ताजा खबर

गुरुङ चलचित्र एक दृष्टिकोण / एकेन्द्र गुरुङ

   १२ पुष २०७५, बिहीबार २२:२१      3,413 views

–एकेन्द्र गुरुङ

एक पछि अर्को सिलसिलावर देखाउने चित्रहरुलाई चलचित्र भनिन्छ । अर्थात् चलचित्र भनेको थोरै दृश्यहरुले धेरै अर्थ बुझाउने, एउटै शब्दले धेरै अर्थ बुझाउने विम्वहरुको प्रतिविम्व हो । जस्ले समाजलाई मनोरञ्जन दिन्छ, सुसज्जित गराउँछ, जागरुक बनाउछ र ज्ञान र सिप प्रेषित गर्छ । तसर्थ चलचित्र सामाजिक रुपान्तरणको संवाहक हो र संस्कृति निर्माण र प्रवद्र्धनको संयन्त्र र प्रकृया हो । चलचित्र निर्माण गर्न सजिलो छैन । यसको निर्माण गर्दा निर्देशक र निर्माताहरुलाई बिषय वस्तुको ज्ञान प्रविधिको चेत र समाजको भावनाको बोध हुनुपर्दछ ।

बि.सं. २००७ सालमा डि.वि. परियारले कलकत्तामा निर्माण गरेको ‘सत्य हरिश्चन्द्र’ पहिलो नेपाली चलचित्र हो (परियार /२०४२) । २०१३ सालमा राजा महेन्द्रको राज्यभिषेकमा अमेरीकी चलचित्र निर्माता नोवेल थोमसले राज्यभिषेकको वृत्तचित्र र सर्च फर प्याराडाईज चलचित्र बनाएका थिए । २०१९ मा देहारादुनका हिरासिह खत्रीलाई महेन्द्रले आफनो जन्मोत्सव र ‘विकासको बाटोमा नेपाल’ नामको वृत्तचित्र बनाउन लगाएका थिए (मैनाली २०६१, ३) । २०२२ सालमा तत्कालिन निर्देशन मन्त्रालयको प्रचारप्रसार विभागले निर्माण गरेको चलचित्र ‘आमा’ नेपालमा बनेको पहिलो चलचित्र हो ।

यो चलचित्र पनि राजा महेन्द्रले नै बनाउन लगाएको थियो । यसरि वि.सं. २००७ सालबाट शुरु भएको नेपाली चलचित्रको इतिहास हालसम्म आईपुग्दा अनगिन्ती चलचित्रको निर्माण भैसकेको छ । तापनि अधिकांश नेपाली चलचित्र हिन्दी चलचित्रकै नक्कल गर्ने र यसैको सेरोफेरोमा अल्मलिरहेको विज्ञहरु बताउछन् । प्रजातन्त्रको पुर्नबहाली पाई जनजातिहरुले पनि आफनो भातृभाषामा चलचित्र निर्माण गर्न थाले । मुलधारको संचारमा ठाउँ नपाईरहेका आफनो जातिय तथा साँस्कृतिक धरोहर तथा विम्वहरुलाई चलचित्रको माध्यमबाट सशक्त रुपमा प्रस्तुत गरेर आफनो पहिचान स्थापित गराउन थाले । यहि कारणले गर्दा मातृभाषी चलचित्र निर्माण अभियान नै शुरु भयो । नेपाली चलचित्रले एउटा समूहको मात्रै साँस्कृतिक परिवेशलाई चित्रण गरेको छ ।

नेपालको बद्लिदो राजनैतिक, साँस्कृतिक परिदृश्यमा सबैले आफनो छुट्टै पहिचानको अपेक्षा गरेको अवस्थामा चलचित्रमार्फत आफनो भाषा, संस्कृतिलाई स्थापित गर्ने उद्देश्यले विभिन्न मातृभाषामा चलचित्र गर्न थालेको हो । बिक्रम सम्वत २०४४ सालमा निर्माण गरिएको नेवारी चलचित्र ‘शिलु’ नै प्रथम मातृभाषी चलचित्र हो । २०४६ सालमा पूर्वेली थारु भाषामा ‘करम’ निर्माण भयो । २०५२ सालमा मगर भाषामा ‘लहान’, तामाङ्ग भाषामा ‘सेममरी छोरङान’ र गुरुङ भाषामा पाते (माईली) बनेको थियो । यस्को श्रेय प्रितम गुरुङलाई जान्छ । २०५२ सालमै पोखराबाट स्व. मिन बहादुर गुरुङ र लोक बहादुर गुरुङको प्रयासमा ‘न्हाम्स्यो न्होरी’ (कुहिरो चित्र) निर्माण भएको थियो । यी सबै चलचित्र निजी लागनीमा बनाइएका हुन् । नयाँ अवसरको खोजिमा मानिसहरु
आफनो थातथलो छाडेर मानिसहरु सुविधा सम्पन्न ठाउँमा बसाई सर्न थाले । गुरुङ पनि बसाई सर्ने प्रकृयाबाट अछुतो रहेन ।

नयाँ ठाउँमा बसाई सर्दा गुरुङहरुको भाषा, संस्कार र संस्कृति लोपोन्मुख अवस्थामा रहेको छ । भाषा, संस्कार शास्त्री अनुसार भाषा, संस्कार र संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्न चलचित्र सशक्त माध्यम हो । अर्थात् साहित्य, कला तथा चलचित्रको माध्यमबाट भाषा र संस्कृतिलाई जोगाउन सकिन्छ । आफनो भाषा र संस्कृतिलाई राष्ट्रिय पहिचानको अवधारणा भित्र स्थापित गराउन पनि आफनो मातृभाषामा चलचित्र निर्माण गर्न थालेको हो । चलचित्र निर्माण आफनो भाषा, कला र संस्कृतिलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्न सजिलो उपाय पनि हो । तसर्थ सिमित बजारको वावजुद पनि गुरुङ भाषी धेरै चलचित्रहरु निर्माण भएका हुन् । पाते (माईली) र न्हाम्स्यो न्होरी (कुहिरो भित्र) २०५२ बाट शुरु भएको गुरुङ भाषी चलचित्र आज सम्म १२८ वटा निर्माण भैसकेका छन् (जिफान) ।

संभवत जनजातिहरुमा सबैभन्दा धेरै मातृभाषी चलचित्र गुरुङ भाषामा निर्माण भएको छ । वि.सं. २०५२ सालबाट शुरु भएको गुरुङ भाषी चलचित्र एक बर्षमा सरदर ९/१० वटा सम्म निर्माण हुन्छ । गाउँ शहर, घरदेश परदेश सबै ठाउँमा गुरुङ भाषी चलचित्र निर्माणमा प्रतिस्पर्धा नै भईरहेको छ । आफनो भाषा, भेषभुषा, कला र संस्कृतिको संरक्षण र उत्थान गर्नका लागि चलचित्र निर्माणमा लागेको बुझिन्छ । गुरुङ चलचित्र निर्माण गर्दा गुरुङ संस्कृतिमा आधारित नेपाली भाषामा पनि चलचित्र निर्माण गरिरहेका छन् । नेपाली भाषामा चलचित्र बनाउछन् र गुरुङ फिल्म एसोसिएशनमा दर्ता गराउछन् ।

गुरुङ फिल्म एसोसिएसन (जिफान) गुरुङ चलचित्र संरक्षण र प्रवद्र्धन गर्ने साथै व्यवस्थित र मर्यादित बनाउन स्थापित भएको संस्था हो । २०६४ सालमा स्थापना भएको ‘जिफान’ गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था हो । चलचित्र निर्माणमा दृश्यले भेषभूषाले सतहि र हल्का अलकारिता मात्र दिन्छ । बिषय वस्तु, कथा र तर्कले चलचित्रको संरचनाको रुप दिन्छ । अभिनय, गीत संगीत र दृश्यले चलचित्रलाई आत्मा दिन्छ । आत्माले प्राण भर्छ । दर्शकले नजरबाट नसा नसामा समाहित बनाउँछ । चलचित्रमा कलाको संरचना भन्दा स्थानियतालाई मुख्य आधार मानिन्छ । चलचित्रको भाषामा स्थानियता भनेको सामाजिक यर्थात हो । गुरुङ भाषा संस्कृतिमा धेरै स्थानियहरु पाइन्छ ।

रोधिं र रोधिंसंग सम्बन्धित विम्वहरु स्थानियताको आधार र स्रोतहरु हुन् । गुरुङ भाषा र संस्कृतिको सहि व्याख्या प्रयोग र व्यवस्थापन नभएमा गलत बिषयहरु संप्रेषण हुन्छ । परिणाम समुदायमा विकृति र विसंगतिको संदेश प्रवाह हुन्छ । समाज विभाजित र विखण्डित हुने संभावना हुन्छ । यसबाट प्रष्ट हुन्छ गुरुङ चलचित्र गुरुङ भाषामा नै निर्माण भयो भने स्थानियताको भरपूर प्रयोग हुन्छ । गुरुङ भाषाको विम्वहरु नेपाली भाषामा मेल नखान पनि सक्छ । गुरुङहरुको आफनै खालको भाषा, साहित्य र साँस्कृतिक परम्परा छ । हाम्रो आफनो मौलिक गीत छ । गायन छ, भाका र लय छ ।

वाद्यवादन छ , सांगीतिक धुन छ, परम्परागत नृत्य र नृत्य शैलि छ । आफनै विशिष्ट भूगोल छ ।
यसको संयोजनबाट निर्माण भएको कला नै मौलिक र वैज्ञानिक कला हो । जुन चलचित्र निर्माणको अचुक सुत्र हो ।

यसको प्रयोग एरिक भ्यालिले ‘क्यारभान’ निर्माणमा गरेको थियो । ‘क्यारभान’ ले एरिक भ्यालिलाई संसारभर चिन्हायो । नायक थिन्ले साधारण पात्रमा मात्रै सिमित बनायो । गुरुङ भाषामा धेरै चलचित्र निर्माण हुनुमा गुरुङहरु आफनो भाषा संस्कार, संस्कृतिको र संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने चेतनाले गर्दा हो । गुरुङहरु बसाई सरेर पोखरा, चितवन, काठमाण्डौं र बाहिर जापान, हंगकंग, अष्ट्रेलिया, युके, अमेरिका, युरोप, खाडीमूलक, मलेशिया, भारत जहाँ बसे पनि मातृभाषाको चलचित्रमा आफनो गाउँ, ठाउँ, भाषा र संस्कृतिसंग साक्षात्कार हुने हुँदा असिम सन्तुष्टि प्राप्त गर्छन् ।

डायस्पोराका गुरुङहरु भाषा, कला र संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने जिम्मेवारी आफनो पनि सम्झन्छन् । त्यसैले चलचित्र निर्माण गर्छन्, अरुले बनाएको चलचित्रलाई सहयोग गर्ने कोशिष गर्छन् । यसरि सबैले आफनो क्षेत्रबाट साथ र सहयोग पु¥याएकोले प्रत्येक बर्ष ९/१० वटा चलचित्र निर्माण गर्न सफल भएको हो । फलस्वरुप गुरुङ जातिय र साँस्कतिक पहिचानमा सहयोग पुगेको छ । भाषा, कला, साहित्य र संस्कृति प्रर्वद्धन भएको छ । यस्का लागि चलचित्र निर्माणमा अंह भुमिका खेल्नु हुने सबै धन्यवादका पात्र हुन् ।

वहाँहरु हुनुहुन्छ प्रितम गुरुङ, स्व. मिनबहादुर गुरुङ (डाँफे कला), स्व. लोकबहादुर गुरुङ, गोरे गुरुङ, केसबहादुर गुरुङ, सुवास गुरुङ, भोज बहादुर गुरुङ, करण गुरुङ, बेदबहादुर गुरुङ (श्याम), माओत्से गुरुङ, कृष्णकुमार गुरुङ, पृथ्वीमान गुरुङ, खुस बहादुर गुरुङ, सुनिता गुरुङ, बलबहादुर गुरुङ, मनोज गुरुङ, लिलबहादुर गुरुङ, युग गुरुङ, गुञ्जबहादुर गुरुङ, मनोज गुरुङ, जितमान गुरुङ, जसु गुरुङ, दिपेस गुरुङ, जनक गुरुङ, उमान सि गुरुङ, नौ जंङ्ग गुरुङ, ओम प्रकाश गुरुङ (जिफान), यस अलावा निर्माताहरु, गीतकार, संगीतकार, कलाकार सबैलाई सम्झनु पर्नेहुन्छ । संसारभरका दर्शकहरु, शुभचिन्तकहरु सबैलाई सम्मान व्यक्त गर्नु पर्छ जसले गुरुङ चलचित्रलाई माया र साथ दिनुभयो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: