लोकदोहोरीमा उदाएकी निरा
मीना थापा मगर
लोक तथा दोहोरी गायन क्षेत्रमा अहिलेको लोकप्रिय नाम हो निरा थापा मगर । हिजोआज लाइभ दोहोरी तथा विभिन्न ठाउँमा हुने स्थानीय सांस्कृतिक कार्यक्रम तथा मेला महोत्सवहरुमा उनी निकै व्यस्त छिन् ।
तनहुँ जिल्ला घिरिङ गउँपालिका ३, डाँडाथोकमा आमा केशरी थापा र बाबा याम बहादुर थापामगरको कोखबाट सामान्य परिवारमा जन्मेकी निरा अहिले लोक दोहोरी पारखीहरुको लागि चिरपरिचित कलाकारको रुपमा स्थापित भएकी छिन् ।

गाउँमा हुने विभिन्न कार्यक्रम, मेला महोत्सवमा कलाकारहरु स्टेजमा नाचेको र गाएको देख्दा आफू पनि त्यसरी नै स्टेजमा नाच्ने र गाउँने कलाकार बन्छु भन्ने सपना बोकेकी थिइन् । सानैदेखि अन्तरमुखी स्वभावकी निरा आफ्ना रहरहरु परिवारलाई झट्ट भन्न नसकेकोले भित्रभित्र रहरहरु दबाएर बस्नुपरेको पीडा सुनाउँछिन् । मेलापातमा गाउँदै हिँड्दा र विद्यालयको विभिन्न कार्यक्रममा सहभागी हुँदैगर्दा साथीभाइ, छरिछिमेकी हुँदै घरपरिवारसम्म उनको स्वरको तारिफ गुन्जिन थाल्यो । उनको गायन र स्वरको चर्चा हुन थालेपछि उनलाई परिवारले पनि राम्रो साथ दिएको बताउँछिन् ।
यसैक्रममा २०७४ सालतिर गायन क्षेत्रमा भविष्य खोज्दै उनी पोखरा आइन् । पोखरा आएलगत्तै दोहोरी साँझबाट गायन यात्रा सुरुवात गरिन् । ‘साइनो’ दोहोरीबाट पेशागत रुपमा आबद्ध रहेकी निराले ‘हाम्रो दोहोरी साँझ’, ‘भन्ज्याङ बुटिक दोहोरी साँझ’ हुँदै चिप्लेढुंगामा रहेको ‘गाउँसहर दोहोरी साँझ’ मा लामो समयसम्म काम गरिन् भने अहिले उनी काठमाडौमा रहेर ‘गामँबेसी दोहोरी नाँचघर’ ठमेलमा आबद्ध रहेर आफ्नो गायन यात्रालाई निरन्तरता दिइरहेकी छिन् ।
नेपाल मगर संस्कृतिक संघ कास्कीको कार्यसमितिमा आबद्ध रहेर लोक गीत संगीतको क्षेत्रमा संस्थागत योगदान दिएकी निराले पोखराबाट सञ्चालन हुने ‘रोधी अनलाइन टिभी’ मा लाइभ दोहोरी गाउन थालेपछि झनै थप चर्चा चुलिएको हो ।
विभिन्न प्रतियोगिता र कार्यक्रमहरुमा गाउँदै हिँड्ने क्रममा वि.सं. २०७५ सालमा काठमाडौंमा आयोजना गरिएको “इमेज लोक कलाकार सिजन २” मा सहभागी भएपछि उनलाई यस क्षेत्रमा लाग्ने थप हौसाला मिलेको हो ।
उनको “मलाई यो बैंसले पार्यो सत्यानास”, “फूलैमा महुरी”, “रोइला”, रिसिङ्गे भेना” (कौराहा गीत), मुस्ताङ बजार (सेलो गीत) लगायत अहिलेसम्म ८ ओटा गीतहरु बजारमा आइसकेका छन् भने उनका प्रायः गीतहरु आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

मोडलिङ र अभिनयमा पनि उनको रुची रहेकोले आफ्ना गीतहरुमा आफै मोडलको रुपमा रहेर काम गर्दै जाँदा अन्य गीतहरुमा पनि मोडलिङ गर्ने अवसर पाएका छिन् । कौडा गीत, तामाङ सेलो गीत, हिमालको चिसो पाखाले (आधुनिक गीत), लेकैमा चौरी लगायतका थुप्रै गीतहरुमा अभिनय गरेकी उनी २०२३ को मिस मगर इन्टनेशनलकी फोर्थ रनर अप समेत हुन् ।
सानै उमेरदेखि वनपाखा र मेलापात गर्दै गाउँपाखामा घन्किने लोक भाकामा रमाउँदै हुर्किएकी निराको लोक गीतसंगीतसँग गहिरो सम्बन्ध गाँसिएको छ । सुखमा मनोरञ्जन लिने र दुःखमा पीर व्यथा बिसाउने माध्यम भएकोले गीत संगीत भएको उनको बुझाइ छ ।
सबैखालका गीतहरु सुन्न मन पराउने निरालाई विशेष गरी सालैजो, कौडा, झ्याउरे मौलिक गीत गाउन मन पराउने बताउँछिन् । “त्यसमा पनि सुमधूर लोक भाकाहरु बढी मन पराउँछु, विमा कुमारी दुराको गीतहरु सुन्दा आनन्द आउँछ” उनी भन्छिन् ।
विभिन्न समय र स्थानमा आयोजना गरिने सांस्कृतिक कार्यक्रम र मेला महोत्सवहरुमा प्राय व्यस्त रहने उनी अहिलेसम्म नेपालको पूर्व ओखलढुंगादेखि पश्चिम भेगसम्म पुगेकी छिन् । प्रायः बाग्लुङ, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी सहित हिमाली जिल्ला मुस्ताङसम्म आयोजना हुने सांस्कृतिक कार्यक्रमहरुमा उनी पुगेकी हुन्छिन् ।
अरु कलाकारको तुलनामा तपाईं अलि बढी नै स्टेज कार्यक्रममा व्यस्त देखिनुहुन्छ नि भन्ने सवालमा उनी भन्छिन् “मगर समुदाय र मगर बस्ती बढी भएको गाउँ ठाउँमा सांस्कृति कार्यक्रमहरु बढी नै हुने गर्दछ, त्यसैले मगर भएको नाताले पनि सायद उहाँहरुले माया गरेर बोलाउनुहुन्छ र यो अवसर मैले पाएको छु ।”
“एउटा कलाकारको लागि ठुलो सम्पती भनेको दर्शक स्रोताको माया हो, आजको दिनमा त्यो माया मैले पाएको छु । मेरा लाइभ दोहोरीहरु धेरै दर्शक स्रोताहरुले मन पराइदिनुभएको छ, एकदम खुसी लाग्छ” उनी भन्छिन् । यस क्षेत्रमा अझै आफूले धेरै सिक्न बाँकी रहेको र गीत संगीतको माध्यमबाट अझै धेरै दर्शकमाझ पुग्ने लक्ष्य छ उनको ।
विभिन्न संघर्षका बाबजुत पनि यस क्षेत्रमा स्थापित हुन सफल गायिका निरा यो क्षेत्रबाहेक विकल्पमा अन्य क्षेत्र नरोजेको र भावी दिनमा पनि गीत संगीतमा नै योगदान दिने अठोट लिएकी छिन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38