
‘स्वर्गको एक फन्को’ कविता सङ्ग्रहलाई नियाल्दा
–एकेन्द्र गुरुङ
तमू धीं युकेका उपाध्यक्ष एवम् रामबजार सोसाईटी युकेका निवर्तमान अध्यक्ष जमुकाजी गुरुङले नेपालबाट फर्केपछि “स्वर्गको एक फन्को” नाम गरेको पुस्तक मेरो हातमा थमाउनु भयो ।

जुन पुस्तक तमू संसार त्रैमासिक पत्रिकाको सम्पादक रोशनी गुरुङले लेखेको कविता सङ्ग्रह थियो । पुस्तक हेर्ने वित्तिकै कोमल र सुन्दर लाग्यो । गुरुङ साहित्यिक मञ्च नेपालको प्रकाशन रहेको हरियो पृष्ठभूमिमा सुन्दर फूलको थुँगाले सौन्दर्य चेत राम्रोसँग खुलेको देखिन्थ्यो । पुस्तक हात पर्ने वित्तिकै कहिले पढु, कहिले पढु हनु थाल्यो । हनु त नयाँ पुस्तक देख्ने वित्तिकै पढ्न पाए हुन्थ्यो लाग्ने मेरो आफ्नो पुरानो बानी नै भन्नुपर्छ ।

स्वर्गको एक फन्को भन्ने वित्तिकै यसभित्र के छ भन्ने जिज्ञासा र कौतुहलले छिट्टै पुस्तक पढ्न प्रेरित भएँ । शुरुदेखि अन्त्यसम्म कविता अधोपान्त पढें । कविता पढ्दा विषय र प्रसंगले आफूलाई नछुँदा कहिले कहि पुस्तक पुरै नपढी बीचैमा आएर थन्किन्छ पनि तर यहाँ त्यो लागू भएन । पुस्तकमा समावेश विषय वस्तुले मन छोयो, कविताकै लयमा म बगे, कवितामा चुर्लुम्म हुने गरि रमाई रहे, थाहै नपाई समाप्त भएछ ।
भाषाशैली सरल र सुन्दर लाग्यो विषय वस्तु सबै नेपालीको साझा भोगाई लाग्यो । त्यसैले स्वर्गको एक फन्को कविता सङ्ग्रहको बारेमा एउटा समिक्षात्मक टिप्पणी लेख्ने रहर पलायो । यो रहरले यो पुस्तकलाई न्याय दिन सकुला नसुकुला लेख्दैमा के बिग्रिन्छ र भन्ने सोंचले यो आलेख लेख्ने कोशिस गर्न लागेको छु । कवितालाई विज्ञहरुले आ–आफनो ढंगले परिभाषित गरेका छन् । यहाँ नेपाल प्रज्ञा प्रतिष्ठान अनुसार ‘कविता भनेको कविले भावना र अनुभूतिलाई छन्द र लयमा उनेर प्रस्तुत् गरिएको पद्यात्मक अथवा गद्यात्मक रचना वा कृति हो’ ।

मलाई लाग्छ कवितालाई कुनै निश्चित परिभाषामा सिमित गर्नु राम्रो हँुदैन । कविता शब्दहरुले व्यक्त गर्न नसकिएका भोगाई र बुझाईहरु पनि कविता बन्न सक्छन् । कविताले व्यक्त गर्न खोजेको विषय जे सुकै भए पनि कविता पढ्ने पाठकले जे बुझ्छ र अनुभूति गर्छ, त्यसैलाई कविता भनिन्छ ।
यसैमा केन्द्रित भएर स्वर्गको एक फन्को कविता सङ्ग्रह पढ्दा मैले जे बुझें, जे अनुभूति गरें, त्यही कुरा यहाँ उल्लेख गर्ने प्रयास गर्दैछु । यस पुस्तकमा समेटिएका कविताहरु नेपालको वर्तमान परिस्थितिको पृष्ठभूमि समेटिएका छन् ।
कवियत्रीले नेपालको प्रकृति, परम्परा, संस्कृति र समाजमा व्याप्त भोगाईलाई विम्व र मिथकको रुपमा प्रयोग गरेकी छन् । “मैले धर्ती छाडेको दिन” शीर्षकमा गुरुङहरुले मृत संस्कारमा गर्ने सबै विधि विधान र गतिविधीको सम्पूर्ण विवरण प्रस्तुत् गरेकी छन् । गुरुङ संस्कृतिमा आधारित भएर लेखिएको कविता यो भन्दा अगाडि पढेको थिएन ।
गुरुङ पूरोहितहरुले वाचन गर्ने वेदका मन्त्रहरु र श्लोकहरु, कर्मकाण्डमा बजाउने बाजाहरुको विस्तृत वर्णन गरको छ । गुरुङ समुदायको वोन परम्परा, सभ्यता र दर्शनलाई मिहिन ढंगले प्रस्टाएको छ ।
उता घर भित्र पच्यु र क्ह्लेप्री गुरुहरुले
मेरो आत्मालाई एकोहारो फकाईरहे छन्
आफ्नो कुरा निरन्तर सुनाई रहेछन् ।
कवियत्रीले यहाँ स्वर्गको कल्पना गर्दै कुनै एउटा सुन्दर वस्तीलाई प्रतिकको रुपमा व्याख्या गरेको छ । यसलाई कवियत्रीको लेखन कौशलता भन्न सकिन्छ ।
“त्यहाँको मायावी बस्तीहरु हिँडेर
आँखाले सौन्दर्य बटुल्दै गएँ
बाटोमा विछ्याएको चाँदीको सिँढीहरु
बाटो वरिपरि फुलेका लालुपाते र मखमली
फुलहरु बुट्टेदार पछ्यौरी जस्ता देखिएका थिए
सुनको जलप सहितको घरहरु चम्केको देख्दा
चकित परेर हेरि रहें म”

कहिल्यै पुग्न नसकिने, देख्न नसकिने तर सुख र शान्ति मिल्ने औलोकिक ठाउँ स्वर्गको विम्वको रुपमा कुनै सुन्दर ठाउँको अनुपम चित्रण गर्नु कवियत्रीको सौन्दर्य चेतको रुपमा लिन सकिन्छ ।
“घर फर्कि आउ छोरा” कविताले यतिखेरको नेपालको वास्तविक परिस्थितिको सटिक चित्रण गरेको छ । नेपालको सबै आमाहरुले बोल्ने भाषालाई टिपिक्क टिपेर बोलेको छ । जुन आमाहरुले बोल्ने गरेको आम भाषा हो । जस्ले सबैलाई भावुक बनाउँछ ।
“असारको रमझम” मा नेपालको पहाडी जिल्लाहरु विशेष गरि मध्यम वर्गिय परिवारको जीवन भोगाई प्रतिविम्वित भएको छ । स्याखु, गुन्द्रुक, ढिँडो, गंगटो र झयाउकिरी सबैको जिब्रोमा आईरहने शब्दहरु हुन् ।
“साँइली बज्यैको कथा” सबै नेपालीहरुको साझा कथा हो, “तिम्रो आगमन” अभागी प्रेमी प्रेमिकाहरुको वियोगान्तक कथा हो ।
“तिम्रो खोजी” प्रेमको नाममा तड्पी रहनेहरुको व्यथा हो । “अधुरो सपना” कहिल्यै पुरा नहुने सपनाहरुको सपना हो र “दशैं” गाउँघरको यथार्थ तस्वीर लिएको बेजोड प्रस्तुति हो । “आँखामा नाचि रहने याङ्जाकोट” यस कविता सङ्ग्रह भित्रको सबैले पढ्न लायक एउटा नोस्टालजिया कविता हो । यसले सबैको मनमुटु छुन्छ ।
“मैले खेल्ने गरेको घर आँगन
मैले घाँस दाउरा गरेको कुइचो वन
मैले क ख पढेको सीताराम स्कूल
मेरो जीवनको अमूल्य किताब हुन्”
यसमा याङ्जाकोटको मात्रै वर्णन हैन सँगसँगै सिंगो नेपाली संस्कार संस्कृतिको नालीबेली छ । एउटा अवोध बालिकाको जीवन संघर्षको कथा छ । रोधीं, मेलापात, घाँस दाउरा, घाँटु, सोरठी र कृष्णचरित्रको जीवन्त वर्णन छ । सिंगो नेपालको मौलिक दस्तावेज छ ।
“परदेशी साथी” र “सन्तवीरको कथा” उस्ताउस्तै लाग्छ । घरदेश र परदेशको वेलिविस्तार लगाएकोछ । एक छाक खानाको अनवरत संघर्ष गर्नेहरुको कुरा छ । जनु सबै नेपालीहरुले भोगिरहेको साझा कथा हो ।
“याद” कवितामा आफनो प्रेमिकाको यादमा छुताछुल्ल पोखिएको भावनाहरुको सङ्गालो छ । “फूल” शीर्षकमा आफू फूल जस्तै भएर सुवास छर्नुपर्ने सुझाव व्यक्त गरिएको छ । “पुस पन्ध्रको रमझम” ‘स्वर्गको एक फन्को’ कविता सङ्ग्रहको महत्वपूर्ण कविताको रुपमा लिएको छु ।
यो गुरुङ संस्कृतिको महत्वपूर्ण पाटो हो, यसलाई पहिचानको मुद्दासँग पनि लिने गर्दछ । नयाँ पिँढीले यसलाई अंगिकार गर्नुपर्छ भनेर कवियत्रीले आफनो चाहना व्यक्त गरेकी हनु । वीरलाल बाजे भेडी गोठमा बसेर थुप्रै हण्डरहरुसँग पौठेजोरी खेलेर कठिन जीवन यापन गर्ने अनगिन्ती पात्रहरुको साझा नाम हो ।
बुकी फूलको बासनासँगै यार्सागुम्बा, निरमसी टिप्दै लालीगुराँसहरुलाई आप्mनै जीवन सम्झने नियतिको साक्षी हो । कवि, कवियत्रीको कवितालाई आफनो अनुभूति अनुसार ग्रहण गर्ने अधिकार पाठकमा सुरक्षित हुनुपर्छ भन्ने मेरो मान्यता भएकोले स्वर्गको एक फन्को कविता सङ्ग्रहमा अहिलेको नेपालको समसामयिक परिवेशमा आम नेपालीले भोगेको भोगाईको कथा र कथाको परिकल्पना छ ।
नेपाली जनजीवनलाई जस्ताको तस्तै प्रस्तुत् गरिएको विम्वहरुको प्रतिविम्व हो । यहाँ माया प्रेमको कथाहरु छन्, संस्कार संस्कृतिको पाठहरु छन्, गाउँ वेँसीका भाकाहरु छन् । रोधी र घाँटुका रमाइला कुराहरु छन् । मैले खुलाउन नसकेका धेरै विम्वहरु छन्, जुन विज्ञ पाठकबाट खुल्ने आशा गर्छु । यसरी यो सुन्दर र मिठास कविता फेरि पनि पढ्न पाईरहोस् कवियत्री रोशनीलाई शुभकामना छ ।
आजको खबर
Follow Us

तमु प्ये ल्हु संघ कतारको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः चन्द्र ल्हेगे तमु निर्वाचित
७ आश्विन २०८०, आईतवार १५:३०
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38