ताजा खबर

आँखामा नाचि रहने याङजाकोट (कविता)

   ११ चैत्र २०७६, मंगलवार २०:०८      2,026 views

रोशनी गुरुङ

पुस महिनाको आङनै सिरिङ हुने जाडोमा
मध्य दिनको पारिलो घामले हाम्रो आँगनमा टेक्दा
बिहानैदेखि सुत्केरी बेथासित लडिरहेकी
मेरी आमालाई आराम मिल्यो

दुनियाँमा आएपछि हाँस्न जान्नुपर्ने नबुझेको म
अरु मान्छेजस्तै रुँदै जन्मिए
म किन रोए ?
के कुरामा दुःखी भएर रोए ?
त्यो कुरा थाहा नभएपनि
परिवारमा भने सधैँ खुसीको रङ्ग भरियो

वनतिर तरुल खोज्न हिडेका बा
मेरो जन्मको खबर सुनेर
तरुलको भारी वनमै मिल्काएर
एक सासमै घर कुदनु भएको थियो
बा त वर्षौदेखि सपना देख्नु हुन्थ्यो रे छोरीको

म जन्मिदा मेरा बा, आमा र दाइहरुको
अनुहारमा कोरिएको खुसी पल्टाएर हेर्न मिल्ने भए
संसार जित्न मलाई अरु आँट चाहिने थिएन सायद

मैले खेल्ने गरेको घरआँगन
मैले घाँस दाउरा गरेको कुँइचो वन
र मैले क, ख पढेको सीताराम स्कूल
मेरा जीवनका बहुमूल्य किताब हुन

दसैंमा बाको हात समाए कोटघरसम्म पुगेपछि
भिडमा हराउने डरले बाकै काँधमाथि चढेर कोट पूजा गरेको
जवान ठिटाहरुले राँगा बोकालाई बली हानेको हेर्दा
कम्ती मज्जा आउने थिएन

म र मेरा साथीहरुले रोधीं नाच्ने
चौथरी घरका जम्दार बाजे सारै मिजासिला थिए
म पुस पन्ध्र भन्दा तीन दिनअघि जन्मिएकी थिएँ
त्यसैले होला अक्सर हामी पुस पन्ध्रमा तीन दिनसम्म
बाजेको आँगनीमा नै नाची रहन्थ्यौ

हरेक दिन फेवातालको ऐनामा
माछापुच्छे«ले आफनो रुप हेरे झैँ
म पनि झोला बोकेर विद्यालय जाँदा गाउँबीचको
झयाली पोखरीमा आफनो छाँया हेर्थे

बा पेन्सन लिन पोखरा गएको तेस्रो दिन
स्कुल जानुको सट्टा
आधा बाटोसम्म बालाई लिन जान्थे

गाउँभरि वैशाख पूर्णिमाको उल्लास हुन्थ्यो
तब म गालाभरि सिगान दलेर
टिल्कि टल्केको गाला देखाउँदै
खाली खुट्टा घाँटुनीहरुको पछिपछि दौडन्थे

मेरो याङजाकोटमा लगाउन नमिल्ने कोट मात्रै होइन
रमाउँदै सिक्न मिल्ने सोरठी, कृष्ण चरित्र र घाँटु पनि छन्

शनिबारको फुर्सदको दिन
बेलुकीपख छापा डाँडाको शिरमा पुगेर
देउरालीको फेददेखि घरेडीको टुप्पोसम्म
गाउँको प्रत्येक घर नियाल्थेँ
ती आँगनमा मेरो बाल्यकाल फुत्रुक फुत्रुक नाचिरहन्थ्यो

अहिले म ती सबदेखि टाढिएर
शहरको जंगलमा हराएकी छु
तर ती यादहरुले मलाई जिस्काइरहेका झैँ लाग्छ

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284