ताजा खबर

अभिव्यक्ति स्वतन्त्रता प्राप्तिमा जननेता भण्डारीको योगदान

   १५ असार २०७९, बुधबार १३:०९      806 views

पोखरा । नेपालमा गणतन्त्र स्थापना र अभिव्यक्ति स्वतन्त्रतामा जननेता मदनकुमार भण्डारीको योगदान महत्वपूर्ण र अतुल्य रहेको स्मरण गरिएको छ ।

पञ्चायती व्यवस्था, शाही शासनकालमा राजालाई खुलेआम चुनौती दिएर जनताको आवाज बुलन्द गर्ने र जनताको अधिकार प्राप्तिमा अग्रणी भूमिका खेल्ने नेता नै भण्डारी रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।


नेकपा (एमाले) ले अङ्गिकार गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रणेता जननेता भण्डारीको ७१औं जन्मजयन्तिका अवसरमा प्रेस चौतारी कास्कीले पोखरामा मंगलबार आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवाद कार्यक्रममा वक्ताहरुले भण्डारीले प्रतिपादन गरेको जबजमा उल्लेखित अभिव्यक्ति स्वतन्त्रताका सवालमा चर्चा गरेका हुन् ।


जबजले नेपालका अन्य दललाई पनि नेतृत्व गरिरहेको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि जबजको लाइनमा रहेको वक्ताहरुको जिकिर छ । माओवादी केन्द्रको शान्तिपूर्ण राजनीति, बहुपदीय नेतृत्व प्रणाली साथै नेपाली कांग्रेसले आन्तरिक निर्वाचन गर्ने प्रणाली पनि जबजबाटै प्रभावित रहेको वक्ताहरुको भनाई छ ।

प्रमुख वक्ता एमाले स्थायी कमिटि सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले नेपाली कम्युनिष्ट आन्दोलनलाई सही मार्गमा अघि बढाउने सिद्धान्त नै जबज रहेको भन्दै नेता भण्डारीले सहयोद्धाहरुकै असहयोगका बीच यसलाई स्थापित गराएको बताए । ‘हामीले ल्याएको लोकतन्त्र, गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता छ । यसको जरो जबज नै हो । पार्टी, नेता नरहेपनि देश र लोकतन्त्र रहनुपर्छ ।’– अधिकारीले भने ।

अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्न नहुनेमा जोड दिँदै उनले सञ्चारजगत झनै सचेत हुनुपर्नेमा ध्यानाकर्षण गराए । उनले आफू पनि पीडित भएको स्मरण गर्दै भने– ‘कुनैबेला मलाई रातो पासपोर्ट बेच्यो भनेर कूप्रचार गराइयो, चुनावमा हराइयो । तर, त्यसबेला पासपोर्ट फिर्ता गर्ने ३ जनामा नरहरि आचार्य, सुवास नेम्वाङ र म नै थिएँ । म हारेँ, तारानाथ रानाभाट जिते, प्रतिगमनको मतियार बने, म त बन्थिनँ नि । त्यसरी स्वतन्त्रताको दुरुपयोग हुँदा व्यक्ति मात्र होइन, सबैलाई असर पर्छ ।’


अभिव्यक्ति स्वतन्त्रतामा केन्द्रित रहँदै अर्का वक्ता वरिष्ठ एवं स्वतन्त्र पत्रकार नारायण कार्कीले राजनीतिक दलीय प्रतिष्पर्धामा होमिने, जनताको अभिव्यक्ति कुण्ठित नहुने गरी सिद्धान्त नै आफै बनाएर अघि बढेको कम्युनिष्ट पार्टी नेकपा एमाले आज राष्ट्र हाँक्ने पार्टी बन्नुको श्रेय मदन भण्डारीलाई नै जाने बताए । उनले भण्डारीको अस्वभाविक मृत्यु प्रकरणबारे छानविनमा एमालेको उदासिनताका बारेमा पनि प्रश्न उठाए ।


उनले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै यसको पनि सीमारेखा हुने बताए । अहिले पत्रकारहरुले राजनीतिक पद प्राप्तिको माध्यम पत्रकारिता बनाउनु दुःखद विषय भन्दै पत्रकारिता राजनीतिक दल र नेताबाट प्रभावित बनेको गुनासो गरे ।


एमालेका केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज भीम कार्कीले नेपाली बाम आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउने दुरदर्शी राजनेता भण्डारी रहेको बताउँदै जसले सयौं वर्षका लागि विचार निर्माण गरी जबज प्रतिपादन गरेको बताए । ‘२०४७ सालको संविधान विश्वकै उत्कृष्ट भनियो । तर, नेता भण्डारीले २७ बुँदे असहमति उहीबेलै प्रकट गर्नुभयो ।

त्यसको १९ वर्षपछि जनआन्दोलनको बलमा लेखिएको अन्तरिम संविधानमा ती सबै बुँदा समेटिएको छ ।’ – कार्कीले भने– ‘ नेता भण्डारीको दुरदर्शिताकै कारण मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति नभएपनि आज सर्वोच्च नेताका रुपमा स्मरणमा रहनुभएको छ ।’


प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी गण्डकीका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले कार्यक्रममाथि प्रकाश पार्दै स्वागत गरे भने सचिव रञ्जन अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रेस चौतारी गण्डकीले प्रकाशन गरेको भित्तपात्रो समेत कार्यक्रमा अतिथिहरुबाट सार्वजनिक गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284