ताजा खबर

हाइड्रोको सुरूङभित्र फसेका चारजनामध्ये तीनको शव फेला

   १८ कार्तिक २०७६, सोमबार १८:४०      1,121 views

बझाङ । बझाङमा निर्माणाधीन कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका मजदुरमध्ये तीनजनाको शव फेलापरेको छ ।

सोमबार उद्धारका लागि गएको सशस्त्र प्रहरीको विशेष टोलीले सुरुङको प्रवेशद्वारबाट करिब एक किमि पर तीनओटा शव फेलापारेको हो ।

बुंगल नगरपालिकामा निर्माण भइरहेको सो हाइड्रोमा आइतबारदेखि चार मजदुर फसेका थिए । अर्का एक मजदुरको अवस्था अझै अज्ञात रहेको जनाइएको छ । 

सशस्त्रको उद्धार टोलीले तीन शव फेलापारे पनि शव भने बाहिर निकालिएको छैन । निकाल्ने प्रयास जारी छ । उद्धारकार्य भइरहेको छ ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट चारजना र दिपायलबाट पाँचजना गरी ९ जनाको उद्धार टोली सोमबार दिउँसो घटनास्थलमा पुगेको थियो ।

आइतबार दिउँसो सुरूङभित्र पसेका ६ जनामध्ये दुईजना आइतबारै बाहिर निस्किएका थिए ।

सुरूङभित्र गएका दुईजना सास फेर्न गाह्रो भएपछि बाहिर निस्किएका र चारजनाको अवस्था आइतबारदेखि अज्ञात रहेको थियो ।

सुरुङभित्र फस्नेमा दैलेखको गुराँस गाउँपालिका–३ घर भएका ३२ वर्षीय महेन्द्र शाही, सो ठाउँका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का २८ वर्षीय महेन्द्र साउद र बझाङको बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामी हुन् ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । बझाङ सदरमुकाम चैनपुरबाट घटनास्थल पुग्न गाडीमा करिब ६ घन्टा लाग्छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284