ताजा खबर

‘हाप्किडो खेल महिलाको आत्मरक्षाको लागि आवश्यक छ’ – सुस्मिता गुरुङ

   २८ पुष २०७६, सोमबार १५:३२      2,136 views

मिना थापामगर /पोखरा

विगत दुई दशक देखि मार्सल आर्टस खेल क्षेत्रमा जमेर आफ्नो पहिचान बनाइसक्नुभएका सुस्मिता गुरुङ नेपाल मार्सल आर्टस हाप्किडो संघको केन्द्रिय उपाध्यक्ष समेत हुनुहुन्छ ।

सुस्मिता गुरुङ : केन्द्रिय उपाध्यक्ष, नेपाल मार्सल आर्टस हाप्किडो संघ

सानै उमेरदेखिको आफ्नो सौखको क्षेत्र खेल भएको बताउने गुरुङ विद्यालय तहमा विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै हाल हाप्किडो खेलको एक कुशल र दक्ष प्राविधिकको रुपमा पनि स्थापित हुनुभएको छ ।

शुरुमा तेक्वान्दो खेलबाट प्रवेश गर्नुभएका गुरुङ हाप्किडोमा नौलो र आधुनिक शैली प्रयोग हुने भएकोले आफूले अन्तिम समयमा यो खेललाई आत्मसाथ गरेको बताउनुहुन्छ । विभिन्न देशमा हुने सेमिनार र प्रतियोगितामा भाग लिइ आफूले सिकेको सिप र कलालाई नेपालमा भित्र्याउने अठोटका साथ लाग्नुभएको छ उहाँ ।

नेपालमा हाप्किडो खेलाको विकास र विस्तार गर्दै विशेषगरी महिलाहरुलाई यो खेलमा बढीभन्दा बढी आवद्धता गराउँने अभियानमा लाग्नुभएका गुरुङसँग हाप्किडो खेल सम्बन्धी गरिएको कुराकानी :


नेपाल मार्सल आर्टस हाप्किडो संघको बारेमा बताइदिनुस्न ?


यो नेपालको राष्ट्रिय संघ हो, नेपालमा हाप्किडो खेललाई संस्थागत बिकास र विस्तार गर्ने उद्देश्यले भित्रिएको यो खेललाई आधिकारिक रुपमा २०७३ सालमा नेपाल मार्सल आटर््स हाप्किडो संघको रुपमा स्थापना ग¥यौं । ३ वर्षको अवधिमा संघले ४१ जिल्लामा शाखा गठन गरिसकेको छ भने प्रदेश समिति गठनको कार्य पनि भइरहेको छ । भर्खरै मात्र गण्डकी प्रदेश समिति गठन गर्यौं ।

स्थापनाको छोटो अवधिमा नै संघले राष्ट्रिय तथा आन्तर्राष्ट्रिय स्तरको च्यापियनसिप तथा विभिन्न प्रतियोगिता गर्न सफल भएका छौं भने हाप्किडो खेलप्रति खेलाडीहरु आकर्षण पनि बढ्दै गइरहेको अवस्था छ ।

यसैक्रममा संघले यही माघ ११ र १२ गते पोखरामा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गर्दै छ । २० भन्दा बढी देशका ग्रान्डमास्टर, मास्टर, खेलाडी, अफिसियल गरी करिव ६ सय जना खेलाडीहरुको उपस्थितिमा सेमिनार सम्पन्न गर्ने छौं भने उद्घाटनको दिन हजारौं खेलप्रेमी, आम पोखराबासीको उल्लेख्य सहभागिता हुने छ । यसैको तयारीका लागि केन्द्र, प्रदेश र जिल्ला समितिका सबै पदाधिकारी र सदस्यहरु जुटिरहनुभएको छ ।

तपाई तेक्वान्दोमा जमिसकेको एक कुशल खेलाडी पछिल्लो समय यो खेल रोज्नुको कारण के ?


मेरो खेल जीवनको सुरुवात तेक्वान्दोबाटै भएको हो अहिलेसम्म पनि म तेक्वान्दो खेलाडी हुँ त्यसको साथसाथै पछिल्लो समय मैले हाप्किडो खेलको विकास र विस्तारको लागि नै लागिरहेको छु । किनभने यो खेल एउटा यस्तो कला हो जसलाई दुश्मनबाट आत्मरक्षा गर्ने शैली सिकाउँछ । यो सेल्फ डिफेन्स गेम हो ।

शरीरका अंगहरु र टेक्निकहरूको प्रयोग गरी छोटो दुरी तथा लामो दुरीबाट आक्रमण गर्ने, शत्रुबाट बच्न तथा शत्रुसँग लड्ने कलाहरू यस खेलमा सिकिन्छ । यसमा तेक्वान्दो, कराते, बक्सिङ, जूडो आदि मार्शल आर्टस खेलको कलालाई समावेश गरिएको हुन्छ ।

म तेक्वान्दोको खेलाडी भएकोले पनि हाप्किडो खेल्न सहज र सजिलो भयो । आजको समयमा विशेष गरी महिलाहरु यो खेल सिक्नुपर्छ भन्ने आवश्यक ठानेँ । यसमा लाग्दै गर्दा संघका केन्द्रिय अध्यक्ष आदरणीय काली बहादुर घर्ती मगरको राम्रो साथ र सहयोग पाएँ ।

उहाँ संघको अध्यक्ष मात्र नभएर आम खेलाडीहरुको भविष्यको लागि दुरदर्शी योजना र उद्देश्य लिएर अगाडि बढिरहनुभएको छ । उहाँको योजना र कार्यकुशलताप्रति सबै खेलाडीहरु आकर्षित छौं । मलाई पनि सांगठनिक रुपमा र व्यक्तिगत रुपमा यो खेलमा अगाडि बढ्न सजिलो भएको छ ।

महिलाहरुको लागि हाप्किडो खेल किन आवश्यक छ त ?

नेपालमा महिला हत्या, हिंसा, बलत्कार बढिरहेको छ । महिलाले आफ्नो कुराहरु बाहिर व्यक्त गर्न सक्दैनन् र हरेक ठाउँमा महिलाहरु हेपिनु पर्ने दविनु पर्ने हुन्छ । हाम्रो समाज अहिले पनि राती अवेरसम्म महिलालाई बाहिर बस्न दिइदैन, या त कसैको साथ लगाएर पठाउनुपर्ने हुन्छ । पुरुष बराबर महिलालाई किन हेर्न सक्दैन ? समाजले महिलालाई हेर्ने दृष्टिकोण खराब छ, महिलाहरु सुरक्षित छैनन् ।

कमसेकम यो खेल सिक्यो भने महिलामा आत्मविश्वास बढ्छ । अरुको अगाडि डराउनुपर्ने अवस्था हुँदैन । यदि अप्ठ्यारो अवस्था आइप¥यो भने आफ्नो सुरक्षा आफै गर्न सक्छन् । आफ्नै सुरक्षाको लागि पनि हरेक नेपाली महिलाले हाप्किडो खेल सिक्नु जरुरी छ र हाम्रो अभियान भनेको नै महिलालाई आत्मनिर्भर बनाउँदै उनीहरुमा आत्मविश्वास बढाउने हो ।


त्यसोभए महिलाहरु यो खेलप्रति कत्तिको आकिर्षत छन्, उनीहरुको सहभागिता कस्तो छ ?


यो समयमा हाप्किडो खेल बुझेर लाग्ने महिला दिदीबहिनीहरु धेरै हुनुहुन्छ । खेलाडीहरुको कुरा गर्दा महिला पुरुष बराबर जस्तै छन् भने हरेक जिल्लामा संगठन विस्तार गर्दै जाँदा महिलालाई अगाडि बढाइरहेका छौं । संगठनमा महिलाहरुलाई अनिवार्य उपस्थित बनाएका छौं । त्यसैले समितिमा पनि महिला पुरुष बराबर जस्तै छन् । गठन भएका प्रत्येक जिल्लामा महिला प्रशिक्षक पनि हुनुहुन्छ ।


नेपाली खेल क्षेत्रमा एकछिन उदाउने र पछि पलायन हुने प्रवृत्ति छ, त्यसमा पनि महिलाहरुलाई त झनै यसैलाई निरन्तरता दिन नसकेको अवस्थामा यहाँले खेल जगतमा महिलाको भविष्यलाई कसरी नियाल्नुहुन्छ ?


नेपाली खेलाडी पलायन हुनुपर्ने बाध्यता छ, देश र राष्ट्रको लागि एउटा खेलाडीले जति योगदान दिएको छ, त्यसरी नै सरकारले पनि उनीहरुको भविष्यको लागि केही मात्रामा हेरिदिएको भए कुनै पनि खेलाडीले खेल क्षेत्र नै त्याग्नु पर्दैनथ्यो । नेपालमा राम्रा राम्रा खेलाडीहरु धेरै छन् उनीहलाई राज्यले केही व्यवस्था गरिदिन सकेको छैन । सबैको समस्या भनेको गाँस, बास र कपास हो ।

खेलकुदमा मात्र लागेर पनि हुँदैन, उसको आफ्नो भवष्यि, परिवारको आवश्यकता आदि कारणले गर्दा बाध्यताले पलायन हुनुपर्ने हुन्छ । त्यसमा पनि महिलाहरुलाई त झनै एकदमै गाह्रो छ । विशेष गरी महिलाहरु खेलकुद क्षेत्रमा कम नै चासो दिन्छन्, अधिकांश महिलाहरु घरगृहस्थीमा नै जीवन व्यतित गर्नुपर्ने हुन्छ । त्यस्ता भित्र लुकेर रहेका महिला दिदीबहिनीहरुलाई बाहिर निकाल्नको लागि र खेलप्रति चासो जगाउनको लागि पनि हाम्रो संगठन लागिपरेको छ । हुन त अहिले महिला खेलाडीहरु धेरै आउनुभएको छ, यसलाई निरन्तरता दिन सक्यो भने भविष्य पनि राम्रो छ, चुनौति सँगसँगै अवसर पनि प्रसस्त छन् ।


ग्रामिण भेगका महिला दिदीबहिनीहरुलाई यो खेलमा कसरी समेट्नुहुन्छ ?


ग्रामिण भेगका महिला खेलाडीहरुलाई समेट्नको लागि नै हामी गाउँमुखी अभियान लिएर अगाडि बढिरहेका छौं । भरखरै मात्रै देशकै विकट जिल्ला रोल्पामा हामीले राष्ट्रियस्तरको च्याम्पियनसिप सम्पन्न गर्न सफल भयौं ।

अहिलेसम्म कसैले गर्न नसकेको त्यस्तो ठाउँमा हामीले विसाल जनसमुदायको सहभागितामा कार्यक्रम गर्यौं । अहिलेसम्म जेजति संगठन विस्तार भए प्राय ग्रामिण भेगलाई नै समेटेर गरिरहेका छौं ।

त्यसमा पनि ग्रामिण भेगका महिलाहरुलाई यो खेल खेल्न र सिक्न अत्यन्तै जरुरी छ । प्रायजसो खेल संगठन शहरी क्षेत्रमा मात्र केन्द्रित छन् । गाउँगाउँमा खेल, एकता र मेल भन्ने जुन नारा छ हामी त्यही नारालाई आत्मसाथ गर्दै अगाडि बढिरहेका छौं । हाम्रो उदेश्य भनेको गाउँमुखि अभियान र अर्को धेरै भन्दा धेरै महिलालाई यस खेलमा आबद्ध गराउने र सिकाउने नै हो । अब यो अन्तर्राष्ट्रिय सम्मेलन पछि यस्तै विकट जिल्लाहरुमा गाउँमुखि प्रतियोगिता गर्दै ग्रामिण भेगका महिलाहरुलाई यो खेल प्रति चासो जगाउँदै जाने छौं ।

एउटा महिला भएर यो क्षेत्रमा लाग्न तपाईलाई कत्तिको गाह्रो भयो ?


म महिला मात्र नभएर एउटा श्रीमती हुँ, आमा हू, बुहारी हुँ । एउटा महिलालाई घर छोडेर हिँड्न धेरै गाह्रो कुरा हो । मैले भरखरै मात्र १५ महिलनाको बच्चा छोडेर हङ्कङको सेमिनारमा भाग लिएर आएको छु ।

यस कुरामा मेरो श्रीमानले धेरै सहयोग गर्नुहुन्छ । दुःख, सुख हुन्छ तर पछाडि फर्केर हेर्न हुँदैन, जहिले पनि सुनौलो भविष्यको लागि अगाडि बढ्नुपर्छ भनेर मलाई मेरो श्रीमानले उत्साहित गर्नुहुन्छ । म यो ठाउँसम्म आइपुग्नुमा मेरो श्रीमान र परिवारको ठुलो हात छ र मेरो कामप्रति उहाँहरु सन्तुष्ट हुनुहुन्छ ।


कार्यक्रमको शिलशिलामा तपाईको यात्रा कुन कुन देशमा भयो ?

हङकङ, रसिया, सिंगापुर, थाइल्याण्ड लगायतका देशहरुमा विभिन्न समयमा हुने सेमिनार तथा गोष्ठीमा सहभागी भइसकेको छु ।


नेपालमा र विदेशमा खेलाडीहरुलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?


नेपाली र विदेशी खेल जगतमा आकास धर्ती नै फरक छ । विदेशी खेलाडीहरुलाई जुन सम्मान छ त्यो सम्मान नेपाली खेलाडीले पाउन सक्दैन ।

यहाँसम्म कि विदेशी खेलाडीहरु कुनै प्रतियोगिता अथवा च्याप्पियनसिपमा भाग लिन आउँदा उसका अभिभावकहरु सँगै उपस्थित हुन्छन्, उनीहरुलाई हरेक पल हरेक समय आफ्नो परिवारले साथ र सहयोग हौसला दिइरहेका हुन्छन् । यो गर्नुको कारण भनेको त्यहाँका हरेक व्यक्ति खेलप्रति चासो दिन्छन् । तर त्यो वातावरण नेपालमा छैन ।


अन्त्यमा आम खेलप्रेमी, खेलाडी, शुभचिन्तकहरुलाई के भन्न चाहनुहुन्छ ?


खेल एउटा प्रतिस्पर्धात्मक प्रतियोगिता मात्र होइन, स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भनिन्छ । हरेक मानिसको स्वास्थ्य जीवनको लागि खेल आवश्यक हुन्छ । जस्तोसुकै खेल होस् हरेक व्यक्तिले सिक्यो भने उसको व्यक्तित्व विकास हुन्छ, आत्मविश्वास बढ्छ ।

विशेषगरी हाप्किडोमा आर्सल आर्टस्को आधुनिक शैलीहरु प्रयोग भएको हुनाले आफ्नो रक्षाको लागि यो खेल सिक्नु जरुरी छ । नेपालमा हाप्किडो खेलको अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सेमिनारमा यहाँहरु सबैको उल्लेख्य सहभागिता भइदिनुहुन अनुरोध गर्दछु ।

पोखरामा यो सेमिनार गर्नुको उद्देश्य हाप्किडो सँग मात्र जोडिएको छैन । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएको र राजधानी भन्दा बाहिरका युवा तथा आम जनतामा खेलप्रति चेतना जगाउने पनि हाम्रो उद्देश्य रहेको छ ।

त्यसैले यो सेमिनारलाई भव्यरुपमा सफल पार्नको लागि यहाँका सबै वर्ग, समुदाय र सबै क्षेत्रका जनसमुदायहरुको साथ र सहयोग रहने छ भन्ने अपेक्षा गर्दछु ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284