ताजा खबर

पर्यटकको रोजाइमा बन्दीपुरे मौलिक शैली

   7:18 am Thursday, December 20, 2018     


भक्तपुरका पुराना बासिन्दालाई तनहुँको पर्यटकीय बस्ती बन्दीपुर पुग्दा नौलो ठाउँ आएजस्तो लाग्दैन । यसको कारण उतैको शैलीका घरहरू हुन् । शैलीमा मौलिकता झल्कने यिनै घरले बन्दीपुरको चिनारी फरक पारेको छ । यहाँका घरले पर्यटकको मन लोभ्याउँछ । बन्दीपुर बजारको दायाँ–बायाँ सबै एकै प्रकारका पुराना घर छन् । मौलिकताले पर्यटक रिझाएको बुझेका यहाँका बासिन्दा यतिबेला पुरानो शैली जोगाउनुपर्ने रहेछ भन्नेमा पुगेका छन् ।


घुम्न आउने पर्यटकको संख्या दिनदिनै बढ्दो छ । पछिल्लो क्रममा मौलिकता झल्कने गरी घर निर्माणको क्रम पनि बढेको छ । अहिले एक दर्जन त्यस्ता घर निर्माणाधीन छन् । त्यस्ता एउटा घर निर्माणको लागत न्यूनत एक करोडदेखि १८ करोड रुपैयाँसम्म रहेको पर्यटन व्यवसायी बताउँछन् । बन्दीपुरका बासिन्दाले आफूखुसी घर बनाए गाउँपालिकाले नक्सा पास गर्दैन । नक्सा पास नगरी घर बनाउन नदिन निगरानी पनि गर्छ ।
मौलिकता झल्कने घर बनाए मात्र नक्सा पास गरिने नियम रहेको गाउँपालिका अध्यक्ष पूर्ण्सिं थापा बताउँछन् । ‘बन्दीपुरको पहिचान नै भक्तपुरे शैलीका घर हुन्,’ उनले भने, ‘बन्दीपुर बजारमा मौलिकता झल्कने घर बनाउन अनिवार्य गरेका छौं ।’ बन्दीपुरको रिङरोड क्षेत्रमा घर बनाउनेले मौलिकता झल्कने शैली अपनाउनु अनिवार्य गरिएको उनले बताए ।


त्यस्ता घर बनाउनेलाई नक्सापासमा लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था छ । आधुनिक शैलीमा घर बनाए नक्सापास नै रोक्का हुन्छ । ‘आधुनिक शैलीका घर र बजार जहाँतहीं छन्,’ उनले भने, ‘बन्दीपुरलाई प्राचीन रमौलिक सहरका रूपमा विकास गर्ने योजना छ ।’ स्थानीयवासी र पर्यटन व्यवसायीहरूसँगको छलफलपछि यस्तो नियम ल्याइएको उनले बताए ।
बन्दीपुरको पुरानो बजार क्षेत्रमा धेरै होटल छन् । होटलहरूले भक्तपुरे शैलीको निर्माणलाई निरन्तरता दिएका छन् । झ्याल–ढोका काठमा हुनैपर्छ । खर्चिलो भए पनि शैलीका कारण बन्दीपुरको फरक विशेषता बनेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैंस गुरुङ बताउँछन् । ‘हाम्रो पहिचान मौलिक शैलीका घर भइसकेको छ,’ उनले भने, ‘यो शैली हेर्नैका लागि पनि पर्यटक आउँछन् ।’

गाउँपालिकाले नक्सापासमै कडाइ गरेपछि नयाँ निर्माणमा पनि सावधानी अपनाइएको उनले बताए । ‘अहिलेका घर बनाउन कंक्रिट प्रयोग नगरी हुँदैन तर, बाहिरको डिजाइनमा मौलिक शैली सबैले अपनाएको अवस्था छ,’ उनले भने, ‘कुँदेर कलात्मक बनाइएका झ्याल–ढोका हेर्दैमा पर्यटक खुसी हुन्छन् ।’ जथाभावी गरिने निर्माणले सहरको पुरानो स्वरूप बिग्रिने भन्दै अग्रजहरू चनाखो रहेको उनले बताए ।


बजार क्षेत्रमा घर बनाउनेका लागिझ्याल–ढोका काठको हुनु अनिवार्य छ । सटर तथा च्यानल गेट प्रयोगमा बन्देज गरिएको इन्जिनियर विश्वप्रकाश सुल्पेले बताए । ‘त्यति मात्र होइन सडकभन्दा ४५ फिट अग्लो घर बनाउन पाइँदैन,’ उनले भने, ‘यो र्गयो भने बन्दीपुरको मौलिकता बच्छ । बन्दीपुरका परम्परागत घरहरूमा काठका बुट्टा भएका झ्याल–ढोकाहरू इँटा बाहिर देखिने प्यागोडा शैली मुख्य आकर्षण हो ।’ १८ औं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरूले यहाँ भक्तपुरे शैलीका घर बनाएका थिए । ढुंगा छापेर बाटो बनाएका थिए । तिनै पुराना शैलीले पर्यटक रिझाएकाले जोगाउनु पर्नेमा जनप्रतिनिधि एक मत छन् ।
पुराना शैली मासिँदै गएकाले जोगाउनु बन्दीपुरको भविष्यका लागि सुखद रहेको आन्तरिक पर्यटक रामचन्द्र आचार्यले बताए । ‘बन्दीपुरका घरका बारेमा धेरैले चर्चा गरेका थिए । कस्तो रहेछ भनेर परिवारसहित घुम्न आइयो,’ उनले भने, ‘प्राकृतिक दृश्य आनन्दको छ, मौलिक शैली जोगाएको पनि आनन्द लाग्यो ।’ आधुनिक सुविधा विस्तार भइरहेका बेला पुरानो शैली जोगाउनु आफैंमा चुनौति रहेको उनले बताए ।


बन्दीपुरबाट पश्चिमको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु र बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङटाङ हिमश्रृंखलालगायत धेरै चुचुराहरू दृश्यावलोकन गर्न सकिन्छ । समुन्द्र सतहबाट १ हजार ३० मिटर उचाइमा रहेको बन्दीपुरको प्रमुख आकर्षणमा नेवारी कला र संस्कृति, दोहोरो लाइनमा मिलाएर बनाइएका कलात्मक घरहरू, ढुंगा छापेर बनाइएका बाटाहरू हुन् । यहाँ आउँदा आन्तरिक पर्यटक पनि रमाउँछन् । पृथ्वी राजमार्गमा पर्ने डुम्रेबजारबाट ८ किमिको उकालो यात्रापछि पुगिने पर्यटकीय गाउँ आउजाउमा यातायात सहज छ ।    (साभार कान्तिपुर दैनिक)

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284