ताजा खबर

छाउगोठमा आमा–छोराको मृत्यु

   २६ पुष २०७५, बिहीबार ०७:०३      2,793 views

अन्नपूर्ण पोष्ट दैनिकबाट

बाजुरा : बाजुराको बुढीनन्दा–९ भोगीचौरकी अम्बा बोहोरालाई महिनावारी भएको २ दिन भएका थियो। अघिल्लो दिनदेखि उनको बास छाउगोठमै थियो। सोमबार राति जाडोले साह्रै सताएको थियो। त्यसैले मंगलबार उनी दुई कलिला छोरालाई लिएर सुत्न गइन्।

जाडो भगाउन उनीहरुले आगो पनि बाले। तर, दुई छोरालाई दुईतिर च्यापेर सुतेकी अम्बाले फेरि उज्यालो देख्न पाइनन्। निसास्एिर अम्बा र उनका दुई छोराको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ।


छाउगोठमा आमा–छोराको मृत्यु भएपछि उद्धारका लागि भेला भएका बाजुरा बुढीनन्दा–९ भोगीचौरका स्थानीय तथा सुरक्षाकर्मी । छाउ बार्न गोठमा सुतेका बेला अम्बा बोहोरासहित उनका दुई छोरा सुरेश र रमितको मृत्यु भएको हो ।

३५ वर्षीया अम्बा बोहोरा, उनका छोराहरु नौ वर्षीय सुरेश र सात वर्षीय रमितको छाउगोठमा मृत्यु भएको प्रहरीले गरेको छ। सुरेश कक्षा ३ र रमित कक्षा एकमा पढ्थे। बुधबार बिहान घरसँगै जोडिएको छाउगोठमा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सासुले बिहान पाँच बजेतिर तीनै जनालाई मृत फेला पारेकी थिइन्। अम्बाका पति काशी बोहोरा भारतमा रोजगारी गर्छन्। घरमा सासु बिसु बोहरा र ससुरा कर्ण बोहरा बस्ने गरेको वडा अध्यक्ष खड्क बोहोराले बताए।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धवसिंह भाटले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए। मृतकको पोस्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको प्रहरीले जनाएको छ। घटनास्थल सदरमुकाम मार्तडी बाट ५ घण्टाको पैदल दूरीमा छ।

‘घटना हेर्दा निसास्सिएर मृत्यु भएको देखिन्छ,’ डीएसपी भाटले भने, ‘सोमबार राति छाउगोठमा सुत्दा अत्यधिक जाडो भएछ। अनि मंगलबार राति आगो बालेर कोठा न्यानो बनाएर सुतेछन्। कोठामा अक्सिजन अभाव भएर मत्यु भएको हुनसक्छ।’

गोठमा हावा छिर्ने ठाउँ नभएको जानकारी उनले दिए। पूर्ण रुपमा बन्द कोठामा आगो बाल्दा अक्सिजन सकिएर सुतेकै अवस्थामा मृत्यु हुनसक्ने चिकित्सक गणेश चौधरीले बताए।


आमा–छोराको मृत्यु भएको छाउगोठ

डीएसपी भाटले मृतकका खुट्टामा जलेको घाउ देखिएको बताए। ‘उनीहरुले ओढेको कम्बल पनि अलिअलि जलेको छ, तीनै जनाको खुट्टा पनि अलिअलि जलेको छ,’ उनले भने। मौसम बदली भएसँगै पहाडमा हिमपात भएको छ।

चिसो अत्यधिक बढेको छ। ‘आमा एक्लै सुत्दा जाडो हुन्छ भनेर बालबच्चा पनि उनीसँगै सुत्न छाउगोठमा गए,’ सासु–ससुराको भनाइ उद्धृत गर्दै वडा अध्यक्ष खड्क बोहराले भने। वडा अध्यक्ष बोहरा मृतक परिवारका नातेदार पनि हुन्।

बाजुरा जिल्लाका अधिकांश गाउँमा छाउपडी बार्ने प्रचलन छ। महिनावारीको बेला अविवाहितलाई ७ र विवाहितलाई कम्तीमा ५ दिन छाउगोठमा सुताउने गरिन्छ। यो कुप्रथा हटाउन अनेकौँ प्रयास भइरहेका छन्। तर त्यस्ता अभियान सफल हुन नसकेको वडा अध्यक्ष बोहोरा बताउँछन्।

‘गैससरकारी संस्था, स्थानीय तहले पनि छाउगोठको विरोध गरिरहेको छ। चेतनामूलक कार्यक्रमहरु चलिरहेका छन्,’ उनी भन्छन्, ‘हामी अनुगमनमा जाँदा सबैले घरभित्रै बस्छौं भन्छन्। तर, वास्तविकत फरक छ।’ वडा कार्यालयले अब भने सबै छाउगोठ भत्काउने बाचा पनि गरे। ‘अब हामी देखिएजति छाउगोठ भत्काउने अभियान सुरु गर्छौं,’ उनले भने।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284