मौलिक लोक संगीत जगर्नेको लागि लागिपर्ने छु– रेनु रिलामी मगर
मिना थापा मगर, पोखरा
बाल्यकालदेखि नै सुमधुर आवाजले पाखा पखेरा घन्काउँदै आफूलाई गाउँपाखा चिनाएकी रेनु रिलामी मगर मुलत मौलिक लोकभाकालाई असाध्यै माया गर्ने कलाकार हुन् ।
उसो त तनहुँको रिसिङलाई मौलिक संस्कृतिको खानी मानिन्छ । रिसिङ गा.पा. वडा नं. ६, डुकुडाँडामा बाबा दानबहादुर आले र आमा हरिमाया आलेको ४ भाइ र छोरा ४ बहिनी छोरी मध्ये साइली सन्तानको रुपमा जन्मेकी रेनुले सानैदेखि गायन प्रतिभा लिएर आएकी छिन् । आफू ५ वर्षको हुँदा आमा गुमाएकी रेनुले दाइदिदीको लालनपालनबाट हुर्कदै आफूलाई गायन क्षेत्रमा समाहित गर्दै गइन् ।

हजुरबाबाले चौविसै घण्टा रेडियो सुन्ने भएकोले कति बजे कुन कार्यक्रम आउँछ भन्ने सबै थाहा पाएकी रेनुले लोकगीतको कार्यक्रम आएपछि सबै काम छोडेर रेडियोकै छेउमा बसेर गीत सुन्ने र रेडियो सँगसँगै गीत गाउने गरेको सम्झिन्छिन् । आफूले रेडियो सँगसँगै गीत गाउँदा साँचै राम्रै गाएछु कि जस्तो भान हुन्थ्यो रे उनलाई ।
एकपटक सुनेपछि सबै शब्द र लय टपक्क टपेर गाउन सक्ने खुबी उनमा हुनु सायद आफूलाई सरस्वतीको बरदान प्राप्त भएको ठान्छिन् उनी ।
“उबेला हाम्रा दाइदिदीहरु पनि रोदी बस्ने भएकोले मैले पनि अलि अलि रोदी संस्कृति भेटें” उनी भन्छिन् “शुक्रबार चाँही हामीलाई घरबाट नै रोदी बस्ने छुट हुन्थ्यो । दिनभरिको काम सकिएपछि साँझ गाउँभरिका मानिसहरु एकआपसमा भेटघाट हुने र सिजनअनुसारको गीत कौह्रा, झ्याउरे गाएर दिभरिको थकान मेटाउने माध्यम थियो रोदी । तर पछि त्यो पनि बिस्तारै हट्दै गयो । अहिले सामाजिक संजालको नाममा जुन विकृति भित्रिएको छ, यो भन्दा त बरु पहिलेको रोदी संस्कृति नै धेरै अनुसाशित र मर्यादित हुन्थ्यो ।”
गाउँमा आयोजना गरिने मेला, महोत्सव र प्रतियोगितामा भाग लिएर पुरस्कार समेत जित्दा जिन्दगीकै खुसी प्राप्त भएको अनुभव सुनाइन् ।

सुरुवाती दिनहरु सम्झिँदै उनी भन्छिन् “कार्यक्रममा भाग लिदैगर्दा र पाखा पखेरा मेलापातमा गाउँदै हिँड्दा मेरो स्वर सुनेर सबैले हौसला दिँदै “तिमी त कलाकार बन्छौ तिम्रो स्वर राम्रो छ” भन्दा साँच्चै मलाई कलाकार बन्ने हौसला मिल्थ्यो । अहिले सबैको आशिर्वाद पाएकी छु, सोही अनुरुप मैले पनि मेहनत गरेर आज यो स्थानमा पुगेको छ ।”
बिमा कुमारी दुरा बन्छु भनेर सानैदेखि सपना बुनेकी रेनुले विमा कुमारीका सदाबहार लोक गीत अत्यन्तै मन पर्ने बताउँछिन् । त्यही सपना बोकेर पोखरा झरेकी रेनु गीत सँगीतको आकासमा रामाउँदै गर्दा एक वर्षमा नै विवाह बन्धनमा बाँधिन पुगिन् । विवाहपछि केही समय गायन यात्रालाई तिव्ररुपमा अगाडि बढाउन नसकेको बताउँछिन् ।
मनमा तिव्र इच्छा चाहाना भएपछि जसरी पनि परिवारलाई सम्झाएर घर परिवारको व्यवस्थापन सँगै आफ्नो रहर पनि पुरा गर्दै अगाडि बढिन् । उनको सांगीतिक यात्रामा परिवारबाट पनि उत्तिकै साथ र सहयोग पाएकी छिन् ।
सुरुमा लेकाली दोहोरी साँझबाट गायन सुरु गरेकी रेनुले विस्तारै विस्तारै अन्य दोहोरी साँझहरुमा पनि गीत गाउँदै आफूलाई निखार्दै र तिखार्दै गइन् । हाल पनि उनी पेशागत रुपमै रुपाहिल दोहोरी साँझमा कार्यरत छिन् ।
आपूmलाई पोखरासम्म आउने वातावरण मिलाएर यो अवस्थासम्म पुर्याउनुमा आफ्नै आफन्त मनसुधन थापा (जेठु) को पनि ठुलो सहयोग रहेको बताउँछिन् ।
सबैभन्दा पहिला धन बहादुर गुरुङसँग गीत रेकर्ड गर्ने अवसर पाएका थिए रेनु र उनका सहकर्मी साथी सरिता सारु मगरले । उसो त पोखरा झरेसँगै दुवैजनाको सहयात्रा सँगै रहेको बताउँछिन् । सच्चा साथीको संगतले लक्षमा पुग्न धेरै सहयोग मिल्छ भन्ने उदाहरण यी दुईले प्रमाणित गरेका छन् । “सानै उमेरमा कलाकार बन्छु भनेर घर छोडको हामी दुवैको रुची चाहना एउटै भएकाले सुःखदुखमा सँगसँगै अगाडि बढ्दै गयौं । सायद हामी एक्ला एक्लै हुँदो हो त यो अवस्थासम्म आउन सक्थ्यौं या सक्थेनौं, तर हामीलाई संजोगले जुराइदियो कि सँगै संगीतको दुनियामा यात्रा गर्नु भनेर ।”

दुवैजनाको पहिलोे गीत रेकर्डिङको क्षण अवष्मिरणीय रहेको बताउँछिन् । “रेकर्डिङ पछि गीत सुन्दा एकदमै राम्रो गरेछु भन्ने लाग्यो र साँच्चै बिमा कुमारीको जस्तै छनक म मा पनि आएछ कि झैं महसुस भयो ।”
स्वर राम्रो भहेकोले धेरै सिनियर कलाकारहरुले उनको स्वरमा गीतहरु रेकर्ड गराएको तर उ बेला रेकर्ड गरिएको गीतहरु अहिले चाहेर पनि सुन्न नपाएकोमा दुःख लागेको बताउँछिन् । “अहिले पो गीत रेकर्ड गर्ने बित्तिकै युटुवमा आइहाल्छ, उ बेला क्यासेट चक्कामा सिमित हुन्थे, त्यसपछि रेकर्डिङ स्टुडियोमा भइहाल्छ नि भनेर हामीलाई पनि खासै वास्ता हुन्थेन, अहिले चाहेर पनि ति गीतहरु सुन्न सक्दैनौं ।”

उनले हालसम्म सामूहिक र एकल गरी २०/२२ वटा गीतमा स्वर रेकर्ड गरिसकेकी छिन् । उनको सबैभन्दा पहिलो आफ्नै शब्द, लय र लगानीमा रेकर्ड गरिएकोे गीत ‘रुन्छु धरधरी’ जुन सन् २०१३ मा रेकर्ड गरिएको छ ।
त्यसपछि ‘सिरिसिरी हावा’ सालैजो गीत, ‘जडियालाई रौसी’ दोहोरी गीत, ‘बस्ती पाल्पाको’ दोहोरी गीत, ‘मेरी आमा’ एकल गीत, ‘धार्नीको ज्यान’ सालैजो लगायत थुप्रै मौलिक लोक भाकाहरु बजारमा ल्याएकी छिन् । प्रायजसो दोहोरी गीतमा गायक मनसुधन थापा मगरसँग उनले स्वर दिएकी छिन् । ‘डढुवाको ठिटो’ लमजुङको मौलिक कौह्रा गीतमा राजबहादुर गुरुङ, राजन गुरुङलगायतको पनि स्वर रहेको छ । यो बाहेक उनले चलचित्रको गीतमा पनि स्वर दिइसकेकी छिन् । साली कस्को भेनाको चलिचत्रको ‘छुन पाए हुन्थ्यो हुनलाई’ (कौरा गीत) र दिलसरा चलचित्रकोे ‘लै माया’ झ्याउरे गीत लोकप्रिय छन् ।
तपाईको विचारमा गीत संगित के हो ? भन्ने प्रश्नमा उनी भन्छन् “गीत संगित दुःख सुखको साथी हो । दुःखमा पनि मन भुलाउनलाई संगीत चाहिन्छ र सुखमा रमाउनको लागि पनि संगीत चाहिन्छ ।”
गाउँपाखामा घन्किने पुराना भाकाहरु ज्यानै, ओहोली, कौरा, झ्याउरे जस्ता मौलिक लोक भाकाहरुबाट गायन सुरु गरेकी रेनु आधुनिक लोकभाका भन्दा पुराना लोकभाका जर्गेना गर्नुपर्छ भन्ने मान्यता राख्छिन् । “एउटा कलाकारको धर्म भनेको आफ्नो मौलिकतालाई बचाइराख्नु हो । लोक गीतमा मौलिकता भएन भने त्यो लोक गीत हुन सक्दैन, जबसम्म म यो क्षेत्रमा लागिरहन्छु तबसम्म यस्ता मौलिक लोकसंस्कृति जर्गेनामा लागिपर्नेछु ।”
विभिन्न बाध्यताले गर्दा कलाकारहरु दिनानुदिन पलायन हुँदै गइरहेको अवस्थामा नेपाली लोक कला संस्कृतिको जगेर्ना गर्ने लक्ष्य, आँट र साहसका साथ उनले मौलिक लोक संगितमा आफूलाई लगानी गरिरहेकी छिन् ।
अहिलेसम्मको अनुभव सुनाउँदै उनी भन्छिन् “संगितमा अवसरहरु धेरै छन् महिलाको लािग अवसरसंगै चुनौति पनि उत्तिकै छन्, ति अवसर र चुनौतिलाई समायोजन गर्दै अगाडि बढ्ने हो भने असम्भव केहि पनि छैन ।”
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38