
असार र मेरो बालापन

असारको महिना एकविहानै उठेर
आँखा मिच्दै खाना खाएर
गैरी खेतमा रोपाई गर्न जान्थ्यौ
अलिकति रहर अलिकति बाध्यता
सबैलाई सङगालेर छुपुछुपु धान रोप्थ्यौ
कम्मरमा पटुकी कसेर
आधीउधी उत्रेको चोलो
शिरमा क्रमु ओढेर
घुँडामाथिसम्म लुङगी बेर्दै
स्याखु बोकेर रोपाई गर्न जानु
मेरो असारे परिचय हो
धानको ब्याड छेऊैमा कराउने
झ्याउँकिरी र मेरो बालापन
खेतको आलीतिर हिड्ने गँगटो
समाउदै दौडिने चञ्चले स्वभाव
अनि
धानको बिउँ काटदै गर्दा
कयन पटक स्याखुको बीचमा
निदाएको त्यो पल
आज पनि म सम्झिन्छु
दिउँसो ब्याड छेउमा बाबाले
खाजा पकाउँदै गर्दा
यता मेरो पेटमा भोकले
चरम सिमा नाघेको त्यो समय
ढिँडो र गुन्द्रुकको व्यग्र प्रतिक्षा हुन्थ्यो
रोपाई जाने त मेरो बहाना मात्रै हुन्थ्यो
त्यो भन्दा बढी मेरो ध्यान
झ्याउँकिरी कराएको दुलो हेर्दै हिँड्ने
गँगटो समातेर घरमा ल्याउने
र बाबाले पकाएको खाजामा हुन्थ्यो
अहिले म शहरमा छु
मसँग मेरो खेतको आलीहरु छैन
संगीतको धुन जस्तै कराउने
झ्याउँकिरीहरु छैन
घरमा ल्याएर पाल्नलाई
गँगटो पनि छैन
अनि
मलाई मिठो खाजा पकाएर दिने
मेरो बाबा पनि मसँग छैन
र फेरि मसँग मेरो बालापन पनि छैन
त्यसैले
ए प्रकृति तिमी मैले भनेको मान्छौ भने
मलाई मेरो गुमेको सबै कुरा फिर्ता
ल्याई देउ
अनि मलाई उसैगरी
निश्चल मनहरुसँग रमाउँन देऊ
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52