ताजा खबर

घान्द्रुकमा सिनेमा, साहित्य र पर्यटन विषयमा बहस

   १४ माघ २०७७, बुधबार १९:२४      692 views

मुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोको रुपमा विकास गर्न सकिने सम्भावना देखिँदै आएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको सुटिङका लागि विशेषतः पोखरा र आसपासका क्षेत्र फ्रेममा अटाएका छन् । फिल्ममा उक्त क्षेत्रको दृश्य समेटिनुसँगै त्यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको छ । त्यस्तै ठाउँ मध्ये कास्की अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँ पनि सिनेमा छायांकनको लागि सम्भावना युक्त रहेको ठाउँ हो ।

सुन्दर घान्द्रुक गाउँमा नेपाल चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा मंगलबार ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रममा ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य ः सम्बन्ध र साझेदारी’ बारे छलफल चल्यो ।

छलफलको पहिलो सेसन ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’ मा वक्ताको रुपमा नेपाली चलचित्रका निर्देशक÷नायक सुदर्शन थापा, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई र पत्रकार वासु मिश्रले सहजीकरण गरे । छलफलको सुरुवातमै सहजकर्ता मिश्रले वक्तातर्फ भावार्थ रुपमा नेपाली भूगोललाई नेपालीले नै चिन्न नसकेको र पर्यटन प्रर्वद्धनमा ठूलो आयतनमा सहयोग नपुगेको बताए । कोभिड पछि अत्यन्तै प्रभावित क्षेत्रमध्ये सिनेमा र पर्यटन दुबै पर्छन् ।


अहिलेको पर्यटन क्षेत्रको अवस्था कस्तो छ त ?‘कोरोनाले हरेक क्षेत्रलाई अस्तव्यस्त बनाएको छ । कोरोना साम्य बन्दै गएपछि भने विस्तारै लयमा फर्किँदै छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘आन्तरिक पर्यटनलाई कसरी पुर्नस्थापना गर्न सकिन्छ भनेर नेपाल सरकारसँग समन्वय गरिरहेको अवस्था छ ।’

निर्देशक सुदर्शन थापाले कोभिडले सम्पूर्ण क्षेत्रलाई असर गरेको बताउँदै सिनेमा र पर्यटन दुबै क्षेत्र पनि अति प्रभावित भएको सुनाए । उनले भने, ‘पर्यटन र सिनेमा एकदमै जोडिएको विषय हो । सिनेमा छायांकनका लागि विभिन्न ठाउँमा पुगिन्छ । म पनि १२ वर्ष अघि घान्द्रुक आएको थिएँ ।’ आफू १२ वर्षअघि “मेरो एउटा साथी छ” फिल्म सुटिङका लागि नयाँपुलदेखि खच्चरमा सामान बोकाएर घान्द्रुक आएको स्मरण गर्दै उनले भने, ‘सिनेमाले पर्यटनलाई सहयोग त गर्छ नै । म त्यसबेला र अहिले आउँदा धेरै परिवर्तन भइसकेको छ । केही हदसम्म टेलिफिल्मले निकै चिनायो घान्द्रुकलाई । विकास निर्माणको काम पनि धेरै भइसकेको रहेछ ।’

तनहुँको मानहुँकोटको चर्चा यतिबेला चुलिएको छ । युवापुस्तामाझ चर्चित टिकटक एपमा राखिएको १५ सेकेण्डको भिडिओले उक्त डाँडालाई चर्चित बनायो । त्यसरी नै सिनेमाले कुनै ठाउँलाई पर्यटकीय हबको रुपमा विकसित बनाइसकेको छ । सहजकर्ता मिश्रले मानहुँकोटकै सन्दर्भ उल्लेख गर्दा पर्यटन परिषद्का अध्यक्ष भट्टराई सहमत सुनिए । उनले भने, ‘सिनेमाको माध्यमबाट विश्वका धेरै ठाउँहरु पर्यटकीय हब बनेका छन् । सिनेमाबाट पोखराका पेरिफेरि एक्सपोजर भइरहेका छन् । अहिले पर्यटन संस्थाहरु अस्ताएको हो कि भन्ने लाग्छ । त्यसमा हाम्रो समन्वय जरुरी छ ।’

तर सिनेमा र गीतसंगीतले पर्यटकीय क्षेत्रको रुपमा कुनैपनि स्थानलाई चिनाउन सहयोग गरेपनि त्यसको विकास निर्माणमा सहयोग गरि नै हाल्ने भने नहुने निर्देशक थापाको मत छ । उनले भने, ‘मुस्ताङमा सुटिङ गर्दा के यो माया हो ? फिल्म खिच्यौं तर त्यसमा भूगोलको चर्चा भएन । पछि त्यहीँ प्रेम गीत खिच्यौं । घाँसादेखि मुस्ताङसम्मको क्षेत्रलाई स्टोरीमा बाँधेर देखाउँदा स्थानीयको प्रतिक्रिया राम्रो पायौं । आन्तरिक पर्यटन आउँदा नै अझ राम्रो बनेको सुनियो । त्यो ठाउँलाई कसरी देखाउने, भेषभूषा, कल्चरलाई देखाउन सक्यौं भने रुचिका साथ दर्शकले हेर्न पाउँछन् ।’

सरकारी निकायको सहयोग भने अपेक्षा नगरिएको भएकाले वास्ता नभएको उनको प्रतिक्रिया छ । त्यसको साटो स्थानीय स्तरबाट पाएको सहयोगले नै हौसला मिलेको उनले बताए । ‘ड्रोन शटका लागि सरकारी अनुमति लिनुपर्छ । त्यसमा प्रक्रिया त्रुटि भयो भने पनि हामी सजाय भोगिरहेका हुन्छौं ।’

पर्यटन सम्बद्ध संस्थाहरुको सहयोग सिनेमा क्षेत्रलाई पर्याप्त नभएको पो हो की ? भन्ने प्रशनमा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘माया त गरेकै छौं तर समन्वय नभएको चाहिँ हो । विगतमा भएको कमजोरी भन्दा पनि आगामी दिनमा राम्रो गर्दै जाने हो ।’

उक्त प्रसंगमा भने निर्देशक थापाको मत केही फरक सुनियो । उनी भन्छन्, ‘कुनै ठाउँलाई सिनेमाले पर्यटन क्षेत्रलाई उकास्यो भने पनि धन्यवाद पाएनौं । हामी पनि छायांकन सकेर त्यस ठाउँसँग सम्बन्ध राखेनौं । स्थानीयस्तरमा त धेरथोर होला तर सम्बद्ध निकायसँग छैन ।’

यस्तै, नेपाली साहित्यीक कृति सेतो बाघ, वसन्ती, झोलादेखि लिएर पछिल्लो पुस्ताले अत्यधिक रुचाइएको उपन्यास समर लभ माथि सिनेमा बनेका छन् । केही कृतिले ऐतिहासिक देश कालको कथा बोलेका छन् भने कुनै कृतिले समसामयिक परिवेशलाई चित्रण गरेका छन् । तीनैको कथामा सिनेमा निर्माण हुँदा साहित्यसँगको सम्बन्धलाई सिनेमाले जोडेको छ ।

दोस्रो तथा अन्तिम सेसन ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ मा यस्तै विषयमा छलफल चल्यो । सेसनमा वक्ताहरुमा कलाकार दीपकराज गिरी, लेखक गनेश पौडेल, कवि भूषिता वशिष्ठ र सहजकर्ता दिनेश डिसी थिए ।

वक्ताहरुसँग सहजकर्ता डिसीले साहित्यीक कृतिमाथि बनेका फिल्महरुको समीक्षा अनुभवबारे प्रश्न गरे । कवि भूषिताले सिनेमाको संवादमा मौलिकता हुनुपर्ने बताइन् । कलाकार दीपकराज गिरीले लेख्ने चिज र बोल्ने चिज दुबै फरक भएको बताए । ‘व्यावहारिक जीवनसँग जोडिने संवादले सिनेमामा दर्शकलाई जोड्छ । साहित्यबाट सिनेमा रुपान्तरित हुन्छ जब सहजता हुनै पर्छ ।’ साहित्यमाथि सिनेमा पर्याप्त मात्रामा नबन्नुको कारण सिनेमाकर्मी दर्शकसँग डराएको कलाकार गिरीले सुनाए । उनले भने, ‘लेखिने र बोलिनेमा फरक हुन्छ नै । जटिलता हुने कारणले गर्दा पनि होला नेपालमा साहित्यमाथि सिनेमा बनेन् ।’

लेखक गनेस पौडेलले पञ्चायती व्यवस्थाको ह्याङओभर अझै पनि नेपाली सिनेमाबाट उत्रिन नसकेको बताए । ‘पञ्चायतमा राजा महेन्द्रले नेपाली चलचित्रमा प्रयोग गरिने संवादलाई शुद्धिकरण गर्न र भाषिक एकीकरण गर्नका लागि पात्रले बोल्ने संवाद मौलिक लागेनन् । त्यसको ह्याङओभर अझै बाँकी छ । सिनेमा कला हो भाषा होइन ।’ आफ्नो परम्परा र संस्कृतिलाई घुसाएर हरेक प्रकारका कला सिनेमा देखाउन सकिने उनले बताए ।

बलिउड फिल्मको दृश्यलाई उल्लेख गर्दै कुनै भिलेनले हिरोलाई लखेट्दा होली मनाइरहेको दिन खेदेको देखाइने बताए । त्यसले परम्परा र संस्कृतिलाई पनि फिल्मको संवादसँगै चित्रण गरेको उनको भनाई थियो ।

यता कलाकार गिरीले भने एकाध बनेका चलचित्रलाई गनेर चलचित्र क्षेत्रको इतिहासलाई ५० वर्ष मान्न नहुने बताए । प्रजातन्त्रको पुर्नस्थापना पछि नै नेपाली सिनेमाको उत्थान भएको उनको भनाई छ । ३० वर्षको मात्र नेपाली सिनेमाले यात्रा पार गरेको उनले बताए ।

‘उपन्यासमा डायलग थोरै र विवरण धेरै हुन्छन् । सिनेमा दृश्य भाषामा बोल्नु पर्ने हुन्छ त्यसमा पनि सीमितता छ । अर्को बजेटले पनि प्रभाव पार्छ,’ कलाकार गिरीले भने, ‘मार्केटले भन्छ, दुई करोड भन्दा माथि लग्यो भने डुब्यौं । एउटा भिलेनले हिरोलाई लखेटेको सिन देखाउनलाई होली सिनका लागि पाँच सय मान्छे जम्मा पार्न बजेटले नथेग्ने हुन्छ ।’ साहित्यसँग सिनेमाको साझेदारीको प्रश्नमा कवि भूषिताले सिनेमाकर्मी साहित्यकारहरुसँग डराउन नहुने बताइन् ।

कार्यक्रमलाई समापन गर्दै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले लामो समयको बन्दाबन्दी पश्चात खुलेको पर्यटन र चलचित्र क्षेत्रको प्रचारप्रसारका लागि आफुहरुले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराए । उनले भने,“हाम्रो टिमलाई कोरोना पछि पनि केही न केही कार्यक्रम गरौं भन्ने लागेको थियो । साहित्य, पर्यटन र सिनेमा तीनै क्षेत्रमा काम भइरहेका थिएनन् । फेरि पछिल्लो समय सिनेमा भित्र साहित्य र पर्यटन दुवै अटाउन थालेका छन् । हामीले तीनै क्षेत्रलाई एउटै मञ्चमा प्रस्तुत गर्ने निर्णय गर्यौं । जसमा पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङ र लामा अमृत फाउन्डेसनका अध्यक्ष अमृत गुरुङको साथ मिल्यो । अनि मात्र आँट गर्यौं ।”

अरुण गिरीले छोटो समयको तयारीमा “सिनेमा संवाद एट घान्द्रुक” सम्पन्न भएको बताए । कार्यक्रम घान्द्रुकको गुरुङ कटेजमा गरिएको थियो । स्वागत मन्तव्य किसम गुरुङले राखेका थिए भने संचालन सचिव प्रभु अधिकारीले गरेका थिए ।

सिनेमा संवाद कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाल टुरिजम बोर्ड, इसेवा, कुटी रिर्सोट एण्ड स्पा, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पर्यटन व्यवस्थापन समिति घान्द्रुक, परिचय एडभरटाइजिङ, गुरुङ चलचित्र शिरसुबा, अमृत लामा फाउन्डेसन घान्द्रुक, मूल आमा समूह घान्द्रुक र डाँडा गाउँ युवा परिवार घान्द्रुकले सहयोग गरेको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: