
पाठशालापछि तमुहरुकै टाइम र स्पेसमा उपन्यास लेख्नेछु – तीर्थ गुरुङ
गुरुङ समुदायमा जन्मेर साहित्यिक कर्ममा होमिएका थोरै व्यक्तिहरु मध्ये एउटा नाम हो तीर्थ गुरुङ । सरल, इमान्दार र मिजासिलो स्वभाव उहाँको परिचय हो । विभिन्न पुस्तक तथा पत्रपत्रिकालाई मसिनो गरी अध्ययन गर्ने त्यसलाई केलाउने र आपूmलाई परिमार्जित गर्दै अघि बडने उहाँका विशेषता हुन । कास्कीको मादी गाउँपालिका वडा नं. १ सिक्लेसमा बाबा आइमन गुरुङ र आमा कुमारी गुरुङको सन्तानको रुपमा जन्मिनु भएका उहाँ हाल पोखरामा स्थायी बसोबास गर्नुहुन्छ भने पोखरा लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा कार्यरत हुनुहुन्छ ।
पृथ्वी नारायण क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएका उहाँ साहित्यको आलवा सङ्गीत र सिनेमामा पनि रुची राख्नु हुन्छ । शैक्षिक जगतको बेथिती, मध्यम वर्गको परिवारको जीवन शैली लगायत समाजमा घटने विभिन्न घटना क्रमहरुलाई समेटेर उहाँले तयार पार्नुभएको पुस्तक “पाठशाला” २०७४ सालमा प्रकाशित भयो सोहि वर्ष प्रकाशित भएका पुस्तकहरु मध्ये मदन गुठीद्धारा सञ्चालित र प्रदान गर्दै आई रहेको साहित्य विधाको सर्वोउत्कृष्ट पुरस्कार मदन पुरस्कारको लागि छानिएका आठ वटा पुस्तक मध्येमा पर्न सफल भएको छ भने कास्कीको मादी गाउँपालिकाले यस वर्षको उत्कृष्ट साहित्यकारको रुपमा सम्मान गरेको छ । यीनै चर्चित लेखक एवं साहित्यकार तीर्थ गुरुङसँगको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ ।

साहित्य क्षेत्रमा प्रवेश कसरी भयो ?
घरको काममा मात्र हैन खेलकुद र अन्य हाहाहुहुमा पनि म लोसे थिएँ । जसले गर्दा म अन्तर्मुखी स्वभावको हुन गएँ र किताबहरु मेरा साथी हुन आए यसरी बिस्तारै म साहित्यको पाठक बन्न पुगें । त्यसपछि बिस्तारै पोखरेली साहित्यकारहरूसँग सम्पर्कमा आएँ । खास गरेर सरुभक्तको संयोजकत्वमा हुने संरक्षण कविता आन्दोलनमा हिँड्न थालेपछि अलि गम्भीर भएर यो क्षेत्रमा लाग्न थालें ।
तपाइँको बुझाइमा साहित्य के हो ?
साहित्य समाजकै ऐना हो । जीवन र जगतको कलात्मक प्रस्तुति नै साहित्य हो अनि साहित्य निरंकुश, शक्तिशाली व्यक्ति वा संस्थाका विरुद्ध कमजोरहरूले चोटिलो प्रहार गर्ने हतियार पनि हो । अझ स्पष्ट पारेर भन्ने हो भने यो वैकल्पिक इतिहास पनि हो, सत्ता र शक्तिमा रहेकाहरूको गुणगान गरेर लेखिएको झुट इतिहासको ।
पाठशाला कस्तो किताब हो ?
‘पाठशाला’ एकजना किशोरको आँखाबाट हेरिएको वि.स. २०४६ यताको समाजको एउटा सानो तस्वीर हो । पाठशाला हाम्रो समाज, हाम्रो अवैज्ञानिक शिक्षा पद्धतिको कारण एउटा प्रतिभाशाली विद्यार्थीको अधोगतिको कथा हो । पाठशाला बहुदलीय व्यवस्था आएपछिको नेपाली समाजको एउटा पाटोको कथा हो । यी कुराहरूलाई मैले कमिक जान्रमा उन्ने प्रयास गरेको छु । सकेसम्म बजारिय किशोरहरूको बोलीमा कथा वाचन गरेको छु । परम्परागत नेपाली कथा भन्ने शैलीबाट अलग्गिएर नेपाली साहित्यमा केही नौलो स्वाद पस्काउने प्रयास हो पाठशाला ।

कतिको सफलता पाइरहनुभएको छ पाठशालाबाट ?
पहिलो कृति हुनाले आम पाठकहरुमा एक खालको अन्योल छ । किताबको विमोचन पनि नभएको र मुख्य पत्रिकाहरुमा समीक्षा त परै जाओस् पुस्तक परिचयसम्म नआएकोले अपेक्षित सफलता पाएको छु भन्न सक्दिनँ । तर जतिले पढेका छन् राम्रो प्रतिक्रिया पाइरहेको छु र त्यसले मलाई उर्जा र प्रोत्साहन मिलेको छ । अहिले मदन पुरस्कारको प्रारम्भिक सुचीमा परेपछि भने म निकै उत्साहित छु । अघि पत्रपत्रिकातिर केही नछापेको पहिलो पुस्तक नै एकाएक चर्चामा आएपछि मेरो लागि पुरस्कार पाए सरह नै भएको छ ।
तपाईको दृष्टिकोणमा गुरुङ साहित्य र नेपाली साहिरुत्यमा के फरक छ ?
नेपाली साहित्य लिखित भैसकेको छ भने गुरुङ साहित्य लिपिको अभावमा मौखिक नै छ । संस्कृतको शास्त्रीय प्रभाव, हिन्दीको सजातीय प्रभाव र पश्चिमी आधुनिक प्रभाव परेका भए पनि नेपाली साहित्यको उचाइ देवकोटा, रिमाल, भूपि, विपी र पारिजात भन्दा माथि उक्लन सकेको छैन । व्यासायिक रुपमा फड्को चाहिँ मार्न थालेको जस्तो छ । गुरुङ साहित्यमा त धेरै गरिन बाँकी छ । हाम्रो आफ्नै शैली हुनु आवश्यक छ । देवनागरी वा रोमनमा हाम्रो टोन लेख्न मिल्दैन । सिक्किम तिर लिपि बनेको खबर आएको छ । त्यो कतिको वैज्ञानिक छ, हेर्नुपर्छ र मिल्छ भने त्यसकै आधारमा अघि बढ्न सकिन्छ ।

उसो भए गुरुङहरु साहित्यमा अभैm अघि बढ्न के गर्नु पर्ला त ?
गुरुङ मात्र हैन कुनै पनि समूदाय साहित्यमा अघि बढ्न तीनवटा अनिवार्य सर्त छन, अध्ययन, अध्ययन र अध्ययन । देशी विदेशी भाषाका आख्यान र गैर आख्यानको अध्ययन मात्र हैन आफनै वरिपरिको वस्तु स्थितिको मिहीन अध्ययन पनि आवश्यक छ । पच्यु ल्हेब्रीले पढ्ने पे ताँ ल्हु ताँमा अनेकौं कथाहरू छन्, मिथहरू छन् । तिनलाई आख्यानीकरण गर्न सकेमा गुरुङ साहित्य पनि समृद्ध हुन सक्छ । त्यसमाथी हाम्रो समूदायका मान्छेहरू लाहुरेको रूपमा संसारको कुनाकुना पुगिसकेको हुनाले युद्ध साहित्य र संस्मरण आउने ढोका पनि उत्तिकै खुला छ ।
एउटा लेखकले ध्यान दिनुपर्ने कुराहरु के के हो ?
लेखक पनि समाजकै सदस्य भएको हुनाले ऊ केही कुराबाट निरपेक्ष बस्न हुँदैन । उसँग इतिहास र भूगोलको ज्ञान हुनुका साथै राजनैतिक चेतना र भविष्य प्रतिको चिन्तन पनि गहिरो हुनुपर्दछ । आम मान्छे भन्दा एकजना लेखक बढी नै समबेदनशील र सचेत हुनुपर्छ ।

आउने दिनको योजना के छ ?
तमु मिथहरुको काँध चढेर तमुहरुकै टाइम र स्पेसमा एउटा उपन्यास लेख्न गैरहेको छु ।
प्रस्तुति – रोशनी गुरुङ
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38