हेलिकप्टरमा सवार गरेर तलतल हेर्दै फोटो खिच्दै खुशीयाली साट्दै हिड्यौं ।

थुप्रै पटक गाउँगाउँको सेलरोटी, मेचमानी पिंडालु ढिडो आलु, गुन्द्रुक, मकै खाएर रमाइलो ग¥यौं त्यसरी नै संसारकै सबैभन्दा महंगामध्येका हङकङ, मकाउ र बेलायतका रेष्टुरेण्ट बारहरुमा सी–फुड, चाइनिज, इटालियन लगायतका कन्टिनेन्टल परिकारहरु खाएर साथीभाइहरुसँग रमाइलो गरी बितायौं । थुप्रै पटक गाउँगाउँमा फूलको माला, गलामा नअटिने गरी स्वागत सत्कार र विदाईका उत्सवहरुमा सहभागी हुँदै हिड्यौं । कहिले नौमति बाजाको तालमा कहिले मादलको तालमा, कहिले खैजडीको तालमा गाउँगाउँमा गाउँलेहरुसँग साथीभाइहरुसँग नाच्दै हिड्यौं भने कहिले हामीले नै बनाएका गुरुङ गीतहरुमा हाम्रा साथीभाइ शुभचिन्तक दर्शकहरुसँग देश विदेशका पार्टी, पिकनिक द्यद्यत्त हरुमा नाच्दै हिड्यौं ।

यो १४ वर्षभित्र कहिल्यैपनि मादक पदार्थ सेवन गरेनौं तर कहिलेकाहिँ त्यस्तै माहोल भएको पार्टीहरुमा वहाँले हातमा गिलास लिएर खाएझै गरी बस्नुहुन्थ्यो । प्रायः गुरुङ गाउँहरुमा सबैभन्दा अगाडि रक्सीको गिलास नै अगाडि टक्रयाउने गथ्र्यो तर वहाँले हामी कसैले पनि रक्सी लिदैनौं भनेर बार बारिहाल्नुहुन्थ्यो । मैले अरुबेला साथीभाइ जम्मा भएको बेला ग्रुपमा थोरै रक्सी खाने गर्छु तर मैले सरको भावना अनुसार कहिल्यै पनि वहाँको अगाडि रक्सी पिएन तैपनि कहिले काहिँ वहाँले त्यस्तै त्यस्तै सुरक्षित ठाउँमा थोरै खान संकेत गर्नुहुन्थ्यो । साथीभाइ समूहमा हिड्दा केटाकेटीहरु बीचमा अनैतिक सम्बन्ध हुन्छकि भनेर सधैं चनाखो र चिन्तित हुनुहुन्थ्यो । त्यसैले पनि होला १४ वर्षे यत्रो लामो यात्रा र ठूलठूला सामुहिक कार्यक्रमरुमा हाम्रो चरित्रमा नकारात्मक तरिकाले कसैले पनि कुरा काट्ने ठाउँ दिएको छैन ।

वहाँले सधैं मलाई भनिरहनुहुन्थ्यो ‘श्यामजी भिरबाट खसेपनि मान्छे उपचार गरेर बाँच्न पनि सकिन्छ उठ्न सकिन्छ तर दर्शक र दुनियाँको नजरबाट खस्यो भने कहिल्यै पनि उठ्न सकिदैन† भनेर मलाई सचेत गराइरहनुहुन्थ्यो । हामीले जति रमाइलो गरेपनि जति दुःख गरेपनि, जति मीठा खाएपनि हाम्रो सबैभन्दा चिन्ताको विषय भनेकै हाम्रो चलचित्रको शोमा हल खाली हुन्छ वा रिलिज भएको चलचित्रबाट नकारात्मक प्रतिक्रिया आउँछकि भन्ने हुन्थ्यो । चलचित्र हलमा प्रदर्शन भएपछि दर्शकको खचाखच भएको हल र चलचित्र हेरेपछिको दर्शकको प्रफुल्ल मुद्रा र सकारात्मक प्रतिक्रियामा हामी सबैभन्दा खुशीको सास फेर्ने गथ्यौ ।

हामीसँगै हुँदा घण्टौं घण्टा समसामयिक, राजनीतिकको बारेमा, सामाजिक परिस्थितिको बारेमा चिन्तन मनन गर्ने गथ्र्यौ । हामी हरेक दिनको बसाइमा देशको परिस्थिति, तत्काल भएका राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाको समीक्षा गरेपछि विषयवस्तुमा प्रवेश गरी छलफल गर्ने गथ्र्यौं । हामीले गर्न लागेको चलचित्रको हरेक पाटाहरुमा एक–एक गरी मसिनोसँग बहस र छलफल गर्ने गथ्र्यौं । त्यसैले पनि हाम्रा कामहरु अरुको तुलनामा निकै ढिला हुने गर्दछ तर जहाँसम्म लाग्छ कम विवादरहित हुने गरेको छ ।

जीवनको १४ वर्षे खड्को
पछिल्लो कालमा लोकबहादुर सरसँग आप्mनो चलचित्रको गीत या गाउँको गीत बनाई दिनुप¥यो भन्नेहरु धेरैको आग्रह आउन थालेपछि वहाँले २०७०÷०७१ मा मात्र ७ वटा गाउँको गीत र अरु फिल्मको गीतहरु गरी झण्डै १०÷११ वटा गीत एकैचोटी बनाउनुभएको थियो । त्यसले गर्दा वहाँले त्यसैमा व्यस्त हुनुभयो । म पनि संविधानसभाको चुनाव लगतै ने.क.पा.एमालेको ९औं राष्ट्रिय महाअधिवेशन, जिफानको कार्यक्रमहरुले गर्दा पहिलेको जस्तो भेटघाट त्यति हुन सकेन । तैपनि हामी महिनामा २÷३ चोटी भेटिरहन्थ्यो र भेट्ने बेलामा धित मर्ने गरी कुराहरु गथ्यौं ।

बीचबीचमा विदेशका साथीहरु आइरहन्थ्यो र हामीले प्रायः पोखराको थकाली किचनहरुमा वहाँहरुलाई खाना खुवाउने गथ्र्याैं त्यसमा पनि भेट त भइनै रहन्थ्यो । तर त्यसमा हामीले दुवै जनाको छुट्टाछुट्टै व्यस्तताले गर्दा हाम्रो सातौं प्रस्तुति ‘युम्पो देउराली† चलचित्रको स्कृप्ट लेखन र गीत बनाउने काम धेरै ढिलो भइरहेको थियो । वहाँले सधैं भनिरहनुहुन्थ्यो अहिले एउटा गीत बनाएपछि त्यसको भिज्युएल गर्ने चलन चलेको छ र कतिपय गीतहरु सुन्दा जति कर्णप्रिय र सुन्दर छ भिज्युयलमा गएपछि खसेको स्थिति छ ।

त्यसैले भिज्युएलले त त्यस गीतलाई जति राम्रो छ थप राम्रो बनाउने काम गर्नुपर्दछ । त्यसैले भिज्युयलमा ध्यान दिएन भने राम्रो गीत पनि बिग्रिन्छ भनेर भनिरहनुहुन्थ्यो र पछिल्लो समयमा वहाँले ७ वटा गाउँको गीत बनाउनुभयो र ती सबैको भिज्युयलमा समेत आफै उक्त गाउँहरुमा गएर निर्देशन गर्नुभएको थियो । त्यसले गर्दा झन व्यस्त हुनुभएको थियो । वहाँ यसरी गाउँ गाउँमा जाँदा हरेक गाउँमा नयाँ–नयाँ साथीहरुको संगत गरेर जानुभएको थियो त्यसमा मैले कतैपनि साथ दिन पाएन । वहाँ अन्तरयामी स्वभावको मान्छे हत्तपत्त मनको कुरा नभन्ने र नभनेपछि अरुले बुझ्ने कुरा पनि भएन । मैले चाहिँ धेरै लामो संगत गरेकोले कतिपय कुराहरु वहाँको हाउभाउबाट बुझिहाल्थेँ तर ती ठाउँहरुमा जाँदा सायद उनीहरुले वहाँको समस्याहरु बुझ्न सकेनहोला । वहाँको हिडाईको गति, खानाको नियम, सुत्नेको समय आदिमा केही तलमाथि भयो होला । कति ठाउँमा रुझेर भिजेर हिड्नुभयो होला । पछिल्लो कालमा वहाँ मणिपाल हस्पिटलमा हुनुहुँदो रहेछ । तर त्यतिखेर मलाई ढाँट्नुभयो । मैले जतिखेर फोन गरेपनि कहिले कता कहिले कता फुर्सद छैन आदि आदि भनेर मलाई ढाँट्नुभयो पछि मात्र अस्पताल भएको ७ दिन भएर करिब सन्चो भइसकेपछि आफैले फोन गरेर भन्नुभयो । म मणिपालको सैयामा पुग्दा वहाँ करिब सन्चो भइसक्नुभएको रहेछ र बसेर अरुबेलाका जस्तै जस्ताको तस्तै हाँसेर बसिरहनुभएको थियो । भन्नुभयो श्यामजी मत गाउँतिर गएको अहिलेको भाइरल ज्वरोले भेटाएछ अनि डाक्टरले यही एडमिट गर्नुपर्छ भनेर यहाँ एडमिट भएको आज ७ दिन भयो अहिले त सन्चो भयो अब घर जाने हो, मैले तपाईलाई र अरु कसैलाई पनि भनिन किनकी थाहा पायो भने हाम्रो साथीभाइ इष्टमित्रको भिड लाग्छ त्यो तपाईलाई थाहै भएको कुरा हो भनेर हाँस्नुभयो । अनि त्यही अस्पतालमा भए पनि धेरै दिन नभेटेको धेरै दुःख सुख र हाम्रो राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिदेखि चलचित्र गीत संगीतसम्मको लामो कुराहरु भयो । हामी दुवैजना अब हाम्रो अधुरो कामहरुलाई छिट्टै थालनी गर्ने र स्वास्थ्य लाभको कामना गरेर छुट्टियौं ।


म गुरुङ फिल्म एशोसियसन नेपाल । जिफानको अध्यक्ष र वहाँ सल्लाहकार प्रमुख त्यस नाताले पनि मैले जिफानको हरेक बैठक र गतिविधिहरुमा शुरुमा नै वहाँलाई बोलाउने गर्थे तर त्यस बिचमा वहाँ विभिन्न बहाना बनाएर आउनुभएन र अरु बेलामा पनि म अलि फुर्सदिलो भएकोले दिनदिनै भेट्न चाहन्थे तर वहाँले धेरै समय दिनुभएन । पछि मात्र थाहा भयो वहाँ त्यतिबेलादेखि नै वहाँको रोग राम्रोसँग निख्रिएको रहेनछ । मैले त्यसबिचमा घरमा नै गएर जबरजस्ती अनुरोध गरेर मेरो गाडीमा राखेर एकपटक पोखरा लेकसाइडको बेन्जोन क्याफे बारमा बस्यौ अर्को पटक न्यूरोडको स्काई टच रेष्टुरेण्टमा बस्यो, एकपटक सभागृह चोकको डेनिज रेष्टुरेण्टमा बस्यौं । ती बसाईहरुमा पहिलेको झै लामो लामो अन्तरङ्ग गफहरु ग¥यौं । वहाँले भन्नुभएको थियो कि किन मेरो अरुबेलाको जस्तो मुड आइरहेको छैन भित्रैदेखि एकखालको छ्वाङ्ग छैन बिमारी भनौं बिमारी हैन तर त्यति फ्रेस भइरहेको छैन भनेर भन्नुभयो । एकपटकको बसाइमा छोरा अभिशेषको बिहेको कुरा भयो । २०६६÷०६७ सालमा अभिषेक बि.बि.ए. पढ्न यु.के.मा हुनुुहुन्थ्यो । पहिलो वर्षहरुमा घरबाटै खर्च पु¥याएको थियो पछिल्लो पटक लोकसरकै निर्देशनमा अब त खर्च पु¥याउन सकिन्न त्यतै जागिर पाइन्छ भने पार्टटाइम जागिर गरेर खर्च धानेर पढ्नु अरुले पनि त्यसै गरेका छन् भनेर भने अनुसार बाबाआमाको आज्ञापालन गरी अभिषेकले रेष्टुरेष्टमा जागिर गरेको थियो । अभिषेकले काम पनि गरेको छ र पढेको पनि छ र अहिले त पैसा पनि पठाएको छ भनेर खुशी हुनुभएको थियो । पछि २०६७ सालमा ‘प््रहेंस्यो† चलचित्र प्रदर्शनको क्रममा हामी दुईजना युके पुग्यौ र युकेमा प्रत्यक्षरुपमा छोरा अभिषेकसँग भेट्यौ, उनले काम गरेको रेष्टुरेण्टमा गएर खाना पनि खायौं सबै कुरा देखेर आयौं । हामी त्यस लगतै हङकङ गयौं र हङकङबाट नेपाल फर्कने बित्तिकै छोरा अभिषेकलाई नेपाल झिकाउनुभयो । लोक सरले छोरालाई भेटेपछि वहाँको सोंच परिवर्तन आयो र त्यतिखेर मलाई भन्नुभएको थियो, श्यामजी मैले त अभिषेकलाई नेपाल फर्काउने भएको छु हाम्रो श्रीमान श्रीमतीबीच सल्लाह भयो । युकेमा नै आइडी भएका राम्री राम्री सोल्टीनीहरुलाई बिहे गराउनु भन्ने फुपुहरुको आग्रह छ तर म त्यो पक्षमा छैन एउटै छोरा हो, आइडी वाला केटी बिहे ग¥यो भने उतै घरजम गरेर उतै पलायन हुन्छ ।

पैसा मात्र ठूलो कुरा हैन हाम्रो चाहना नेपालमै हामीसँग हाम्रो सेवा पनि गरेर बस्ने खालको छोरा बुहारी होस् भन्ने चाहना छ त्यसैले अभिषेकलाई नेपाल झिकाएँ । बरु यिनलाई मिल्ने सरल शिरस्वभाव भएकी छ भने देखाउनुप¥यो भनेर भन्नुभएको थियो । वहाँको अनुरोधमा मैले एकदुई जनालाई देखाएँ पनि के–के कारणले जुरेन । केटी पाएदेखि त्यही मंसिरमा धुमधामसँग विहे गराउने तरखरमा हुनुहुन्थ्यो के–के नमिलेर त्यो मंसिर गयो र लगतै फेरि अर्को घटना आइलाग्यो वहाँको जेठा दाज्यू ईन्द्रबहादुर गुरुङको असमायिक निधन हुन गयो । त्यसले गर्दा अर्को वर्षपनि विहे हुन सकेन र पछि के–के गर्दा अहिलेसम्म विहेभएको थिएन तै पनि यसपाली जसरी पनि विहे गराउने ठूलो आकांक्ष लिएर बस्नुभएको थियो र यो पालीको बसाईमा मैले नै कुरा उठाएँ र भने अभिषेकको बिहे ढिलो हुनुको कारण कतै मेडम र तपाईको कारण त हैन र अचेलको छोराछोरीलाई अलि स्वतन्त्र निर्णय गर्न दिनुपर्छ । उनीहरुको चाहना अनुुुुुुुुुुुुसारको केटी रोज्न दिनुपर्छ हाम्रो विचार एकतर्फी लाद्नु हुँदैन, होला त्यसैले उनको खुशीले जस्तो मन पर्छ उहीसँग विहे गराईदिनुपर्छ सर भनेर भनेँ वहाँले पनि त्यही भन्नुभयो हुन्छ अब त्यसै गर्ने हो । अर्कोपालीको एउटा बसाईमा प्रसंगबस एउटा कुरा दोहो¥याउनुभयो । श्यामजी म २०१४ सालमा गाउँबाट अंग्रेजी पढ्न पोखरा झेरको हुँ । ०१४ सालदेखि २०२८ सालसम्म मैले एकखालको साथी संगत र विभिन्न संघर्षपूर्ण १४ वर्षे विद्यार्थी जीवन बिताएँ । २०२८ सालमा म अमरसिंह मा.वि.को शिक्षक दरबन्दीमा जागिरे भएँ । त्यसपछि २०२८ सालदेखि २०४३ सालसम्म अमरसिंह मा.वि.को शिक्षण सेवा एकखालको साथीभाइको संगतमा बिताएँ ।

त्यसअघिका सबैजना साथीभाइसँग टाढा भइयो कोइ कता कोइ कता तितर वितर भयो । त्यसपछि २०४३ सालमा म अमरसिंह स्कूल छोडेर प्रधानाध्यापकको जिम्मेवारी सहित भद्रकाली उ.मा.वि.मा आएँ, त्यसपछि मैले अघिल्लो साथीसंगत सबै छोडेर उनीहरुसँग टाढा रहेँ । भद्रकालीको नयाँ वातावरणमा त्यहाँको नयाँ साथी संगत र जिम्मेवारी वहन गरेर बसेँ दिनरात स्कूलकै काममा मेरो १४ वर्ष बिताएर २०५७ सालमा मात्र शिक्षण सेवाबाट निवृत्त भएँ । तपाईलाई थाहा छ २०५७ सालबाट म तपाईसँग यो गुरुङ चलचित्रको फिल्डमा सँगै छु हामी २०५७ सालको भदौ आश्विनदेखि ‘ङ्योए नाँस ट्हो† को काम थालेको एक महिनापछि ठीक १४ वर्ष पुग्दैछ । तपाईसँगको सहकार्य र संगत के हुने हो मलाई थाह छैन भनेर एकदमै गम्भीर भएर सुनाउनुभयो । मैले भने त्यसो भए अबको १४ वर्षपछि हामी नयाँ ढंगले काम गरौं भनेर मैले भने । तर वहाँ बोल्नुभएन । नभन्दै २०७१ साल भाद्र १९ गते ठीक १४ वर्ष पछि साँच्चिकै मलाई छोडेर जानुभयो ।

फेरि दोस्रोपटक उहा“ले मलाई ढा“ट्नुभयो


२०७१ साउनको २०, २२ गतेतिर हुनपर्छ मैले वहाँलाई फोन गरेँ कहाँ हुनुहुन्छ सर म लिन आउँछु भनेर भनेँ, म महेन्द्रपुलतिर छु भनेर भन्नुभयो । त्यसो भए म आएँ महेन्द्रपुल भने । हैन एकछिन नआउनुस् म ससुरालीमा छु पछि म फोन गरौंला भनेर भन्नुभो, फोन आउछ कि भनेर कुरेँ आउँदै आएन त्यो दिन त्यसै ट¥यो । फेरि अर्को दिन फोन गरँे लौ सर भेटौं कहाँ हुनुहुन्छ भने । म अलि बिजी छु अहिलेपछि म आफै फोन गरौंला भनी भन्नुभयो त्यसरी टार्दै टार्दै लानुभयो । पछि साउनको २७÷२८ मा हुनुपर्छ मैले फेरि फोन गरेँ बल्ल भन्नुभो म फिस्टेल हस्पिटलमा छु भनेर भन्नुभयो । म बाँझापाटनबाट हानिएर फिस्टेल हस्पिटल गैह«ापाटन पुगेँ । कोठामा पसेँ वहाँ बेडमा बसिरहनुभएको रहेछ । सोफामा मेडम र वहाँको भाइ बुहारी कुरेर बस्नुभएको रहेछ । फेरि वहाँ हास्नुभयो । म त फेरि यो भाइरल ज्वरो दोहोरियो आज ७ दिन भयो । डाक्टरले त घर जानु भनेको छ तर म एक दिन बढी बस्छु भनेर बसेको सन्चो भैसक्यो अस्तिको पालामा औषधीको डोज नपुगेर अहिले दोहोरियो होला त्यसैले अहिले एक दिन बढी बस्छु भनेर बस्दैछु भनेर भन्नुभयो । नयाँ हस्पिटलको क्याबिन भएकोले अस्पतालको सैया जस्तो नभई कुनै स्टार होटलको कोठा जस्तो सुविधा सम्पन्न थियो । एटेयज ट्वाइलेट, बाथरुप प्mल्याट टेलिभिजन सफा सुग्घर शोफा, फ्रिज सबै रहेछ । म आउने बित्तिकै, मेडम र भाउजु घर जानुभयो र अभिषेक नआउनजेल झण्डै ३ घण्टासम्म उक्त कोठामा दुवैजना गफ गरेर बस्यौं । पहिलेको जस्तै राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा अहिलेको संघसंस्था राजनीतिक परिस्थिति सबै छलफल गर्दै घर व्यवहार हाम्रो आन्तरिक बन्द व्यपार र हाम्रो नयाँ चलचित्र निर्माणको कुराहरु सबै ग¥र्यौं । जाने बेलामा भन्नुभयो म अलि दिन आराम गर्छु मलाई धेरै ठाउँमा नबोलाउनुहोला भनेर भन्नुभयो ।

२०७१ साउन ३१ गते शनिवार पोखराको सीटी पार्टी प्यालेसमा पोखरा रोयल सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा थियो । म सदस्य र वहाँ संस्थापक सदस्य र सल्लाहकार हुनुहुन्थ्यो । हाम्रो सधैं झै खाना सहित स–परिवार निम्तो थियो र म पनि मेरो परिवारसहित त्यहाँ पुग्यौं । उक्त दिन वहाँ परिवारसहित कमेज र सुटबुट लगाई चिटिक्क परेर निकै हँसिलो मुहारमा मञ्चमा बस्नुभएको थियो । हामीसँगै खाना खायौं र खाना खाने समयमा छुट्टै गफ ग¥यौं । फेरि पनि भन्नुभयो म केही दिन घरमै आराम गर्छु भनेर भन्नुभयो र हुन्छ भने । त्यसपछि धेरै साथीभाइ शुभचिन्तकले मलाई सोध्नुभएको थियो लोकसर बिरामी हुनुहुन्छ रे कहाँ छ भनेर भेट्न आउछु भनेको थियो । धेरैलाई मैले तर्काएँ वहाँ अति एकान्तप्रेमी झन बिरामीको बेला धेरै मानिस आएको वहाँलाई त्यति नरुचाउने त्यसैले अहिले वहाँ सन्चो भएर घरमै आराम गरेर बस्नुभएको छ नजानु पछि जाउँला भनेर धेरैलाई तर्काएँ र म पनि गइन । १६ गते सोमबार मैले वहाँको मोवाइलमा फोन गरेँ उठाउनुभएन र घरमा फोन गरेपछि मेडमले उठाउनुभयो सर कहाँ हुनुहन्छ ? मैले सोधेँ, यही सिटिङ्ग रुममा हुनुहुन्छ, मोवाइलमा गर्नु भनेर भन्नुभयो । मैले मोवाइल गरेको थिएँ नउठेर हो भने र म त्यही आउँछु भनेर फोन राखेँ, करिब दिउँसोको २ बजेतिर हुनुपर्छ म घर गएँ । मेडम र सरलाई सम्बोधन गरेर घरभित्र पसेँ र ढोकानिरको सोफामा बसेँ, भित्रै आउनु भनेर भन्नुभयो र भित्र सिटिङ्ग रुमतिर पसेँ । मैले सरलाई देखेँ पंखा ५से.मा हुइक्याएर एउटा टीसर्ट र जाङ्गे लगाएर सोफामा बसिरहनुभएको रहेछ । त्यति राम्रोसँग साधारणसभामा देखेको मान्छे त्यहाँ देख्दा त मत खङरङ्गै भएँ । वहाँ त करिब हड्डी र छाला मात्र, एकदमै दुब्लाएर आँखा पनि भित्र गडिसकेको त्यस्तो अवस्थामा देखेँ र म आत्तिएँ । हैन के भयो तपाईलाई मैले सञ्चो भैसक्यो भन्ठानेको यति साह्रो दुब्लाएको रहेछ भनेर सोधेँ ।

किन किन खाना रुचेको छैन भनेर भन्नुभयो । त्यसो भए तपाईको आँतमा ज्वरो र रोग छ होला किन घर बस्नुभएको अस्पताल किन नगएको भने । हैन दबई खाँदैछु दबईले गर्दा खाना नरुचेको भनेर भनेको छ डाक्टरले भोलितिर दबई सकिन्छ त्यसपछि विचार गर्नुपर्ला भनेर भन्नुभयो । हैन यो पोखराको डाक्टरको भर मानेर बस्नुहुँदैन काठमाडौंतिर जँचाउन पर्छकि सर भनेर भनेँ । हुन्छ पछि विचार गरौंला भनेर भन्नुभयो । आप्mनो स्वास्थ्यको लागि जिन्दगीभर यति धेरै सचेत अनुशासन पालन गर्ने मान्छे मैले भनिरहनु त पर्दैन जस्तो लाग्यो तर पनि त्यो बेला वहाँले आपूmलाई ठूलो रोग केही लागेको छैन यो मामुली टाईफाईड हो सञ्चो भइहाल्छ भनेर बस्नुभयो । र एकदिन पछि मेडमले रोटी, तरकारी र च्यूउरा खाजा बनाएर मलाई दिनुभयो र सरले पनि चियामा बिस्कुट घोलेर चम्चाले खानुभयो र मैले भनेँ सर तपाई धेरै खाना बार्नुहुन्छ, मनले मागेको कुरा मजाले खानुस् खानाले पेल्नुस अलि ज्यान उठ्छ कि भनेर भनेँ ।

हो त नि खानै रुचे छैन भनेर भन्नुभयो । वहाँ गफ गर्ने मुडमा त थिएन तर मैले त्यही बसेर हाम्रो बन्द व्यपारको कुरा उठाएँ हामी केही ठाउँमा प्लटिङ्गमा लगानी गरेको थियो उक्त कुराको पनि सकारात्मक तरिकाले प्रगति भइरहेको कुरा सुनाएँ वहाँ धेरै बोल्नुभएन झण्डै–झण्डै २ घण्टा जतिमा मैले एकोहोर व्यापारको कुरा, राजनीतिक कुरा जिफानको कुरा, सामाजिक गतिविधि र हाम्रो सामुहिक चलचित्र निर्माण गर्ने । ‘युम्पो देउराली† को कुरा सबै बेलिविस्तार लगाएँ । पछिल्लो पटक वहाँ अलि मुडमा आउनुभयो र वहाँ बोल्नुभयो । श्यामजी तपाईले बोलाएका ठाउँहरुमा म आएन मैले तपाईलाई समय पनि त्यति धेरै दिएन कारण म अलि सञ्चो नभएर हो अरु कारणले हैन । अब म सञ्चो भएपछि हाम्रा सबै अधुरा काम पूरा गर्ने हो, तपाई निराश नहुुनुस् भनेर उठ्ने बेलामा ठूलो आशासहितको उर्जा भरेर पठाउनुभयो । वहाँको यति वचन पाएपछि म खुशीले फुरुङ्ग भएर आएँ । तर मन कता–कता वहाँको स्वास्थ्य स्थिति देखेर नमीठो लागिरहेको थियो । भाद्रको १७ गते दिनभरि म वहाँलाई फोन पनि गरिन र भेट्न पनि

गएन । भाद्र १८ गते बुधवार बेलुकी ५ बजेतिर मैले फोन गरेँ वहाँको मोवाइल स्वीचअफ रहेछ र एक्कासी घरमा गएँ । घरको दुईतिरकै ढोकामा चापी लगाएको रहेछ सरको मोवाइल अफ छ मेडमको अभिषकको कसैको फोन पनि मसँग थिएन । मनमा चिसो पस्यो पक्कै पनि अस्पतालमा छ भनेर, तर कुन अस्पताल थाहा भएन, एक मनले फिस्टेलमा सोध्न जाउँ जस्तो लागेको थियो फेरि अर्को मनले कतै काठमाडौं पो लगेछ कि भन्ने लाग्यो यस्तै दोमन दोमनले घर फर्के र भरे भोलि अभिषेकको फोन खोज्नुपर्ला र फोन गरेर जानुपर्ला भनेर घरमै बसेँ । त्यो दिनमा कतैबाट पनि फोन खबर आएन म मेरै धुनमा भुलेँ । भदौ १९ गते बिहान करिब ५ः०० बजे म ओछ्यानमा नै थिएँ । मेरो मोवाइलको घण्टी बज्यो । फोन पार्चेको लिलकाजी दाइको थियो ।

मैले फोन उठाएँ ‘भाइ आज राती ०१ः३० बजे लोक दाइ बित्नुभयो† म स्तब्ध भएँ, वाक्य स्पष्ट थियो तर मैले पत्याउन सकिरहेको थिएन । फेरि सोधेँ, वहाँको दोस्रो वाक्य आयो ‘हो† हामी मणिपालमा छौं अब ७ः०० बजेतिर एम्बुलेन्समा घर ल्याउँदैछ । फेरि सोधेँ, कसरी यस्तो भयो दाइ ? मेरो प्रश्नमा वहाँको उत्तर थियो । ‘जरो पनि हटेन र पछिल्लो समयमा वहाँलाई निमोनियाको कारणले बित्नुभयो रे† त्यसपछि मैले अर्को प्रश्न गरेन फोन राखेँ । मेरो जमीन भासिएको अभाष भयो दिमागले काम गर्न सकेन तै पनि जे–जे मनले दिमागले निर्देशन गरेछ त्यसै त्यसै गर्नतिर लागेँ, सुतिरहेको श्रीमतीलाई भनेँ उनी पनि उठेर के गरुँ के नगरु छट्पटिन थाल्यो । आफैले आपूmलाई सम्हाल्ने प्रयास गरेँ । अनि पत्रकार रोशनी बैनीलाई फोनबाट खबर गरेँ र हाम्रो शोक विज्ञप्तीसहितको समाचार सम्प्रेसन गरिदिन अनुरोध गरेँ । त्यसपछि पत्रकार हुम गुरुङलाई त्यसरी नै फोनबाट खबर गरेँ । दुवैजना पत्रकारहरुको अत्तिनुभएको उत्तर स्पष्टै सुनिन्थ्यो । हतारहतार ग्यारेजबाट गाडी निकाले र हतार हतार मणिपाल अस्पतालतिर लागेँ । मन बसमा थिएन, दुवैजना पत्रकारमार्फत एकछिनमा नै फेसबुक र एफ.एम.बाट संसारभरि यो अशुभ समाचार फैलिसकेको थियो । एक हातले स्टेरिङ्ग र अर्को हातले दर्जनौं पत्रकारहरुको फोन रिसिभ गरेर यो अशुभ समाचारको उत्तर दिंदै मणिपाल पुगेँ । यस्तै छट्पटाहटमा जानी नजानी गुरुङ फिल्म एशोसियसन नेपाल । जिफानका पदाधिकारी र वहाँ आवद्ध संघसंस्थाका प्रतिनिधिहरुलाई जानकारी गराएँ । मणिपाल हस्पिटल पुगेपछि मेडम र छोरीहरु बेलुकी राती नै घर पु¥याइसकेको रहेछ त्यहाँ पुरुष दाजुभाइहरु मात्र कुरेर बस्नुभएको रहेछ । छोरा अभिषेकलाई भेटेँ वहाँलाई समवेदना र सान्तवना दिन खोजेँ तर आफै भक्कानिएर वहाँको मुख हेर्न सकेन । एकैछिनमा बिहानको ७ः०० बज्यो, मणिपालको भूमिगत सवगृहबाट वहाँको पार्थिव शरीर बाहिर निकाल्यो त्यतिञ्जेलसम्म मलाई वहाँको निधन भएको विश्वास लागिरहेको थिएन । तर तितो यर्थाथ मेरो सामुन्य देखा प¥यो । मन सम्हाल्न सकिरहेको थिएन म परपर भागेँ, भित्रैदेखिको ज्वालामुखी छातीभित्रै दबाएँ मेरो फोन एकछिन पनि खाली थिएन सँगसँगै रामघाट, शान्तीपथ वहाँको घरमा आयौं । त्यतिञ्जेलसम्म घरमा परिवार, इष्टमित्रहरु घरभित्र बाहिर जम्मा भैसकेको थियो । मलाई कता–कता एक खालको अप्ठ्यारो र एक्लोपन महसुस भइरहेको थियो । वास्तवमा वहाँ परिवारको मात्रै मान्छे थिएन । वहाँ एउटा महान् कलाकार, सम्पूर्ण समाज र राष्ट्रको साझा व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले वहाँको अन्त्येष्टी सर्वसाधरणको भन्दा फरक ढंगले हुनपर्दछ भन्ने मेरो मनमा थियो । तर परिवार वहाँको समाज र मेरा बीचमा त्यति ताल तम्य मिलिरहेको थिएन । घरभित्र मेडम छोराछोरीसँग सल्लाह गर्न सक्ने अवस्थामा थिएन । तै पनि वहाँको कान्छा भाइ क्या. दुतमान गुरुङ र अर्को भाइ क्या. हिक्मतसँग सल्लाह गरेँ र फोन फोनमा गुरुङ फिल्म एशोसियसनका सम्पूर्ण कार्यसमिति, हिमाली साँस्कृतिक परिवारको अध्यक्ष मेनकाजी गुरुङ दाइ लगायत सबैसँग छलफल गरी छिटोछिटो
राखेर सवयात्राको चाँजो मिलाएँ । जिफानका पोखरामा उपलब्ध सम्पूर्ण कलाकारहरु र हिमाली साँस्कृतिक परिवारका कलाकारहरुको दिलैदेखि सक्रियतापूर्वक साथ र सहयोग भयो । झण्डै दिउँसो १२ बजेतिर वहाँको घरआँगनमा हजारौंको संख्यामा मानिसहरु जम्मा भैसकेको थियो । थोरै समयमा हतार हतार वहाँले सेवा गरेको अमरसिंह उ.मा.वि. हुँदै अमरसिंह चोक, बुद्ध चोक भएर बौद्ध अर्घौं सदन रामघाटसम्म हजारौंको माझमा सवयात्रा गरेर घाटसम्म पु¥यायौं । घाटसम्म पुग्दा हजारौं शुभचिन्तकको जनसागर उर्लिसकेको थियो । संस्थागत रुपमा नै आ–आप्mनो संस्थाको झण्डा ओढाउनेको संख्या झण्डै ८ वटा भएको थियो । मेरो फोनमा देश विदेशबाट भक्कानिएका स्वरमा थुप्रै साथीभाइको श्रद्धाञ्जली र समवेदनाका खबरहरु आइरहेको थियो । विधिपूर्वक अन्त्येष्टी कार्य सम्पन्न गरेपछि म सिधैं घरमा आएँ । त्यतिञ्जेल मेरो फोनको ब्याट्री सकेर अफ भैसकेको थियो । जब घरमा आएर बेडरुमभित्र पसेँ ढोका लगाएँ । बिस्तारामा पल्टे, मैले नितान्त एक्लो महसुस गरेँ । एक्लै खपिसक्नु थिएन, सपना जस्तो लागिरहेको थियो । एक्लै रुनुसम्म रोएँ । जिन्दगीमा मैले २०५६ सालमा मेरो ममतामयी आमालाई गुमाउँदा जुन शोक र पींडा भोगेको थिएँ त्यही बराबरको शोक र पींडा अहिले महसुस गर्दैछु । म एक्लो छोरो त्यो पनि बाबा आमाको विवाह भएर धेरै वर्षपछि पहिलो सन्तानको रुपमा जन्मेकोले मेरो आमाबाबाले असाध्यै पुलपुल्याएर हुर्काएको थियो र म जन्मेको ९ वर्षपछि मेरी बैनी जन्मेको थियो त्यसैले म आठ वर्षको हुन्जेल मेरो आमाको लाम्टो चुसेको थिएँ । मेरो खुशीको लागि मेरी आमाले आप्mनो सबै खुशी सर्वस्व त्याग्न सक्ने गरी मलाई हुर्काएको थियो त्यसैले मेरो जिन्दगीमा कहिल्यै बिर्सन नसक्ने सबैभन्दा महान् सबैभन्दा प्यारो सबैभन्दा भावना जोडिएको मान्छे मेरो लागि आमा हो ।

आमाको निधन हुँदाताका जति भाव विह्वल थिएँ, किन किन त्यति नै भावविह्ल अहिले भैरहेको छु । तर यो पाली मैले प्राय देखिने गरी कतै पनि व्यक्त गरेको छैन । थुप्रै साथीभाइको सान्त्वना, ढाडस, प्रोत्साहन र स्वयं सरले देखाउनुभएको मार्गदर्शन वहाँबाट प्राप्त गरेको ज्ञान, शिक्षाले गर्दा मैले शोकमा आफै भावविवहल भएर लाचार हुनुभन्दा आफैले आफैलाई सम्हालेर जिम्मेवारीपूर्ण ढंगले वहाँ र मेरो बीचको अधुरा कामहरु पूरा गर्ने र वहाँको सपना र इच्छालाई पूरा गर्ने, वहाँको कृति र व्यक्तित्वलाई संस्थागतरुपमा अझ उजागर गर्ने दृढ संकल्पसाथ अगाडि बढ्ने प्रतिज्ञा गरेको छु ।
साँच्ची कै लोक सरसँग मैले मेरो जीवनको महत्वपूर्ण उमेरको कालखण्ड भरी अत्यन्तै भावनात्मक निकटतामा संगत गरेको छु । जिन्दगीमा धेरै साथीभाइसँग संगत भयो, लोक सरसँगको संगत अत्यन्तै पृथकखालको संगत थियो । सँगै बसेका श्रीमान श्रीमतीको बीच पनि कतिपय कुराहरु व्यक्त गरिएको हुँदैन होला तर हाम्रो बीचमा सायद कुनै पनि कुरा एक आपसमा त्यसरी लुकाउनु पर्ने केही थिएन । एकदिन छुटियो भने या केही नयाँ कुराहरु थाहा पायो भने कतिखेर भेटेर सरलाई भनुँ हुन्थ्यो । सायद वहाँलाई पनि त्यस्तै हुन्थ्यो । मलाई बेला–बेलामा पैसाको खाँचो परिरहने मलाई पैसाको समस्या प¥यो सर भनेपछि वहाँले चुपचाप दायाँबायाँ वहाँकोबहिनी ज्वाँई वा भाइहरुबाट मागेर खोजेर जति हो त्यति मलाई दिनुहुन्थ्यो । हामी बीच कहिल्यै पनि अविस्वास भनेको एकरति महसुस भएन । मलाई कुनै दुःख समस्या आइप¥यो भने वहाँलाई बिसाएपछि मेरो आधा समस्या समाधान भएको महसुस हुन्थ्यो । कतिपय समस्या दुःखहरु मैले घरमा भन्दैनथे । किनकि घरमा भन्यो भने झन अनावश्यक चिन्ता हुन्थ्यो त्यसको कुनै समाधान पनि हुँदैनथ्यो सरसँग बिसाएपछि त्यसको समाधान, उपाए वा ढाडस प्राप्त हुन्थ्यो ।

वहाँसँगको संगतमा मैले सधैं सुख, आनन्द र ढुक्क भएको महसुस हुन्थ्यो । हामीले आप्mनो कामको सफलतामा दुवैजनाले समीक्षासहित सन्तुष्टीसहित खुशी मनाउँथ्यौं । घटेका सानातिना घटनाहरुमा दुवैजना दिल खोलेर हाँस्थ्यौ । दुःख र चुनौतिलाई पनि हाँसी हाँसी सामना गथ्र्यौं । म सानोमा मैले मेरो आमाको काख जति सुरक्षित र न्यानो महसुस हुन्थ्यो आनन्द लाग्थ्यो त्यति लोकसरको निकटतामा मलाई अत्यन्त सुरक्षित र आनन्द हुन्थ्यो । मैले मेरो हरेक समस्या र आपतविपतमा वहाँको साथ र माया ढाडस सान्त्वना प्राप्त गरेको छु । एकपल्ट म ठूलो आर्थिक संकटमा फसेको थिएँ जतिखेर मैले दुःखले आर्जेको पोखरा पूmलबारीको घर राईसमिल सबै बेचेर घरवार विहिनको अवस्थामा थिएँ । त्यतिखेर मेरो समस्या र पींडामा साथ दिने सहयोग गर्ने कोही थिएन । बरु बाहिर गीत गाउने र समस्या देखायो भने तर्केर जाने धेरै थिए आप्mनै नजिकका ठानेकाहरु पनि पैसाको कुरा गर्दा तर्केर हिड्थेँ । समस्याको समाधान भन्दा पनि किन त्यसो गरेको त्यसो नगरे भए हुन्थ्यो भन्दै उल्टो मान्छेलाई कायर र चिन्तित तुल्याउनेहरु हुन्थे । त्यस्तो अवस्थामा मेरो समस्याप्रति बुझ्ने पीडालाई महसुस गर्ने, सही ढंगले नैतिक बल प्रदान गर्ने एकमात्र मान्छे मेरो लोक सरनै हुनुहुन्थ्यो । मैले मेरी आमाको निधनमा एउटा टुहुरो महसुस गरेको थिएँ त्यस्तै दोस्रो पटक एकदम टुहुरो, एक्लो महसुस भइरहेको छ ।

वहा“को अधुरा कामहरु र हाम्रो दायित्व

हामीले २०५७ सालबाट लगातार हरेक २ वर्षको बीचमा एउटा गुरुङ चलचित्र निर्माण गर्दै आयौं । २०६९ सालमा आएर हामी पछिल्लो चलचित्र धिँ (घर) सम्पन्न गरेर बजारमा प्रस्तुत ग¥यौं । धिं चलचित्र बजारम देखाइसकेपछि हामी दुईजना दर्शकहरुको प्रतिक्रिया सहित हाम्रो १२ वर्षे लामो यात्राको गम्भीरतापूर्वक सिंहलोकन सहित समीक्षा ग¥यौं ।

हामी सधैं दिनको एक समय पोखराको नाम चलेका नयाँ–नयाँ रेष्टुरेण्ट, क्याफे, बार जहाँ एकान्त र गफ गर्न उचित वातावरण भएको सबै ठाउँहरु चाह¥यौं सयौं मीठो चियाका गिलासहरु रित्यायौं, कहिले माछा खान पामेतिर गयौं, कहिले स्याण्डवीच खान लेकसाइडका क्याफेहरुमा बस्यौं कहिले महेन्द्रपुलकै रेष्टुरेण्टहरुमा मसरुम सुप र मम चाउमिन खाएर बस्यौं । अघिल्लो पालीहरुमा पनि हामीले यसरी नै हाम्रा चलचित्रहरुको कथावस्तु नामकरण र लेखन कार्यको थालनी गर्ने गरेका थियौं । तर यसपटक भने छलफल बहस अलि बढी लामो र नटुङ्गिने खालको भयो कारण एउटै थियो । मैले नयाँतर्क र प्रस्ताव पेश गरेको थिएँ । अहिलेसम्म हामीले गुरुङ चलचित्र निर्माण गरेर समाजले बुझोस् या नबुझोस् त्यो एउटा हाम्रो समाजसेवा हो । हाम्रो समुदायप्रतिको एउटा हाम्रो योगदान हो यसबाट हामीले एउटा आप्mनो पहिचान स्थापित ग¥यौं । देश विदेश नयाँ–नयाँ गाउँ बस्ती घुम्ने अवसर प्राप्त ग¥यौं, लोप हुन लागेको भाषा संस्कृतिप्रति थोरै भएपनि योगदान दियौं त्यसमा विभिन्न मीठा नमिठा घटनाहरु अनुवभहरुका बाबजुद पनि हामीले आफैमा एउटा आत्म सन्तुष्टी पायौं । तर हामीले कहिल्यै पनि व्यवसायिक लाभ गरेनौं । यसबाट व्यवसायिक लाभ गर्ने ठाउँ पनि छैन किनकी यसको बजार दर्शक एकदमै सीमित छ । हाम्रा प्रविधिहरु नयाँ नयाँ थपिदै गएको छ । खर्च र लगानी बढ्दै गएको छ तर दर्शक र बजार खुम्चिदै आएको छ । हरेक पटक टिकट लिएर दर्शकको घर दैलोमा अनुयविनय गर्नुपरेकोछ ।

यसरी समेत हामीले हाम्रा निर्माताहरुलाई कहिल्यै नाफा दिन सकेको छैन वरु घाटा सुनाउन पनि नसक्ने स्थिति छ । अहिलेसम्म जसोतसो साँवा धन उठेको छ तर त्यसमा हामीले लगानीको न्यूनतम ब्याजको कुरै छाडौं । तपाई र मेरो परिश्रमको कुनै मूल्याङ्कन पनि छैन । त्यसैले अहिलेलाई गुरुङ चलचित्र स्थगित गरौं । लगानी त्यति नै हो दुःख र मेहेनत त्यही हो । विधा र प्रविधि त्यही हो, हामीले पनि नेपाली चलचित्र किन नबनाउने ? हामीसँग अहिलेसम्मको लामो अनुभव छ ज्ञान छ नेपाली चलचित्रको लागि हामी कुनै पनि दृष्टिकोणले पछाडि छैनौं, नेपाली भाषाको दायरा फराकिलो छ राम्रो भैदियो भने ठूलो विस्तारित बजार छ, त्यसैले योपाली नेपाली चलचित्र बनाऊ सर भनेर मैले प्रस्ताव गरेपछि हाम्रो बहस र छलफलले नयाँ मोड लिएको थियो । तर मेरो तर्क र प्रस्तावलाई वहाँले अस्वीकार गर्नुभयो । वहाँले भन्नुभयो कि श्यामजी हामी धेरै महत्वाकांक्षी हुनु हुँदैन पछि गर्दै गरौंला अझै हामीले २÷४ वटा विशुद्ध गुरुङ चलचित्र दिनुपर्छ, नेपाली भाषा र चलचित्र त त्यसै समृद्ध छ, त्यो क्षेत्रमा लागेको ठूलो जमात छँदै छ अहिले त हामीले जहाँ खाली ठाउँ छ त्यही काम गर्ने हो, अझै पनि गुरुङ भाषा संस्कृति एकदमै संकटमा छ, पछिल्लो कालमा गुरुङ चलचित्र बनाउने साथीहरु त धेरै नै थपिएका छन् तर समाजले खोजेको जस्तो भाषा र संस्कृतिलाई टेवा पुग्ने खालको चलचित्रको अभाव हिजोको भन्दा झन बढी देख्दैछु हिजोको चलचित्रको धारलाई विस्थापित गर्न सक्ने नयाँ धारका नयाँ चलचित्र र नयाँ प्रतिभाहरु आउनुपर्ने हो आइरहेको छैन भनेर भन्नुभयो । तै पनि मैले वहाँलाई मेरो तर्क प्रस्ताव अगाडि सारिरहेँ र वहाँले विभिन्न तर्क दिएर मलाई हुँदैन त भन्नुभएन तर पछि गरौंला भनेर मलाई मनाउनुभयो । त्यो हाम्रो बहस टुङ्गिएपछि बल्ल हामीले अर्को अभियान फिल्मसको सातौं प्रस्तुति विशुद्ध गुरुङ चलचित्र ‘युम्पो देउराली† बनाउने तय ग¥यौं र यो बीचमा संविधानसभाको दोस्रो निर्वाचन र ने.कपा.एमालेको नवौं राष्ट्रिय महाधिवेशनले र म जिफानको अध्यक्ष भएकोले गर्दा मैले अलि बढी राजनीतितिर समय दिएँ र सर पनि एकैचोटी ६ वटा गाउँको परिचयात्मक गीतको रचना संगीत संयोजन र गीतको छायाङ्कनमा आफै खट्नुभयो त्यतै व्यस्त रहनुभयो त्यसैले गर्दा सधैंको जस्तो हाम्रो चलचित्रको निर्माणको परम्परा र क्रम झण्डै एक वर्ष पछाडि पर्न गयो । युम्पो देउरालीको स्क्रिप्त लेखन र गीत रेकर्डिङ्ग गर्न नपाउँदै अचानक वहाँको दुःखद् निधन हुन गयो । व्यस्तताको बाबजुद पनि वहाँले युम्पो देउरालीको भनेर दुईवटा गीत कम्पोज गरेर एउटा नमस्ते स्टुडियोमा तेजेन्द्र गुरुङको जिम्मामा र एउटा बार डिजिटल स्टुडियोमा धनबहादुर गुरुङलाई जिम्मा दिई जानुभएको रहेछ । त्यो कुराको समेत मसँग राम्रोसँग शेयर गर्न नपाई वहाँ बित्नुभयो । म राजनीतिक कामतिर बढी व्यस्त हुन थाले पछि वहाँले घरमा मेडमलाई पनि भन्नुभएको रहेछ श्यामजी व्यस्त हुनुभयो यो फिल्म छिटो बनाउनुपर्ने भनेर चिन्ता जाहेर गर्नुभएको रहेछ ।
लोकबहादुर सरले आप्mनो जीवनमा पछिल्लो १४ वर्षे कार्यकामा गुरुङ भाषा संस्कृति, चलचित्र पत्रकारिता, गीत संगीतमा र लोक कलाकारितामा समर्पित गरेर जानुभएको छ । वहाँले आप्mनो नीजि पहलमा गुरुङ समुदायलाई लक्षित गरेर पुष्प सौगात स्वरुप तमू संसार पत्रिकाको सम्पादन र प्रकाशन गर्दै आउनुभएको छ ।

वहाँ सधैं भनिरहनुहुन्थ्यो गुरुङ समुदायको आप्mनो पत्रिका वा सञ्चार माध्यम नभएको कारणले पनि पछाडि परेको स्थिति छ । हरेक गुरुङ गाउँ बस्तीहरुमा भइरहेका राम्रा साँस्कृतिक, सामाजिक तथा राजनीतिक गतिविधिहरु राम्रा नराम्रा घटनाहरु र कतिपय लुकेर रहेका प्रतिभाहरुलाई विश्वसामु उजागर गर्नको लागि एउटा नियमित रुपमा प्रकाशित हुने पत्रिकाको आवश्यक छ त्यसैले म यो तमू संसारलाई निरन्तर दिन्छु भन्नुभएको थियो र पछिल्लो समयमा आएर वहाँले फेरि पनि तमू संसारकै चिन्ता गर्नुभएको थियो । मैले माथि पनि उल्लेख गरिसकेको छु । वहाँको उमेरको कारणले यो नरोकियोस् निरन्तररुपमा प्रकाशित होस् भनेर अरु नयाँ प्रतिभाहरुसँग अपेक्षा गरिरहनुभएको थियो । त्यसैले अब हामीले वहाँले हामीलाई उपहारस्वरुप दिनुभएको तमूसंसारलाई निरन्तररुपमा अगाडि लानुपर्ने देखिन्छ । गुरुङ चलचित्र गीत संगीत र कलाक्षेत्रमा वहाँको समर्पण र योगदानको बारेमा मैले माथि नै चर्चा गरिसकेँ । त्यसको अलवा वहाँले नव युवा प्रतिभाहरुलाई असाध्यै माया गर्नुहुन्थ्यो । वहाँको साथीहरु वहाँको उमेर समूहको भन्दा पनि धेरैभन्दा धेरै युवा युवतीहरुको हामी ठूलो जमात रहेको छ । वहाँले बढी समय, नव प्रतिभाहरु हरेक क्षेत्रमा सम्भावना बोकेकाहरुसँग बिताउनुहुन्थ्यो । गुरुङ चलचित्र क्षेत्रको युवाहरुको जमात पत्रकारिता क्षेत्रमा लागेका युवाहरुको जमात, गीत संगीतको क्षेत्रमा लागेका युवाहरुको जमात र नृत्य क्षेत्रमा लागेका युवाहरुको जमातसँग छुट्टाछुट्टै गहिरो सम्बन्ध कायम गर्नुभएको थियो ।

वहाँले एउटा विशुद्ध गुरुङ चलचित्र निर्माण ग¥यौं भने त्यसमार्फत एकैसाथ धेरै प्रतिभाहरुलाई एउटा स्थान दिन सकिन्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । जब एउटा चलचित्रको लागि आवश्यक गीतकार, संगीतकार, गायक थुप्रै कलाकारहरु नृत्य निर्देशक, मेकपमेन, लाईटमेन लगायत थुपै्र प्रतिभाहरुलाई स्थान दिन सकिन्छ भन्नुहुन्थ्यो । त्यसरी नै त्यसमा भाषा, गीत संगीत र नयाँ–नयाँ ठाउँको दृश्य र संस्कृतिहरुको समावेश गरेर त्यसको संरक्षण र प्रचारप्रसार एवं प्रवद्र्धन गर्न सकिन्छ । त्यसकारण वहाँले जीवनमा पछिल्लो समयसम्म पनि बिशुद्ध गुरुङ चलचित्रको पक्षमा अडान लिनुभएको थियो । वहाँले पछिल्लो पटक मलाई दुखेसो पोखाइरहनु हुन्थ्यो कि गुरुङ चलचित्रको नाउँमा ताइन–तुइको न त भाषा छ न त संस्कृति र भेषभुषा छ, न कुनै सन्देशमूलक छ त्यही नेपाली चलचित्रको नक्कल गरी बनाएका गुरुङको कुनै मौलिकपन नभएको चलचित्रको हाबी भयो । वास्तवमा गुरुङ फिल्म एशोसियसन नेपाल जिफानले त्यस्तालाई प्रश्रय दिनु हुँदैन भनिरहनुहुन्थ्यो । संख्याको हिसाबले गुरुङ चलचित्र र गीत संगीत त थुप्रै बजारमा आएका छन् तर हाम्रो समुदायलाई मिल्ने खालको रिज्नेभिज्ने खाले चलचित्र र गीत संगीत अत्यन्त कम मात्रामा आइरहेको छ । अझैपनि हाम्रो सक्रियता आवश्यक छ भनेर भनिरहुनुहुन्थ्यो । कतिपय ठाउँमा वहाँले रातदिन महिनौ साधना गरेर सृजना गरेका शब्द संगीतहरुलाई अरुले चोरर आप्mना गीतमा समावेश गरेको देख्दासुन्दा वहाँ अत्यन्तै दुःखी हुनुहुन्थ्यो । आझै पनि गुरुङ चलचित्र र गीत संगीतको क्षेत्रमा हाम्रा संघसंस्था बौद्धिक व्यक्तिहरुको ध्यान र चासो नपुग्दा पनि वहाँ चिन्तित हुनुहुन्थ्यो ।


पछिल्लो समयमा वहाँले सृजना गर्नुभएको गाउँको परिचयात्मक गीतमध्ये घाम्राङ गाउँको गीतको भिज्युएल गर्न बाँकी रहेको छ र हामी दुई जनाले परिकल्पना गरेको गुरुङ चलचित्र ‘युम्पो देउराली†को स्कृप्ट तयार गरी छायाङ्कन गर्न बाँकी रहेको छ । त्यसको अलवा हामीले २०६७ सालमा अभियान फिल्मस प्रोडक्सन पोखराको १० वर्ष पुगेको अवसरमार पोखरामा हामीले “अभियान गुरुङ फिल्म एवार्ड” भव्यरुपमा सम्पन्न गरेका थियौं र अब एकपटक हङकङमा निर्माता तथा अन्य शुभचिन्तक साथीहरुको सहयोगमा ‘अभियान गुरुङ फिल्म अवार्ड† आयोजना गर्ने वहाँको ठूलो रहर थियो । त्यसरी नै धुमधामका साथ छोरा अभिषेक गुरुङको विवाह गर्ने पनि वहाँको ठूलो सपना र रहर थियो । वहाँका अधुरा काम र सपनाहरु पूरा गर्न र वहाँ सम्बन्धित रहेको विधा र क्षेत्रमा लागेका स्रष्टाहरुलाई वर्षेनी सम्मान र पुरस्कृत गर्दै लैजाने र अनन्त कालसम्म वहाँको स्मृतिलाई ताजा राखिरहनको लागि वहाँको नाममा एउटा स्मृति प्रतिष्ठान स्थापना गर्नुपर्ने सुझाव र सल्लाह सबैतिरबाट आइरहेको थियो ।

यस कुरालाई मध्येनजर राखी हामीले ८ वटा संस्था मिलेर पोखरामा वहाँको १३औं दिनको पुण्य तिथिमा भव्य श्रद्धाञ्जलीसभा सम्पन्न ग¥यौं । त्यसरी नै स्वतस्फूर्त रुपमा युकेको अल्डरसटमा श्री एकेन्द्र गुरुङको पहलमा त्यस्तै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ र त्यसरी नै स्वतस्फूर्त रुपमा मलेशियामा पनि वृहत श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो र युकेको श्रद्धाञ्जली सभामा एनआरएन युके का संस्थापक अध्यक्ष तथा तमू धि यु.के. को सल्लाहकार श्री मे.डम्मर घलेले लोकबहादुर स्मृति प्रतिष्ठान स्थापना गर्नको लागि रु. १,००,००० (एक लाख रुपैयाँ) त्यही श्री एकन्द्र गुरुङलाई चेक प्रदान गर्नुभएको थियो र पछि लगतै हामीले पोखरामा वहाँ आवद्ध संघसंस्थाका प्रतिनिधिहरु वहाँको परिवारका सदस्यहरुको सानो भेला गरियो ।

उक्त भेलाले म वेदबहादुर गुरुङ (श्याम)को संयोजकत्वमा पत्रकार रोशनी गुरुङ, हिमाली साँस्कृतिक परिवारका मेनकाजी गुरुङ, तरेली साँस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङ टप्स उच्च उ.मा.वि.का संस्थापक सञ्चालक श्री रत्नमान गुरुङ, लिटिल स्टेप स्टेप उ.मा.वि.का, संस्थापक सञ्चालक, शेरबहादुर गुरुङ र तमू साँस्कृतिक प्रतिस्ठानका अध्यक्ष चिजकाजी गुरुङ रहेको “लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठान” तदर्थ समिति गठन गरेको छ ।

अबदेखि प्रतिष्ठानले वहाँले प्रकाशन र सम्पादन गर्दै आएको “तमू संसार” पत्रिकालाई निरत्नररुपमा प्रकाशन गर्दै लैजाने, वार्षिक रुपमा वहाँको स्मृति दिवस मनाउने र प्रतिष्ठानको नाउँमा आर्थिक कोष खडा गर्ने र त्यसको ब्याजले वार्षिक रुपमा वहाँ सम्बन्धित रहेको तमू चलचित्र गीत संगीत र शिक्षाको क्षेत्रमा लागेका प्रतिभाहरु र स्रष्टाहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै लैजाने उद्देश्य राखेको छ ।

यसरी हामीले यो प्रतिष्ठान मार्फत वहाँको कृतिहरुको संरक्षण र प्रचारप्रसार गर्दै लैजाने वहाँको व्यक्तित्वलाई अझ उजागर गरी लैजाने र वहाँले देखाएको मार्गदर्शनमा अबका नयाँ पीडीलाई पनि लामबद्ध हुन प्रेरित गर्दै लैजाने कार्यक्रमहरु गर्दै लगेमा, वहाँको भौतिक शरीर हामीमाझ नभएपनि वहाँको स्मृति र कृतिहरु सधैं हाम्रो माझ अमर भएर बाँचिरहनेछ र वहाँप्रतिको सच्चा श्रद्धाञ्जली पनि हुनेछ भन्ने लागेको छ ।

0 0 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: