
विपन्नको साहारा ‘मगर संसार’
मीना थापा मगर, पोखरा
इन्टरनेट प्रविधिको अनलाइन सूचनाको माध्यम सामाजिक संजाल फेसबुकको प्रयोग नेपालमा पछिल्लो दशकमा निकै व्यापक र बढ्दो क्रममा छ । हरेक मानिसको विचार, प्रतिभा र विभिन्न क्रियाकलाप आम जनमानसमा प्रस्तुत गर्ने र छिटो सूचना प्रवाह हुने माध्यम बनेको छ सामाजिक संजाल फेसबुक ।
यसको प्रयोग सँगै सकारात्मक प्रभाव र नकारात्मक असर त समाजमा देखिइनै रहेको छ । गलत प्रयोगले निम्त्याएको गलत परिणाम पनि समाजले झेल्नुपरेको छ भने यसैको माध्यमले समाजमा भएका उपलब्धी र राम्रा उदाहरणीय क्रियाकलाप पनि हामीले देखिरहेका छौं ।
यस्तै अनलाइन सामाजिक संजाल फेसबुकको माध्यमबाट मानवीय सेवा जस्तो पुण्य काम गरेर उदाहरणीय नमुना बनेको छ मगर संसार फोटो ग्यालरी फेसबुक पेज/ग्रुप ।

स्याङ्जा जिल्ला चापाकोट ३ पिपलडाँडामा जन्म भई हाल देवदह ७, सितलनगर निवासी कोरियामा कार्यरत अनिल लामिछाने मगरले वि.सं. २०७४ साल बैशाख २६ (मे ९ तारिख, २०१७), अनलाईन फेसबुक पेज मगर संसार फोटो ग्यालरी ग्रुप/पेज सञ्चालनमा ल्याए । सुरुमा संसारभरि छरिएर रहेका मगरहरुलाई एउटै संजालमा ल्याई एकता गराउने उद्देश्यले संचालनमा ल्याएका थिए ।
“भेषभूषा, भाषा, धर्म, संस्कार, संस्कृतिलाई संरक्षण गरौं, विश्वभरिका मगरहरुलाई एकजुट गरौं” भन्ने नाराका साथ संचालनमा आएको मगर संसार फोटो ग्यालरीमा मगरहरुलाई आबद्ध गर्नका लागि शुरुशुरुमा विभिन्न अनलाइन कार्यक्रम तथा प्रतियोगिताको आयोजना गरे ।
मगरहरुको भेषभुषा, संस्कार संकृति संरक्षणको लागि फोटो प्रदर्शनी प्रतियोगिता, युवा तथा बालबालिकाको बौद्धिक विकासको लागि सृजनात्मक तथा रचनात्मक प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, मगर भाषा कक्षा सञ्चालन, मगर वापा मापा तालिम, नेतृत्व विकास तथा उद्घोषण तालिम, नयाँ प्रतिभाहरुको खोजी गर्दै गायन तथा नृत्य प्रतियोगिता लगायत विभिन्न उमेर समूहलाई समावेश गर्ने खालका अनलाइन प्रतियोगिता आयोजना गरे । मगर संसारले आयोजना गर्ने हरेक प्रतियोगितामा देश तथा विदेशमा रहेका मगरहरुको उत्साहजनक उपस्थिति देखिन्थ्यो भने उनीहरुले भरपुर मनोरञ्जन पनि लिने गर्दथे ।

यतिमात्र नभई मगर संसारभित्र रहेका सदस्यहरुलाई दुःख आपत विपत आइपरहेको बेलामा एकआपसमा मानवीय सहयोग र एकताको सन्देश बोकेर मगर संसार अगाडि बढ्दै गयो ।
फेसबुक प्रयोगकर्ता मध्ये अधिकांश मगरहरुले दुःखमा साहारा लिने अनि सुखमा मनोरञ्जन लिने साझा चौतारीको रुपमा मगर संसारलाई लिन थाले र क्रमिक रुपमा यसमा आवद्ध हुने सदस्य संख्या पनि बढ्दै गयो । अहिले ३ लाख ५० हजारको हाराहारीमा मगर संसारमा सदस्यहरु आबद्ध रहेका छन् भने देश तथा विदेशबाट गरी ४० जना एडमिनहरु सक्रिय छन् ।
सुरुमा मगरहरुलाई एउटै संजालमा गोलबन्द गरी आफ्नो भाषा संस्कार संस्कृति संरक्षण र प्रवद्र्धन गर्नको लागि संचालन गरेको भनिएता पनि पछिल्लो समय धेरै भन्दा धेरै दुःखी गरिव असहाय विरामीहरुको उपचारको लागि सहयोग गर्दै कैयौं मानिसहरुलाई नयाँ जीवन दिन सफल भएको छ मगर संसारले ।
केही वर्ष यता अत्याधिक विरामीहरु आर्थिक सहयोगको अपिल गर्दै आएकोले उनीहरुकै सहयोग संकलनको अभियानमा व्यस्त रहेको अभियन्ता तथा मगर संसारका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरले बताए ।
पेशाले उनी बैदेशिक रोजगारीको शिलशिलामा हाल कोरियामा कार्यरत छन् । कोरिया जस्तो व्यस्त मुलुकमा रहेर पनि दिनरात नभनी मानवीय सेवामा समर्पित अनिल भन्छन् “सेवा गर्नु मेरो धर्म हो, मगर संसारमा जति नै दुःखी गरिव बिरामीहरु साहारा खोज्दै आउनुहुन्छ, उहाँहरुको सेवाको लागि म सधैं लागिपर्ने छु ।”
विदेशमा रहेर काम गर्नु आम नेपालीहरुको लागि शारीरिक तथा मानसिक रुपले उत्तिकै चुनौति र गाह्रो छ । हरेक दिन कामबाट फर्किएपछि उनको अर्को ड्युटी सुरु हुन्छ, म्यासेज बक्समा भरिएका विरामीहरुको सहयोगको अपिल सहितको फोटो सामाजिक संजालमा पोष्ट गर्ने । दिनभरिको कामले शरीर थाकोस् तर दीनदुखी विरामीहरुलाई सेवा गर्ने उनको तन र मन भने कहिल्यै थाकेन ।

सुरु सुरुमा मगर समुदायलाई मात्र सहयोग अभियान सञ्चालन गर्दै आएता पनि अहिले अन्य समुदायका विरामीहरुलाई पनि सहयोग गर्दै आएको लामिछाने बताउँछन् ।
यसरी दिनरात नभनी स्थापना कालदेखि सामाजिक कार्यमा निरन्तर क्रियाशिल रहेको मगर संसारले हालसम्म २६९ जना विरामीहरुलाई रु. ३ करोड भन्दा बढी आर्थिक सहयोग संकलन गरी सहयोग प्रदान गरेको छ भने यो वर्ष मात्र ६७ विरामीको लागि रु ८७ लाख ४ हजार ८ सय १४ रुपैयाँ आर्थिक संकलन गरी सहयोग गरेको छ । यस्तै आर्थिक अवस्था कमजोर भएका ३ परिवारको लागि घर निर्माण गरिदिएको छ ।
सर्वसाधारण देखि विभिन्न क्षेत्र, पेशा व्यावसायका मानिसहरुले सजिलै प्रयोग गर्न सकिने हुनाले प्राय अधिकांस मानिसहरु सामाजिक संजाल फेसबुकमा भेटिने गर्दछ । त्यसैले त कोही दुख अप्ठ्यारोमा परेका बेला सहयोगको याचना गर्ने सजिलो माध्यम बनेको छ । अभियन्ता लामिछाने भन्छन् “यहाँ दैनिक रुपमा आर्थिक अवस्था कमजोर भएका विरामीहरु सहयोगको अपिल गर्दै आउने गर्दछन्, कति विरामी त सहयोग संकलन गर्दागर्दै मृत्यु भएका छन् भने अधिकांश विरामीले नयाँ जीवन पाएका छन् ।”
साँच्चै नै आजको दिनसम्म आइपुग्दा मृत्युको मुखमा पुगेका धेरै विरामीको उद्धार गरेको छ र त सबैको लोकप्रिय बनेको छ मगर संसार । मगर समुदायको लागि मात्र होइन अन्य समुदायका दुखी गरिव र असहायको लागि आशा र भरोसाको खम्बा बनेको छ । अहिले पनि दर्जनभन्दा बढी विरामीहरु सहयोगको अपिल गर्दै मगर संसारमा आएको अध्यक्ष एवं अभियन्ता लामिछानेले बताएका छन् ।
मगर संसारलाई सबै दुखी गरिवको पवित्र साझा संसारको रुपमा स्थापित गर्ने संस्थापक अध्यक्ष लामिछाने तथा सम्पूर्ण एडमिनहरुलाई आजको युगको जिउँदो भगवानको रुपमा मान्ने गर्दछन् विरामी र आफन्तहरु ।
रोल्पाका सामना बुढा मगर भन्छिन्– मगर संसार मेरो लागि भगवान हो । उहाँहरुले गर्दा नै मैले नयाँ जिवन पाएको छु, सायद उहाँहरुले मेरो लागि सहयोग नगरेको भए म यो अवस्थामा आउने थिइन ।”
रोल्पा जिल्ला माडी गाउँपालिका ५ का १५ वर्षीय सामना घर्ति मगर ९ महिनाको हुँदा खाना पकाउने ग्यास सिडिन्डर पड्केर दुवै खुट्टा गुमाउनु परेको थियो । उनको क्रृतिम खुट्टा हाल्नको लागि धेरै रकम लाग्ने हुनाले मगर संसार फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरको पहलमा आर्थिक सहयोग संकलन गरी ४ लाख ६० हजार ४ सय २८ रुपैयाँ हस्तान्तरण गरेको थियो । उनले दुईवर्ष अघि मात्र कृत्रिम खुट्टा हालेर हिँडडुल गर्न सक्ने र विद्यालय समेत जान सक्ने भएकी छिन् ।

यसैगरी दुवै मृगौला फेल भई उपचारको क्रममा रहेका लोक गायक तथा कलाकार प्रसाद खप्तडी मगरलाई एक वर्ष अघि अभियन्ता अनिल लामिछाने मगरको पहलमा आर्थिक सहयोग संकलन गरी रु.९ लाख ५४ हजार ७ सय ७७ नगद सहयोग गरेको थियो ।
एउटै अभियानबाट यति ठुलो रकम सहयोग आउनु सानो कुरा होइन । उनी भन्छन् “मलाइ स्वास्थ्य संकट परेको बेला साहारा बनेर यति ठुलो रकम सहयोग गरिदिनुभएकोमा अभियन्ता अनिल जि साथै मगर संसारप्रति आभार प्रकट गर्दछु ।”

भरखरै मात्र बग्लुङकी आयुष्मा पुन मगरको कलेजो प्रत्यारोपणको लागि अनिल मगरको पहलमा अभियान संचालन गरेर पाँच लाख भन्दा बढी रकम सहयोग गरेको थियो । उनको सफल अपरेशन पछि उनी आफ्नो काममा फर्किसकेकी छिन् । उनी नेपाल आर्मीमा कार्यरत छिन् ।
उनी भन्छिन् “मगर संसारले मलाई पहिलाकै दिनमा फर्किने सौभाग्य दिएकोमा मनैदेखि धन्यवाद भन्न चाहन्छु” । नेपालको एउटा नमुना संस्थाको रुपमा मगर संसार स्थापित भएकोमा आफूलाई गर्व लागेको बताउँछिन् उनी । दुःखी गरिव विरामीहरुले बाच्न पाउनु पर्छ भन्ने सोंच भएकी आयुष्मा अहिले मासिक रुपमा औषधी खाएर बचेको केही रकम मगर संसार मार्फत विरामीहरुलाई सहयोग गर्दै आएकी छिन् ।

एक वर्ष अघिमात्र दुवईको कारागारमा मृत्युदण्ड सजाय सुनाइएका धादिङका पहलमान मगरलाई नेपाल ल्याउनुमा मगर संसारको ठूलो योगदान रहेको छ । नेपाली ५० लाख ब्लडमनी माग गरी कारागारमा रहेका पहलमानको लागि मगर संसारले आर्थिक अभियान सञ्चालन गरेको ३ दिनमा नै आवश्यक रकम संकलन भएको थियो । पहलमानका मामा तेजबहादुर भन्छन् “पहलमानको उद्धारको लागि जुन अभियान मगर संसारले गर्यो त्यो नेपालीहरुले नै गर्व गर्ने लायकको उदाहरणीय कार्य रहेको छ ।”
मानवीय सेवामा निरन्तर आगाडि बढेको पवित्र संस्था मगर संसारले सहयोग रकम मात्र होइन आर्थिक अवस्था कमजोर भएका केही परिवारलाई घर नै निर्माण गरिदिएका छन् । हालै स्याङ्जा चापाकोट नगरपालिका वडा नं. ३ पिपलडाडाका स्व. टुकबहादुर विरकट्टा मगरको परिवारलाई घर निर्माण गरिदिएको छ । आर्थिक अवस्था कमजोर भएका क्यान्सर पीडित टुकबहादुरको उपचारको लागि अभियन्ता अनिल लामिछानेको पहलमा आर्थिक सहयोग जुटाउने क्रममा उनको मृत्यु भएपछि संकलित रकमले घर निर्माण गरिदिएको हो । स्व. टुकबहादुरको सहयोगको लागि रु. ६ लाख ३ रुपैयाँ सहयोग संकलन भएको थियो ।

घर निर्माणका संयोजक बम बहादुर थापा मगरले मगर संसारले दिएको यति ठुलो सहयोग अति नै सह्राहनीय कार्य भएको बताउँछन् । “मगर संसारका अध्यक्ष अनिल लामिछाने लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिने कुनै शब्द नै छैन । आउने दिनमा पनि यसरी नै यस्तै दुखी गरिबको साहारा बन्दै जाऊन्” भन्दै आठौं वार्षिकोत्सवको शुभकमाना व्यक्त गरे ।
यसैगरी वि.सं. २०७८ मा देवचुली १७ नवलपुरका शारीरिक अपांग तथा विपन्न परिवारका गणेश दर्लामी मगर (कालु)को परिवारको लागि रु. ८ लाख ४९ हजार ७ सय ५० संकलन गरी घर निर्माण गरिदिएको थियो ।
सोही वर्ष पाल्पा रम्भा २ फोक्सिङ डाँडा निवासी आर्थिक रुपले विपन्न एक्लो बाजे दिल्ली सिंह विश्वकर्मालाई पनि घर निर्माण गरी आवश्यक खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा सहति मगर संसारले हस्तान्तरण गरेको थियो ।

नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले मगर संघले गर्नुपर्ने महत्वपूर्ण भूमिका मगर संसारले गरेकोमा मगर संसारलाई धन्यावद ज्ञापन गर्दै मगर संसारको मानव कल्याणकारी कार्यको प्रसंसा गर्दै भन्नुहुन्छ “मगर संसार नामै फराकिलो छ तर नाम भन्दा पनि यसले गरेको काम धेरै माथि र अतुलनीय छ ।” मगर संसारको मानव कल्याणकारी कार्यलाई प्रसंसा गर्दै सैयांैं मानिसको जीवन बचाउन सफल मगर संसारको उदाहरण हेरेर समाजिक कार्यमा लाग्न आग्रह गर्नुभएको छ ।
जुन उद्देश्यले सुरुवात भएको थियो, छोटो समयमा नै उद्देश्यभन्दा पनि माथि र फराकिलो रुपमा अगाडि बढेकोमा खुसी लागेको बताएका छन् ।
बैशाख २६ गते सञ्चालनको ८औ वर्ष पुरा गरी ९औं वर्षमा प्रवेश गरेको मगर संसारले यस्तै थुप्रै समस्यामा परेका असहाय र विरामीहरुको उद्धार गरेको छ । संजालका अध्यक्ष अनिल सँगै मगर संसारका सबै एडमिनहरु पनि उत्तिकै सक्रिय छन् ।
बैदेशिक भूमिमा रहेर पनि मगर संसारलाई सुरुवातीदेखि एडमिनको रुपमा साथ दिँदै आउनुभएका छन् समाजसेवी मन मास्की मगर । मगर जातिको भाषा संस्कार संस्कृति संरक्षणको लागि मगर संसारले गरेको कामबाट प्रभावित भएर यहाँ आवद्ध भए । त्यो सँगै समाजसेवी भावना पहिलैदेखि जागेको हुनाले सेवा गर्ने अवसर पनि मगर संसारबाट पाएको बताउँछन् ।
सानैदेखि सामाजिक कार्यमा रुची राख्ने टुगा राना सामाजिक संजालको माध्यमबाट पनि केही योगदान दिन सकिन्छ भनेर ४ वर्ष अघि मगर संसारमा एडमिनको रुपमा आबद्ध भइन् । यहाँ आबद्ध भएपछि मगर संस्कार संस्कृतिलाई अझ नजिकबाट नियाल्ने अवसर पाएको र दुखी गरिवको सेवा पनि गर्न पाएको बताउँछिन् ।
यसैगरी अर्का एडमिन स्याङ्जाका शान्ति थापा मगर सुरुसुरुमा मगर संसारले आयोजना गर्ने प्रतियोगिताहरुमा सहभागिता जनाउँदै जाने क्रममा एडमिनको रुपमा आबद्ध भइन् । पेशाले उनी शिक्षक हुन् तर मगर संसारमा आबद्ध भएपछि आफूमा समाजसेवाको भावना जागरुक भएको र आफै पनि अहिले अभियान्ताको रुपमा क्रियाशील छिन् ।
टिकटक र फेसबुकमा प्राय सक्रिय भइरहन रुचाउने स्याङ्जा गल्याङका आनन्द कुँवर मगर सामाजिक कार्यमा पनि उत्तिकै रुची राख्ने व्यक्ति हुन् । मगर संसारले सुरुदेखि नै दुखी गरिवहरुलाई सहयोग गर्दै आइरहेको देखेर आफ्नो मनमा पनि सहयोगी भावना पलाएको बताउँछन् । एडमिनको रुपमा आबद्ध भएर दिन दुःखीलाई सहयोग गर्ने मौका पाउँदा उनी खुसी छन् “समाजसेवा गर्ने मेरा सपना अहिले पुरा भएको छ ।”

मगर संसारले भैपरी आएको अवस्थामा आपतकालीन सहयोगको लागि राहतकोष स्थापना गरेको छ । उक्त राहतकोषबाट बेलाबेलामा विभिन्न किसिमका सहयोग गर्दै आएको छ । विभिन्न स्थानका अनाथ बालबालिका, असहाय बृद्धबृद्धाहरु, बाढीपीडित तथा आश्रामहरुमा बेलाबेलामा खाद्यान्य सहयोग, गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रबृत्तिको व्यवस्था, दुर्गम क्षेत्रका बालबालिकाहरुलाई बेलाबेलामा स्टेशनरी सामाग्री सहयोग समेत गर्दै आएको छ ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52