ताजा खबर

मादी गाउँपालिकाद्धारा आ.व. २०७७/०७८ को लागि ६५ करोड ७४ लाख ७२ हजारको बजेट सार्वजानिक

   १० असार २०७७, बुधबार १९:२५      2,982 views

कास्कीको मादी गाउँपालिकाले आज आगामी आ.व. २०७७/०७८ को बजेट सार्वजानिक गरेको छ ।

गाउँपालिकाले आफनै कार्यालय मादी ३ याङ्जाकोटमा एक कार्यक्रमको आयोजना गरि आगामी वर्षको लागि कुल ६५ करोड ७४ लाख ७२ हजार ५ सय ४८ रुपैयाँको बजेट सार्वजानिक गरेको हो ।

बजेट प्रस्तुत गर्दै मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले कोरोना भाइरसको कारणबाट उत्पन्न परिस्थितिले गर्दा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा राखेको वार्षिक लक्ष्य अनुसारको आम्दानी प्राप्त गर्न सकेको समेत बताउनुभएको छ ।

गत वर्षको बजेटबाट गाउँपालिकामा हालसम्म चालु खर्च तर्फ ३० करोड २७ लाख ५९ हजार ९ सय २८ रुपैयाँ अर्थात (६३.६२ प्रतिशत) मात्रै खर्च भएको छ भने पूँजिगत खर्च ७ करोड ८० लाख ४४ हजार ९ सय ३९ रुपैयाँ अर्थात (३९.०९ प्रतिशत) मात्रै खर्च भएको छ ।

यस्तै गाउँपालिकाले चालु आ.व. मा ६६ करोड ५० लाख ७७ हजार १ सय ७४ रुपैयाँ आम्दानी हुने अनुमान गरेकोमा हालसम्म जम्मा ५१ करोड १४ लाख १० हजार ६ सय ९५ रुपैयाँ मात्रै आम्दानी भएको जनाएको छ ।

गाउँपालिकाले यसवर्ष पूर्वाधार विकास तर्फ १८ करोड ३ लाख ७ हजार ४८ रुपैयाँको बजेट विनियोजन गरेको छ । जसमध्ये गाउँपालिकाको प्रशासकीय भवन, वडाहरुको कार्यालय भवन निर्माण, सामुदायिक भवन निर्माण र अन्य भवन संरचना निर्माण तथा मर्मतका लागि ५ करोड ३५ लाख, मादी गाउँपालिकाको प्रस्तावित रिङ्गरोड याङ्जाकोट–तोगी–वार्चोक–भाचोक–नागिधार–पोशी–पक्र्यु सडकको वाँकी ट्रयाक खोल्नका लागि २० लाख बजेट विनियोजन गरेको छ ।

यस्तै स्थानीय स्तरका सडकहरुको निर्माण तथा स्तरोन्नती, नयाँ ट्रयाक ओपन र गोरेटो बाटो सुधारको लागि २ करोड १६ लाख २० हजार विनियोजन गरेको छ ।

यस्तै आर्थिक विकास क्षेत्रमा ३ करोड २९ लाख ७५ हजार बजेट विनियोजन गरेको छ जसमध्ये पशु धन तथा वागवानी विकासका कार्यक्रमका लागि १८ लाख ७० हजार, अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रमको लागि ५० लाख विनियोजन गरेको छ । भने कृषि तथा पशुपालन अनुदान, औजार उपकरण तथा कृषि प्रर्वद्धन गरी रोजगारी सृजना गर्नको लागि रु ६४ लाख बजेट विनियोजन गरेको छ ।

यस्तै सामाजिक विकास तर्फ ३३ करोड ३६ लाख ९१ हजार ५ सय विनियोजन गरिएको छ । जसमध्ये खानेपानी तर्फ ३३ लाख ८० हजार, युवा, खेलकुद तथा संस्कृति संरक्षण तर्फ १७ लाख विनियोजन गरिएको छ । भने उपाध्यक्षसँग महिला बालबालिका तथा अपाङ्गता भएका व्यक्ति लक्षित कार्यक्रमको लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै सुशासन तथा संस्थागत विकास तर्फ ९ करोड ८४ लाख १४ हजार विनियोजन गरिएको छ । पालिकाको चालु खर्च तर्फ ८ करोड ५७ लाख ५९ हजार विनियोजन गरिएको छ । यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड २० लाख ८५ हजार विनियोजन गरिएको छ ।

गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७७/०७८ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ८ करोड ४९ लाख, शर्शत अनुदान २२ करोड १२ लाख, राजश्व बाँडफाँडबाट प्राप्त हुने ८ करोड २२ लाख ६७ हजार ३ सय ९७, सामाजिक सुरक्षा अनुदान ११ करोड, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान १ करोड २१ लाख ६१ हजार, प्रदेश सरकारको राजश्व वाँडफाँडबाट प्राप्त हुने ४४ लाख ७४ हजार, आन्तरीक आय तथा रोयल्टी बाँडफाँड रकम ५ करोड ४७ लाख १३ हजार १ सय ३, स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट प्राप्त अनुदान १ करोड ५० लाख, संघ, प्रदेश, जि.स.स. साझेदारी अनुदान ३ करोड ५० लाख र २०७६।०७७ को असार मसान्तसम्म मौज्दात रहेको ३ करोड ७३ लाख ९२ हजार ४८ रुपैया रहेको जनाएको छ ।

गाउँपालिकाले कोभिड १९ को कारण शिथिल बनेको नेपाली अर्थतन्त्रलाई सबल वनाउन कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी युवा जनशक्तिको भरपूर उपयोग मार्फत आयआर्जन वृद्धि गर्न प्रोत्साहन मूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यस्तै कृषि क्षेत्रको अभिवृद्धि मादीको समृद्धि भन्ने नारालाई आत्मसात गर्दै युवा वर्गलाई कृषिमा आकर्षित गराउन पालिकामा संचालित अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रम, अनुदानमा आधारित कृषि विकास कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

फलफूल तथा तरकारीको उत्पादनमा विशेष जोड दिन एक वडा एक नर्सरी स्थापना गर्ने कार्यक्रम संचालन गरिने भएको छ । यस्तै मौरीपालनको सम्भावना रहेका वडाहरुमा मौरी पालन व्यवसायलाई व्यावसायीकरण गर्दै मह उत्पादनबाट कृषकको आय आर्जनमा टेवा पुरयाउन मौरी घार गोला तथा उपकरणहरुमा अनुदान दिने व्यवस्था मिलाइने छ ।

यस्तै सार्वजनिक निजी साझेदारी लगानीमा विभिन्न उद्योगहरु स्थापना गर्नको लागि सार्वजनिक निजी साझेदारी लगानी ऐन यसै चालु अधिवेशनमा पारित गरी कार्यान्वयनमा ल्याइने भएको छ ।
सार्वजनिक निजी साझेदारी लगानी ऐन अन्र्तगत क्रसर तथा प्लाईउड उद्योग संचालनको लागि आवश्यक बजेट विनियोजन गरी यसै वर्षबाट संचालनमा ल्याइने छ ।


यस्तै स्थानीय स्रोत, साधन र सीप एवम् प्रविधिको प्रयोगलाई बढावा दिई परम्परागत रुपमा रहेका राडी पाखी, कम्बल, भाङ्ग्रा, झोला बनाउने तानहरुलाई आधुनिकीकरण गरी व्यवसायिकताका साथ मादीको ब्राण्डको रुपमा विकास गर्न विभिन्न कार्यक्रम संचालन गरिने भएको छ ।

यस्तै मादी गाउँपालिकाको पर्यटकीय सम्भावना भएका गन्तव्यहरुको वृतचित्र सचित्र विभिन्न सञ्चार माध्यमबाट प्रर्वद्धन गरिने भएको छ । संघ र प्रदेश सरकारसंँगको समन्वय र साझेदारीमा पर्यटकीय गन्तव्यहरुमा पदमार्ग, खानेपानी, क्याम्पसाइड, सोलार बत्ती, जस्ता पूर्वाधारहरु निर्माण गर्दै लाने व्यवस्था मिलाइने भएको छ ।

मादी गाउँपालिकाको पर्यटकीय गन्तव्यहरुमा होटल, लज, चियापसल, लगायतका व्यवसाय सञ्चालन गर्नको लागि मादी गाउँपालिकाको भू–उपयोग ऐन अनुसार भाडा सञ्चालन गर्ने गरी निजी क्षेत्रलाई आह््वान गरिने भएको छ ।

मादी गाउँपालिकाको गौरवको आयोजना मध्येको भुल्कुचा–कोरीसम्मको केवलकार निर्माण कार्यलाई यथाशीघ्र सञ्चालनको लागि आवश्यक समन्वय र पहल कदमी गरिने भएको छ ।

मादी गाउँपालिकाको साँस्कृतिक सम्पदाहरुको संरक्षण र सम्र्वद्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरिने छ ।

ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक महत्व बोकेको क्होलासोंथार क्षेत्रको वृहत्तर विकास गर्ने, सो स्थानसम्म पुग्न बाँकी सडकको निर्माण गर्ने तथा सो क्षेत्रको प्रचार प्रसार गर्न आवश्यक कार्यक्रमहरु संचालन गरिने भएको छ ।

मादी २ ताङ्तिङ गाउँलाई गण्डकी प्रदेशको पर्यटकीय गन्तव्य भित्र समावेश गर्न प्रदेश सरकारमा पहल गरिने छ ।

मादी ११ मा रहेको लम्तरीदेवी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने भएको छ । यसै गरी मादी १ सिक्लेस गाउँलाई साँस्कृतिक ग्रामको रुपमा विकास गरिने भएको छ ।

थाकहिल, कपुचे हिउँताल, सवु पोखरी, ताराहिलटप, क्रपुडाँडा, कोरी, ठुलोलेक, भाले चुचुरो, याङजाकोट दरबार, लिप्यानी डाँडा, भगवती मन्दिर, गुरुदेव मन्दिर, ॐकारेश्वर मन्दिर लगायतका मठ, मन्दिर तथा गुम्वा, कोईबो जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको संरक्षण सम्वद्र्धनमा विशेष जोड दिईने भएको छ ।

तप्राङ खुला वन्यजन्तु पार्क निर्माणलाई निरन्तरता दिइने भएको छ । भने स्थानीय मौलिक संस्कृति अन्र्तगत, घाँटु नाच, सोरठी नाच, बालन नाच, कृष्ण चरित्र, भजन, पञ्चेबाजा लगायतका भाषा एवम् भेषभूषालाई उचित संरक्षण एवम् सम्र्वद्धन गर्न पहल गरिने भएको छ ।

गाउँपालिकाले शौक्षिक तर्फ विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भारको उचित व्यवस्था गर्ने भएको छ भने सबै सामुदायिक विद्यालयहरुसँग तोकिएको मापदण्डका आधारमा कार्यसम्पादन सम्झौता गरी शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयहरुलाई चुस्त दुरुस्त बनाइने भएको छ ।

यस्तै भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने विद्यालयहरुको पूर्वाधार निर्माण गर्न संघ, प्रदेश, स्थानीय सरकार र अन्य साझेदार दातृ निकायसँगको साझेदारीमा कार्य अगाडि बढाइने भएको छ । स्थानीय परिवेश अनुकूलको स्थानीय पाठ्यक्रममा आधारित स्थानीय विषय कक्षा ६ देखि ८ सम्म लागु गर्ने पालिकाको नीति अनुसार गत वर्ष कक्षा ६ मा लागु गरिएको र यसलाई क्रमशः निरन्तरता दिंदै लगिने भएको छ ।

सम्पूर्ण विद्यालयमा क्रमशः पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशालाको निर्माणका साथै ई–हाजिरी जडानलाई निरन्तरता दिंदै यिनीहरुको प्रयोगमा जोड दिइने भएको छ ।


यस्तै पालिकाले स्वास्थ्य तर्फ कोरोना महामारीको संक्रमणलाई थप विस्तार हुन नदिनको लागि उच्च जोखिमयुक्त क्षेत्रबाट पालिकामा आउनेहरुका लागि परीक्षणको दायरा बढाउने, गुणस्तरीय स्वास्थ्य परीक्षण सहितको क्वारेन्टिन केन्द्रको स्थापना गर्ने र नागरिकमा उत्पन्न भएको मनोवैज्ञानिक त्रासलाई सम्बोधन गर्न कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गर्न आवश्यक श्रोतको व्यवस्थापन गर्ने भएको छ ।


कोरोना भाइरस रोकथामको लागि तत्काल आवश्यक पर्न सक्ने औषधी, उपकरण तथा उपचार सामग्री कम हुन नदिन लागि आवश्यक रकम व्यवस्था गर्ने भएको छ । भौगोलिक विकटतालाई ध्यानमा राखी पोखरा महानगरपालिकाको उपयुक्त स्थानमा होल्डिङ् क्वारेन्टिनको व्यवस्था गर्ने भएको छ ।

यस्तै थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रको निमार्णाधीन भवनलाई छिटो सम्पन्न गरी न्यूनतम ५ बेडको आईसोलेसन वार्ड तयार गर्ने भएको छ । स्थानीय तहमा कम्तिमा १५ शैयाको अस्पताल रहने व्यवस्था सुनिश्चित गर्न वडा नं ७ को सवी ज्याउदुमा १५ शैयाको अस्पताल स्थापनाका लागि आवश्यक पहल गर्ने भएको छ ।


यसै वर्ष देखि पालिकाबाट एम्बुलेन्स सेवा शुरु गरिने भएको छ । कोभिड १९ सँंग सम्वन्धित व्यक्तिलाई एक ठाउँवाट अर्को ठाउँमा ल्याउने लैजाने व्यवस्थाको लागि पालिकाबाट सवारी साधनको व्यवस्था गरिने भएको छ । अति विपन्न र रोजगारबाट वञ्चित नागरिकहरुलाई राहत संँगसँगै कामको व्यवस्था गरिने भएको छ ।कोभिड वीमाको वारेमा अभिमुखीकरण कार्यक्रम संचालन गरिने भएको छ ।

संघीय एवम् प्रदेश सरकारसँगको साझेदारीमा पालिकास्तरीय रङ्गाशाला निर्माण गर्ने कार्यलाई अगाडि वढाइने भएको छ । मादी गाउँपालिकाको स्थानीय खेलको रुपमा “ठेलो” खेललाई प्रर्वद्धन गरिने भएको छ ।


पालिका भित्रका प्रदेश र राष्ट्रियस्तरमा पदक प्राप्त खेलाडीहरु मध्येबाट छनौट गरी मादी जन्मभूमि पुरस्कारबाट सम्मान गरिने भएको छ ।

गाउँपालिका भित्रका साहित्यिक प्रतिभाहरु मध्येबाट छनौट गरी मादी जन्मभूमि पुरस्कारबाट सम्मान गरिने भएको छ । यसवर्ष गाउँपालिकाबाट आयोजना गरिने बैठक एवम् गोष्ठीमा सहभागी भए बापत दिइने सबै प्रकारका भत्ता कटौती गरिने भएको छ ।

पालिका अन्र्तगतका निकायहरुबाट प्रवाह गरिने सेवा प्रवाहलाई विद्युतीय माध्यमद्धारा सञ्चालन गर्ने र सो को लागि आवश्यक पर्ने सफ्टवयर खरिद गरी प्रयोगमा ल्याइने भएको छ । गाउँपालिकाका ऐन, कानुन, नीति, योजना, कार्यक्रम, बजेट, सूचना लगायतका महत्वपूर्ण जानकारीलाई वेबसाइट र मोवाइल एप्सको माध्यमबाट प्रकाशित गरिने भएको छ ।

यसवर्ष पालिकाले पूर्वाधार विकास तर्फ जिल्ला समन्वय समिति कास्कीको लागत साझेदारीमा निर्माण भइरहेका वडा नं. ४, ५, ६, ७, ८, ९ र १२ को वडा कार्यालय भवनहरु आगामी वर्ष निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने भएको छ ।

गाउँपालिकाको माथिल्लो भागमा रहेको रणनीतिक चक्रपथको रुपमा प्रस्तावित याङजाकोट–तोगी–वार्चोक– भाचोक– नाघिधार– पाखुरीकोट– पोसी– पक्र्यु सडकको डिपिआर अनुसार निर्माण कार्यलाई अगाडि वढाइने भएको छ ।

पालिकाभित्र निर्माणधीन घट्टेखोला, सेतीखोला, पातीखोलाको झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरिने भएको छ । साथै चालु आ.व.मा वार्दीखोला, घाम्नुङ्गखोला र चिनीखर्क झोलुङ्गे पुलको निर्माण कार्य शुरु गरिने भएको छ । मध्य पहाडी लोकमार्ग र मादी कोरीडोरको निर्माण कार्य सम्पन्न गर्नको लागि आवश्यक पहल गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रिय पुनः निर्माण प्राधिकरणको सहयोगमा यस पालिकाको वडा नं. ६ तप्राङमा एकीकृत बस्ती विकास योजना सञ्चालन गरिने भएको छ । साथै छरिएर रहेको बस्तीलाई एकीकृत गर्न सम्भाव्य स्थानहरुमा संघीय सरकार र प्रदेश सरकारसंँगको साझेदारीमा एकीकृत वस्ती विकास योजना सञ्चालन गर्न थप पहल गरिने भएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284