ताजा खबर

गुरुङ जाति र लोक संस्कृति

   ६ पुष २०७५, शुक्रबार १०:५३      7,968 views
                 

ओवी घले÷घनपोखरा ९ नायूँ लमजुङ
गुरुङ जातिको बसोबास गर्ने मूल थलो गण्डकी प्रदेश हो यस प्रदेशमा तमू गुरुङहरुको भाषा, धर्म, संस्कृति रीतिरिवाजको उदगम स्थल हो । अरु जातिको तुलनामा गुरुङ जातिको पहिचान छुटै प्रकारको छ र गुरुङहरु परपूर्वकालदेखि नै पशुपालन व्यवसायतिर उन्मुख भएको जाति हो । भेडाको उनबाट राडीपाखी बख्खु बुन्नुको साथ साथै निगालको चोयाबाट डोको, नाम्लो, थुम्से, स्याखु, मान्द्रो र भकारी बुनेर आम्दानीको आयस्रोत बढाउनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पु¥याएको छ । गुरुङहरु महा शिकारी गर्नु सिपालु हुन्छन । गुरुङहरु सामुहिक रुपमा काम गर्न मन पराउँछन र हुरी (नोकोर) पर्मा, भाइ खलकको पर्मा, समाजको पर्मा गर्ने चलन छ । गुरुङहरु सालमा एक पटक समाजको बैठक बसी गाउँको रितीथिती, नितिनियम बनाएर लागु गर्छन । अन्न ध्यू, भेडा बाख्रा, भैसी र कुखुराको मासुको दरभाउ र सिकर्मी डकर्मी र मजदुरीको ज्यालाको दरभाउ निर्धाण गर्दछन । गुरुङ समुदायमा राजाको निती गुरुङको थिती भन्ने उखान छ । आ आफनो गाउँको रितिथिती नितीनियम (त्हामत्हिजी) ढक तराजु, साँचो त्यही गाउँकै भद्र भलादमी (चिबाहरुको) हातमा हुन्छ ।
गुरुङ समुदायमा गाउँ बार्ने (नासा प्रिबा) चलन छ । प्लु प्रिबा (बिउ बार्ने), सिल्दो थेबा (प्रिबा), सैदो प्रिबा, असिना परेमा (तिस्युर प्रिबा), ठोथे लबा (प्रिबा) पुजा, बायोथान पूजिबा, चमेरे त्हे थुर्जा प्लह (सातो) किबा स्याई स्याई लबा, रिथे, चैथेबा, डुलुवा त्हे, आदि गर्दछन । साउन र चैत्र महिनामा घरको बार (धिं बार) लबा, योंखुवा आदि हुन । विवाह गर्दा केटा पक्षबाट रक्सीको पुँगा लिएर केटीको बाउ माइती कहाँ जानु पर्ने केटीको बाउ माइती र आमाहरुलाई क्रमु, पगरी दिनु पर्ने र तेनो कोर्सी गरेर ६ सुका काटनु पर्दछ । दुलाहीको साथीलाई समस्यो र दुलाको साथीलाई ङेला भन्ने चलन छ ।
समस्योहरुलाई दुलाहले क्रमु ओडाई दिनु पर्दछ । केटाको विवाहमा घरभित्र दुलाही भित्रयाउदा दुलाह पक्षका मान्यजनहरुले दुलाह र दुलाहीलाई दही चामलको टिका लगाई दिएपछि विधी पुरा हुन्छ । सिन्दुर लगाई दिने चलन छैन । साथै छोराको छयौर (खेवार) कपाल काटन मामाहरु चाहिन्छ । त्यस्तै जेठा छोरालाई आर्शिवाद दिनको लागि पुटपुटे नाच्ने चलन छ । मामा मावलीबाट नाच नचाएर आर्शिवाद दिने चलन छ । जसमा सोरठी, कृष्णचरित्रको नाच नाच्ने चलन छ । त्यस्तै गरी मृत्यु हुँदा अर्घु गर्दा आस्यों (मावली)बाट ल्याएको स्योदार क्वें (कपडा) नभै हुदैन । लास गाडेर देउराली बनाएर राख्ने चलन छ । अर्घुमा गुरुङहरुको पुरोहित ध्याप्रे पच्यु र लामाले प्ये छयाँ अला, प्ला गर्दा र ध्याप्रे पुरोहितले चरा छोडने चलन छ । मान्छे पर्दा र अर्घुमा सेकी (छयाँडु) नाच्ने चलन छ । भाइ खलकको स्योरा चामल र नगद हिसाब राख्न २ जना खैची राख्ने चलन छ । गुरुङ भाषामा गाउने गितहरुमा भेडी गोठालेको साराङ्गी गीत र नाच जनै पूर्णिममा दुधपोखरी जाँदा चेलीबेटी र चेली बेटीहरुको अगुवाई गर्ने बाउ माइतीहरुको बीचको जात्रा गीत (ङयोरुवोइ) पुन बाजा गीत, सुनीमाया भाकाका गीत रोदी भाकाका गीत, पच्यु नाच ध्याप्रे नाच बोनलामा नाच सेर्का (छयाँडु) नाच र गुरुङ जातिको परम्परागत मौलिक लोक संस्कृति हुन त्यस्तै गरी घाँटु नृत्य कृष्ण चरित्र र सोराठी नाच पनि गुरुङ जातिको लोक संस्कृति मानिन्छ । कृष्णा चरित्र सोराठी नाचको गररा भाइ हुन्छ जसमा पुरुषहरुको समुहबाट नाच सञ्चालन गरिन्छ । सेर्का (छयाँडु) नाच गोलो आकारको रुपमा नाच्ने भएकोले गोल भाइ भनिन्छ । जसमा पनि पुरुषहरुको समुहबाट नाच कार्यक्रम सञ्चालन गरिन्छ ।
गुरुङ समुदायमा केटीहरुको रोधीघर छुटै केटाहरुको रोधीघर छुटै हुन्छ । क्रमै रोधी परिवारबाट सञ्चालन गरिने घाँटु नाच कार्यक्रमलाई परे घाँटु र गाउँमा भएका सबै रोधी परिवार र समाज मिलेर सञ्चालन गरिने घाँटु नाच कार्यक्रमलाई बरे घाँटु भनिन्छ । केटाहरुलाई परे मयुमै र केटीहरुलाई परे रिमै भनिन्छ । घाँटु कार्यक्रमलाई अगुवाई गर्ने रोधलीघरका साथीलाई रोधीरबै आमालाई नेपस्यो आमा वा रोस्यो आमा बाबालाई ने अपा भन्ने चलन छ । त्यस्तै गरी केटाहरुको रोधीबाट केटीहरुको रोधीमा डम मादल र खिर लिएर जाने चलन छ । जसलाई रिमैसँग खिर तिईरा थिबा भनिन्छ । र केही सालपछि केटीहरुले केटाहरुको रोधीमा सेल रोटी र जाडरक्सी लिएर जाने चलन छ । जसलाई सिङल चोबा (सिङलु फ्रेबा) भनिन्छ । केटाहरुलाई थिबै मैमै र केटीहरुलाई थिबै रिमै भनिन्छ । रिमै थुमै, मैमै थुमै भन्ने चलन पनि छ । रोधी घरमा रोधीमा काका गीत गाइसकेपछि शीरमाथि मिथेबने भन्ने चलन छ । गुरुङहरुको पोषक लोग्ने मानिसको भोटो कछाड आसकोट, टोपी भाँग्रा, र स्वास्नी मानिसको गुनिये चोलो, पटुका, घलेक, क्रमु, मुगाको माला र नौगेरी माला लगाउने चलन छ । हिजो आज गुरुङ समुदायबाट रोधीको चलन हराउदै गईरहेको छ । रोधी हराउनुको साथ साथै मौलिक संस्कृति पनि लोप हुने अवस्थामा पुगी सकेको छ । सबै मिलेर संस्कृति जगर्ने गर्नुपर्ने आवश्यक देखिन्छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284