ताजा खबर

मादी गाउँपालिकामा ५ वटा पर्यटन गुरुयोजना तयारः लगानीको खोजी

   ३० असार २०७६, सोमबार १८:१६      2,398 views

गुरुङ जातिको आदिम थलो क्व्होलासोंथर कास्कीको मादी गाउँपालिकामा पर्छ । सिक्लेसबाट झन्डैं २० किलोमिटर पूर्वमा रहेको क्व्होलासोंथरमा हजार वर्ष पुराना मानिएका ७० भन्दा बढी घर भग्नावशेष अवस्थामा छन् । ऐतिहासिक पुरातात्विक महत्व बोकेको त्यस क्षेत्रबारे कमै चर्चा छ । 

नेपाल र समग्र हिमालय क्षेत्रकै कम उचाइ अर्थात् २ हजार ४ सय ३५ मिटरमा रहेको कफुचे ताल मादीमै छ । सिक्लेसबाट ७ घन्टाको पैदल यात्रामा पुग्न सकिने कफुचे कान्छो हिमताल समेत रहेको विज्ञहरु बताउँछन् । कम उचाइमा बनेको प्राकृतिक हिमताल चर्चा बढाउन सके पर्यटकको ओइरो लाग्ने निश्चित छ । 

क्व्होलासोंथर, कफुचे हिमतालसहित धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण ५ क्षेत्रको विकास गरी पर्यटक भित्र्याउन मादी गाउँपालिकाले विस्तृत गुरुयोजना नै बनाई लगानीकर्ताको खोजीमा जुटेको छ । 

प्रदेश सरकारले मादीका ३ क्षेत्र कोरी ठूलेक, क्व्होलासोंथर, कफुचे हिमतालको गुरुयोजना निर्माण गर्न सघाएको हो । मध्यबिन्दु कोरी र तप्राङ वन्यजन्तु पार्कको भने गाउँपालिकाले नै गुरुयोजनाका लागि खर्चेको हो । २ क्षेत्रको लागि गाउँपालिकाले ८ लाख रुपैयाँ लगानी गरेको छ । क्व्होलासोंथरका लागि मात्रै अध्ययन गर्न प्रदेशले २० लाख रुपैयाँ लगानी गरी त्यसको दीर्घकालीन योजना बनाएको छ । कफुचे हिमताल र कोरी ठुलेकको पर्यटकीय गुरुयोजना बनाउन प्रदेशले १०÷१० लाख लगानी गरेको छ । 

जियोटेक कनेक्सन प्रालि पोखराले क्व्होलोसोंथर क्षेत्रको गुरुयोजना बनाउने जिम्मेवारी पाए अनुसार नक्सांकन र अनुसन्धान सकेर अन्तिम थ्रिडी डिजाइन गरिरहेको अनुसन्धानकर्ता हरिसं गुरुङले जानकारी दिए । 

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी आगामी २० वर्षसम्म गरिने कामको फेहरिस्त योजना मन्त्रालयमा बुझाइने उनले बताए । प्राकृतिक स्रोत साधनको भरपूर उपयोग गरी परम्परागत शैलीमा क्वलासोंथरको विकास सम्भव भएको अध्ययनले देखाएको उनले स्पष्ट पारे । ‘ढुंगे संस्कृतिदेखि मानव बस्ती रहँदासम्मको अवस्थालाई पर्यटकले नियाल्न सक्ने गरी योजना बनाइएको छ,’ उनले भने, ‘पुरातात्विक दृष्टिकोणले अत्यन्तै संवेदनशील क्षेत्र भएकाले क्व्होलासोंथरको विकास गर्दा सुक्ष्म ढंगले विविध पक्ष केलाएका छौं ।’ 

गुरुङ जातिले पुज्ने मौलो अझै पनि त्यस क्षेत्रमा रहेको र त्यस्ता धार्मिक संस्कृतिलाई थप संरक्षण हुने गरी योजनामा समेटिएको उनले जानकारी दिए । अल्पकालीन योजना अनुसार ३६ करोड लगानीमा विभिन्न ९० वटा योजना सम्पन्न गर्न सकिने अनुसन्धानकर्ता गुरुङले सुनाए । २५ प्रतिशत स्थानीय सहभागिता गराउनुपर्ने समेत अध्ययनले सुझाएको छ । 

आगामी ५ वर्षभित्रमा पहिलो चरणको काम सक्नेगरी योजना ल्याइएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले जानकारी दिए । नेपालकै गौरवको आयोजनाको रुपमा अघि बढाउन सके गुरुयोजना तयार भएका ५ क्षेत्रको विकासले समग्र अर्थतन्त्रमै योगदान दिने अध्यक्ष गुरुङले बताए । ‘गुरुयोजना तयार भएअनुसार ठूलो खर्चको स्टिमेट आएको छ,’ उनले भने, ‘स्थानीय, प्रदेश, संघीय सरकारसहित निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत आह्वान गर्ने छौं ।’ 

सिक्लेसको भुल्कुचाबाट तासा खर्क हुँदै कोरीसम्म केवलकार सञ्चालनको योजना समेत पर्यटनको गुरुयोजनामा समावेश छ । ६ किमीको दूरीमा केवलकार सञ्चालनका लागि ६ अर्ब लगानी आवश्यक पर्ने स्टिमेट भएको अध्यक्ष गुरुङले सुनाए । होटल, रिसोर्टसहितको केवलकार सञ्चालनका लागि सिक्लेस अन्नपूर्ण केबुलकार प्रालिले प्रस्ताव गरेको उनले बताए । 

कफुचे हिमताल पर्यटन विकास गुरुयोजना बनाउने जिम्मेवारी पाएको डिजिटल ग्लोब प्रालिले ५ वर्षमा गर्न सकिने कामको सूचीसहित ८ करोड लगानी आवश्यक पर्ने सुझाएको छ । प्राडा कृष्ण केसीले गुरुयोजनाबारे जानकारी दिँदै स्थानीय स्रोत साधनको भरपूर प्रयोग गरी मौलिक रुपमा विकास गर्न सकिने बताए । 

त्यस्तै, मध्यविन्दू कोरी र तपराङ वन्यजन्तु पार्कको गुरुयोजना निर्माणको जिम्मेवारी प्रोग्रेसिभ इनिसेटिभ प्रालिले तयार पारेको छ । मध्यविन्दू कोरीमा योजना अनुसार ढुंगाको आकृतिमा ठूलो क्षेत्रफलमा नेपालको नक्सा र बिचमा राष्ट्रिय झन्डा बनाइने भएको छ । 

आर्किटेक्ट कृति आचार्यका अनुसार वन्यजन्तु पार्कका लागि साढे करोड लगानी आवश्यक पर्ने छ । टे्«किङ रुट सहितको वृहत्तर योजनाका लागि दीर्घकालीन योजना अनुसार लगानी थप आवश्यक पर्ने उनले बताइन् । 

५ वटै क्षेत्रको विकासमा स्थानीयको सहभागिता गराउने गरी निर्माणको प्रक्रिया अघि बढाइने योजना गाउँपालिकाको छ । सबै क्षेत्रको अन्तिम लागत स्टिमेट आइसकेपछि गाउँपालिकाले लगानीकर्ताको खोजी थाल्ने अध्यक्ष वेदबहादुर गुरुङले जानाकारी दिए । (समाधान दैनिकबाट)

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284