ताजा खबर

यस्ता छन स्याङजाका घुम्नै पर्ने ठाउँहरु

   १८ जेष्ठ २०७६, शनिबार १९:२६      3,810 views

स्याङ्जा : गण्डकी प्रदेशको केन्द्रसँग सिमाना जोडिएको पर्यटकीय तथा धार्मिक दृष्टिकोणबाट प्रचुर सम्भावना बोकेको एक जिल्ला हो, स्याङ्जा । पोखराबाट सवारी सधनमा करिब १ घण्टा घुम्तीबाटो ३५ किलोमिटरको यात्रा पश्चात रमणीय र पर्यटकीय स्याङ्जा जिल्ला पुग्न सकिन्छ ।

स्याङ्जा जिल्लामा रहेका विविध पर्यटकीय स्थान र धार्मिक स्थलहरुले स्याङजा पुग्ने जो कोही आन्तरिक तथा बवाह्य पर्यटकहरुको मन लोभ्याउँछ । हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको नेपालका एकसय पर्यटकीय गन्तव्यमा स्याङ्जाका चार गन्तव्यलाई पर्यटकीय सूचीमा सुचीकृत गरिएको छ ।

जसमध्ये २ पर्यटकीय गन्तब्यलाई नयाँ गन्तब्यका रुपमा समाबेश गरिएको छ भने दुईलाई प्रबद्र्धनात्मक गन्तब्यको सूचिमा समावेश गरिएको हो । स्याङ्जाका सतौं चण्डीथान र आलमदेवी नयाँ गन्तव्य एवं सिरुबारी र स्वरेक मैदानलाई प्रवद्र्धनात्मकतर्फ समावेश गरिएको छ । स्याङ्जाका घुम्न लायकका पर्यटकीय गन्तब्य र धार्मिक हिसाबले चर्चित केही स्थलहरुको बारेमा चर्चा गरेका छौं ।

१. दरौं सिरुवारी :
स्याङ्जाको उत्तरी क्षेत्र आँधीखोला गाउँपालिकामा पर्ने स्थापित ग्रामीण पर्यटनको अवधारणामा आधारित दक्षिण एसियाकै पहिलो होमस्टे (घरबास) दरौं सिरुवारी । पोखराबाट करिब ६५ कि।मी टाढा पर्ने सिरुवारी १ हजार ५ सय मिटरको उचाईमा छ, गुरुङ बस्तीका रूपमा प्रख्यात रहेको छ ।

सिरुबारीमा पुग्न सिद्धार्थ राजमार्गको नागडाँडा, सेतीखोला, बाडखोला र हेलु गरी चार ठाउँको बाटो हुँदै जान सकिन्छ । पर्यटकहरुलाई न्यानो स्वागत, स्थानीय उत्पादनमा आधारित अर्गानीक स्वच्छ खानपिनले सिरुवारी पुग्ने जो कोहिलाई आनन्दीत महसुस गराउँछ ।

सिरुबारीबाट धौलागिरी र माछापुच्छे हिमश्रंखलाको सहजै अवलोकन गर्न सकिन्छ । सिरुबारीबाट सूर्योदयको अवलोकन गर्ने स्टेशनका रुपमा चित्रित गरिन्छ । नेपाल भ्रमण वर्ष १९९८ मा सिरुवारीलाई होमस्टे घोषणा गरिएको हो ।

२. भालुपहाड :
गण्डकी प्रदेशको राजधानी पोखराबाट सिद्धार्थ राजमार्गको जाने बाटोमा २८ किलोमिटर पार गरेपछि भालुपहाड पुगिन्छ । मुख्य हाईवेमा नै घुम्ती र चट्टानको पहरो भालुपहाडले सबै यात्रुहरुलाई आनन्द दिलाउने गर्दछ ।

भालुपहाडको बाटो भएर यात्रा गर्ने जो कोहि पनि एक क्लिक फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्न लालयित हुन्छन् । अझ बेलाबखत दृश्य कैदसहित गरिने म्यूजिक भिडियो र चलचित्रको सुटिङले यस स्थानलाई झनै सबैसामु लोकप्रिय बनाईदिएको छ ।

यस स्थानमा विद्यालयबाट वा विभिन्न संस्थाबाट बनभोजका लागि पनि पुग्ने गर्दछन् । पुतलीबजार र फेदीखोला गाउँपालिमा पर्ने यस स्थानलाई उक्त पालिकाले पर्यटकीय केन्द्र बनाउने गुरुयोजना निर्माण गरिसकेको छ, यदि उक्त गुरुयोजनाले मूर्तरुप लिए आगामी केहि वर्षमा भालुपहाडलाई स्याङ्जाको प्रमुख पर्यटकीय गन्तब्यका रुपमा लिन सकिन्छ ।

३. स्वरेक मैदान :
स्वरेक मैदान स्याङ्जा जिल्लाको अर्को प्रमुख पर्यटकीय सम्भावना बोकेको स्थान हो । स्याङ्जाको भीरकोट नगरपालिका ५ मा पर्ने स्वरेक मैदान पर्यटकीय रुपमा विकास गर्न खोजिएको छ । हालसालै स्वरेकमा पहिलो पटक अन्तराष्ट्रिय खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता २०७५, राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता २०७४ सम्पन्न भईसकेकाले यस स्थानको नाम नेपालमा मात्र नभई विश्वमै प्रख्यात बन्दै गएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत भीरकोट नगरपालिका १ बयरघारीबाट ७ किलोमिटर र वालिङ नगरपालिकाको वालिङ बजारदेखि १२ किलोमिटरको कच्ची सडक हुँदै यस स्थलमा पुग्न सकिन्छ । नेपालकै पहिलो प्यारग्लाईडिङ पाईल सानुबाबु सुनुवारले स्वरेकमा दक्षिण एशियाकै पहिलो प्याराग्लाइडिङ स्कूल स्थापना गरेका छन् ।

४. कालीगण्डकी जलविद्युत आयोजना र सेतीवेणी :
कालीगण्डकी जलविद्युत ‘ए’ परियोजना पोखराबाट करिब एक सय किलोमिटर पश्चिममा रहेको छ । कालीगण्डकी जल विद्युत परियोजना नेपालको सबैभन्दा ठूलो १४४ मेगावाट क्षमताको जलप्रवाह परियोजना हो ।

कालीगण्डकी जलविद्युत आयोजना स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं ५, ७ र गल्याङ नगरपालिकाको वडा नं २ सम्म फैलिएको छ । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि आन्तरिक तथा वाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।

पर्वत, गुल्मी र स्याङ्जाको संगमस्थलमा पर्ने सेतीवेणीमा विश्वकै ठूलो शालिग्राम शिलाको अध्ययन अवलोकन गर्नका साथै स्टिमरमा जलयात्रा गर्नका लागि विभिन्न जिल्लासहित विदेशबाट समेत पर्यटक आउने गरेका छन् । बर्षात्को समयमा कालीगण्डकीको बहाव बढ्ने भएकाले जेठको अन्त्यदेखि असोज १५ सम्म चाहि यो बन्द रहन्छ ।

विश्वकै ठूलो र कालीगण्डकी नदीमा मात्र पाइने भएकाले पछिल्लो समय भारतीय पर्यटक तथा तीर्थयात्री पनि शालिग्राम शिलाको दर्शन गर्न आउने गरेका छन् । शिलामा एकादशी, माघेसङ्क्रान्ति, बालाचतुर्दशी, शिवरात्रि लगायतका पर्वमा विशेष पूजाअर्चना गरिन्छ ।

५. छाङ्गछाङ्गदी
स्याङ्जा जिल्ला भीरकोट नगरपालिका ४ स्थित छाङ्गछाङ्गदी रहेको छ । स्याङ्जा सदरमुकामबाट करिब १८ किलोमिटर दक्षिण सिद्धार्थ राजमार्गमको छेउमै छाङ्गछाङ्गदी पर्दछ ।

स्वस्थानी ब्रतकथामा आधारित सतीदेवीको अन्तिम अङ्ग पतन भएको स्थलले यो स्थान चर्चित छ । छायाँक्षेत्रको नामले समेत परिचित यस पवित्र स्थलमा भीरमा बनेको मन्दिर र सितल बातावरणसँगै गाईको मुखजस्तै देखिने धाराबाट आउने पानी आकर्षणको केन्द्रबिन्दु मानिन्छ । सिद्धार्थ राजमार्गमको ओहोरदोहोर गर्ने जो कोहि पनि यस स्थानको दर्शन गर्ने गर्दछन् ।

६. रामनदीधाम :
स्याङ्जा र पाल्पा जिल्लाको सिमानामा रहेको कालिगण्डकी नदी किनारामा रहेको प्रशिद्ध धार्मिक स्थल हो रामनदीधाम । यहाँ वैशाखे सक्रान्ति, कात्तिके ठूली एकादशी सहित बिभिन्न समयमा मेला लाग्ने गर्दछ । यो धार्मीक स्थल सदरमुकामबाट ५२ किलोमिटर दक्षिणमा पर्छ ।

स्याङ्जा जिल्ला आसपासका व्यक्तिहरुको निधन पश्चात रामनदीधाम दाहसंस्कारका लागि पनि लैजाने गर्दछन् । राम्दीघाटमा सुविधासम्पन्न वृद्धाआश्रम पनि रहेको छ, जहाँ करिब एक सय बृद्धवृद्धाहरु बसोबास गरेका छन् । रामनदीधाम नजिकै शिद्ध गुफा समेत रहेको छ । उक्त गुफामा लगेर परम्परागत समयमा व्रतबन्ध गराउनुका साथै घरमा गाई, भैसी बिहाउ“दा दुध चढाएमा राम्रो हुने विश्वास गरिन्छ ।

७. सतौं चण्डीथान र चण्डीकालीका :
चण्डीथान स्याङ्जा जिल्लाको अर्को एक पर्यटकीय तथा धार्मिक दृष्टिले सम्भावना बोकेको स्थान हो । पुतलीवजार नगरपालिका १४ संतौमा यो मन्दिर पर्दछ । स्याङ्जाबाट करीब डेढ घण्टा पैदल हिंडेर वा २० मिनेटको सवारी साधनको यात्रापछि पुग्न सकिन्छ ।


विभिन्न तिथिहरुमा श्रद्धालु भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । रमणिय ठाउँमा रहेको यस मन्दिरबाट स्याङ्जा लगाएत विभिन्न स्थान र मनोरम हिमाली दृष्यहरु पनि देख्न सकिन्छ । नेपाल सरकारको एकसय वटा नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत भएको स्याङ्जाको सतौं चण्डीथान पनि एक हो । यो स्थानलाई बाइसे चौबीसे राज्यका पालामा पश्चिमका चौबीसे राज्यहरुमध्येकै सबैभन्दा शक्तिशाली राज्यका रुपमा समेत लिईने गरिन्छ ।

पृथ्वीनारायण शाहका सेनापति केयरसिंह बस्नेत मारिएको स्थल यही भएको किम्वदन्ती समेत रहेको छ । यस स्थलमा अहिले दरबारको भग्नावशेष मात्रै बाँकी रहेको छ । सतौंकोटे राजाको इष्टदेवीका रुपमा पुजिने यस ूथानमा रहेको चण्डी र कालिका गरी दुई वटा मन्दिरहरु रहेका छन् जुन मन्दिर झण्डै छ सय वर्ष पुरानो रहेको मानिन्छ ।

८. सुन्तलाबारी होमस्टे र क्यानोनिङ
स्याङ्जा जिल्लाको अर्को पर्यटकीय गन्तब्यका रुपमा लोकप्रिय स्थान हो वालिङ् नगरपालिका ४ एलादीस्थित सुन्तलाबारी घरबास (होमस्टे) र क्यानोनिङ् ।

स्याङ्जा सदरमुकामबाट करिब २४ किलोमिटर दक्षिणतर्फ सिद्धार्थ राजमार्ग रामबाच्छा पुगेपछि त्यसवाट पूर्वतर्फ ७ किलोमिटर ग्रामीण सडकको यात्रापछि सुन्तलाबारी होमस्टे पुग्न सकिन्छ । होमस्टे स्थलदेखि करिब १० मिनेटको दुरीमा रहेको खाल्टेमा २ वटा क्यानोनिङ स्थल निर्माण गरिएको छ ।

वसन्ती रह र खाल्टे रह क्रमश ५५ र ३५ मीटर उचाइमा रहेका छन् । जहाँ पर्यटकहरु होमस्टेको मज्जासँगै क्यानोनिङ्मा रमाउँछन् । पर्यटकको बसाईलाई लम्ब्याउनका साथै साहसिक पर्यटनको अनुभव दिलाउने उद्देश्यले क्यानोनिङ् सञ्चालनमा ल्याइएपछि यहाँ पर्यटकहरु अझ बढेका छन् ।

९. आलमदेवी
स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका अन्तर्गत साविकको आलमदेबी गाविसमा पर्ने ऐतिहासिक धार्मिक क्षेत्र हो, आलमदेवी मन्दिर । स्याङ्जाको सदरमुकाम पुतलीबजार बाट ७७ किलो मिटर दक्षिण पश्चिममा यस मन्दिर तथा धार्मिक स्थललाई स्याङ्जाको प्रशिद्ध मन्दिरका रुपमा लिइन्छ ।

धार्मिक रुपमा प्रख्यात आलमदेवी मन्दिरलाई शाह वंशका कुलदेवीका रुपमा लिइन्छ । यस मन्दिरलाई स्थानीय आफैले निर्माण गरेका हुन् । यस मन्दिरमा शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा स्याङ्जा सहित छिमेकी जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् । यस मन्दिरमा मगर जातीको (पुजारी) पुजा गर्ने प्रचलन रहेको

१०. नुवाकोट
स्याङ्जा जिल्लाको उच्च मध्य पहाडी भुभागमा अवस्थित पर्यटकीय ठाउँ हो, नुवाकोट र कालाभैरब मन्दिर छ । स्याङ्जाको पुरानो सदरमुकाम समेत रहेको नुवाकोट समुन्द्र सतहबाट १ हजार ९ सय मिटर को उचाइमा रहेको छ ।

लगधबपयत पबबिदजबष्चबद।वउनचौबिसे राज्य मध्येको एक शक्तिशाली राज्य नुवाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँबाट माछापुछ्रे, अन्नपूर्ण, धवलागिरी, मनास्लु जस्ता हिमालको सुन्दर अवलोकन गर्न पाइन्छ । पर्यटकीयसँगै यो एक धार्मिक स्थल पनि हो । जहाँ कालाभैरब मन्दिरलाई देवदेवताहरुले पुजाको बिसर्जन गर्ने मन्दिरका रुपमा बुझिने परम्परागत विश्वास छ ।

यहाँ दशैको नवमी, चैते दशै बेलामा भाकल अनी पूजाका लागि आयका भक्तजनहरुको बिशेष घुईचो लाग्ने गर्दछ । यसको टुप्पोमा भैरबनाथ मन्दिर पनि रहेको छ । यस स्थानबाट स्याङ्जाको नयाँ सदरमुकाम र स्याङ्जाका बिभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ । पोखराबाट नजिकै पर्ने यस स्थानलाई पनि पर्यटकीय तथा धार्मिक दुबै हिसावले महत्वपूर्ण मानिन्छ ।

११. श्रवण कुमार समाधी क्षेत्र र अन्धाअन्धी दह
स्याङ्जा जिल्लाको साविकको वाङ्सिङ्ग गाविसको वडा नं ८ को घ्याङ्गसिरीमा श्रवणकुमार समाधि क्षेत्र रहेको छ । यस स्थानमा पानी भर्दा वाण लागि श्रवण कुमारको मृत्यु भएकाले यस ठाउँलाई श्रवण कुमार समाधी क्षेत्रको नामले चिनिएको किम्वदन्ती पाइन्छ । यहाँ श्रवण कुमारले पानी भर्दा घोप्टो परेको मूर्ति, पानीको रङ्ग रातो र दशरथले वाण हान्न लुकेर बसेको पहरा समेत छ । उक्त स्थानमा हाल बाला चतुर्दशीमा ठुलो मेला लाग्ने गरेको छ । उक्त क्षेत्रमा मन्दिर समेत निर्माण गरिएको छ ।

स्याङ्जा जिल्ला आँधीखोला गाउँपलिका २, चिलाउनेबासमा अन्धानअन्धी दह सदरमुकामबाट २८ किलो मीटर उत्तर पश्चिममा पर्छ । यसै दहलाई स्याङ्जाको प्रसिद्ध नदी आँधीखोलाको मुहान मानिन्छ । परापुर्व कालमा अयोध्याका राजा दशरथका भान्जा श्रवणकुमार अफ्ना माता र पिताहरु दुईवटै आँखा नदेख्ने थिए । उनीहरु एउटा छोरा श्रवणकुमार को साहरामा नै बाँचिरहेका थिए ।

त्यीनै श्रवणकुमारले नै उनीहरुलाई बोकेर तिर्थब्रत तथा धार्मिक स्थलहरु घुमाउने गर्दथे । घुम्ने क्रममा एक दिन उनीहरु एउटा ओढारमा बास बस्न पुगेका थिए, हाल त्यो ठाउँ आन्धा–अन्धी दहको ठीक माथि छ जहाँका पत्थरहरुमा विभिन्न आकृतीहरु, छाप कोरिएको भटिन्छ ।

त्यसैगरी भीरकोट नगरपालिकाको १ मा अवस्थित भीरकोट दरबार परम्परागत कालमा भीरकोटे राजाको दरबारको नामबाट चर्चित छ । यस्तै यहि नगरपालिकाको वडा नं ७ प्रख्यात खिलुङदेउराली मन्दिर रहेको छ । यस मन्दिरमा वडा दशैं, चैते दशैं र अन्य बिभिन्न समयमा सयौं खसी, बोकाको बलि दिईन्छ । मेलाका समयमा यहाँ हजारौं भक्तजनहरुको घुईचो लाग्ने गर्दछ साभार कालीगण्डकी खबर डटकम

साझा गर्नुहोस् : Share It :

आजको खबर

तमु प्ये ल्हु संघ, गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन पोखरा ११ रानीपौवा शक्तिघाट स्थित रहेको तमु प्ये ल्हु संघ, केन्द्रीय खेगी भवनको

अझै पढ्नुहोस्

Follow Us


Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284